लन्डन, (एजेन्सी)।
सन् २०२६ को विश्वकप फुटबल केवल खेल मात्र हुनेछैन, खेल मैदानभित्र एउटा अभूतपूर्व र श्वास रोकिने खालको मोड बन्ने निश्चित भएको छ । फिफाले खेलको गतिलाई तीव्र बनाउन र नियतवश समय खेर फाल्ने (टाइम वेस्टिङ) प्रवृत्तिलाई जरैदेखि उखेल्न यस्ता कडा नियमहरू जारी गरेका छन ।
अब मैदानमा ढिलासुस्ती गर्ने खेलाडीहरूले सोच्ने समय समेत पाउने छैनन् । किनकि खेलाडीहरूले अब थ्रो–इन गर्दा जम्मा ५ सेकेन्डको समय पाउनेछन् । यदि त्यस अवधिभित्र बल फ्याँकिएन भने बल सीधै विपक्षी टोलीको कब्जामा जानेछ ।
यति मात्र होइन, गोलकिपरहरूका लागि त यो नियम झनै कडा बनेर आएको छ । अब गोल–किक लिन ५ सेकेन्डभन्दा बढी ढिलाइ गरेमा विपक्षी टोलीले सीधै कर्नर किक हान्ने मौका पाउनेछ ।
विश्वकपमा खेलाडी परिवर्तन (सब्सिच्युसन) को समयमा हुने नाटक र रणनीतिलाई पनि फिफाले पूर्ण रूपमा ध्वस्त पारिदिएको छ । मैदानबाट बाहिरिने खेलाडीले १० सेकेन्डभित्र सीमारेखा नकाटेमा, उनको ठाउँमा आउने नयाँ खेलाडीलाई सजायस्वरूप पूरा १ मिनेटसम्म मैदान प्रवेश गर्न निषेध गरिनेछ । जसको अर्थ उक्त टोलीले १ मिनेटसम्म बाध्य भएर जम्मा १० जना खेलाडीमा मात्रै चित्त बुझाउनुपर्नेछ ।
अनुशासनको मामिलामा त फिफाले यस पटक यतिसम्म आक्रामक कदम चालेको छ कि मैदानमा रेफ्रीसँग विवाद गर्दा कुनै पनि खेलाडीले आफ्नो मुख छोपेर कुरा गरेमा वा ओठ लुकाउने प्रयास गरेमा रेफ्रीले बिना कुनै चेतावनी सीधै रातो कार्ड निकालेर मैदान बाहिरको बाटो देखाउनेछन ।
खेलको अन्तिम समयतिर गोलकिपर घाइते भएको बहानाबाजी गर्दै टोलीका अन्य खेलाडीहरू सीमारेखा नजिक पुगेर प्रशिक्षक (कोच) सँग गोप्य रणनीति बनाउने पुरानो कूटनीतिलाई पनि फिफाले प्रतिबन्ध लगाएको छ । जसअनुसार अब गोलकिपर घाइते भएको बहानामा कुनै पनि खेलाडीले कोचसँग कुराकानी गर्न पाउने छैनन् ।
फुटबल इतिहासकै सबैभन्दा आकर्षक, आधुनिक र कडा नियमसहित सुरु हुन लागेको २०२६ को फिफा विश्वकपले विश्वभरका फुटबल प्रेमीहरूलाई हरेक सेकेन्ड उत्साहको उच्च शिखरमा पु¥याउने निश्चित छ ।











प्रतिक्रिया