पहिलो नेपाली फिल्म आमाकी गायिका आशा भोसलेको निधन

1.32k
Shares

काठमाडौं।

एसियाकै महान् गायिका आशा भोसले अब यो धर्तीमा रहनुभएन ।
पहिलो नेपाली फिल्म आमाकी गायिका तथा स्वर मल्लिकाको नामले परिचित लोकप्रिय गायिका भोसलेको आइतबार मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नेपाली गीत गायनमा पनि प्रभावशाली छाप छोड्न सफल भोसले लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । छातीमा संक्रमण र स्वास्थ्य जटिलता बढ्दै गएका कारण केही दिनअघि अस्पताल भर्ना गरिएको उहाँले उपचारका क्रममा अन्तिम श्वास लिनुभयो ।

आशा भारतीय संगीत क्षेत्रमा सबैभन्दा बहुमुखी र प्रभावशाली स्वरमध्ये एक हुनुहुन्थ्यो । करिब सात दशकभन्दा लामो संगीत यात्रामा उहाँले २० भाषामा करिब १२ हजार गीत गाउनुभएको थियो ।

८ सेप्टेम्बर १९३३ मा आशा भोसलेको जन्म संगीतसँग जोडिएको परिवारमा भएको थियो । उहाँका बुवा पण्डित दीनानाथ मंगेशकर अभिनेता तथा शास्त्रीय गायक हुनुहुन्थ्यो । स्वर कोकिला लता मंगेशकरकी कान्छी बहिनी आशा नौ वर्षकी हँुदा उहाँका बुबाको निधन भयो । त्यसपछि परिवार पुणेबाट कोल्हापुर र पछि मुम्बई बसाइँ सरेको थियो । परिवारको आर्थिक अवस्था सुधार गर्न उहाँकी दिदी स्व. लता मंगेशकर र उहाँले फिल्मी गायन सुरु गर्नुभयो ।

सन् १९४३ मा उहाँले मराठी फिल्म माझा बालामार्फत गायन यात्रा सुरु गर्नुभएको थियो भने १९९८ मा फिल्म चुनरियामा सावन आया बोलको गीतबाट हिन्दी गायनमा प्रवेश गर्नुभएको थियो । उहाँले १९५० मा छम छमा छममा मुख्य भूमिकामा अभिनयसमेत गर्नुभएको थियो भने फिल्मका ११ मध्ये १० गीत गाउनुभएको थियो । अभिनयबाट पनि प्रशंसा पाउनुभएको उहाँले दर्जनौं नेपाली फिल्ममा समेत गीत गाउनुभएको छ ।

नेपाली कलाकारलाई लिएर नेपालमै सुटिङ गरिएको नेपालको पहिलो फिल्म आमामा समावेश वसन्त नै बस्न खोज्छदेखि पुराना फिल्मका गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, किन बढ्दै छ ढुकढुकी मुटुको, माया त माया हो, म प्यार बेचिदिन्छु, पहाडको माथिमाथि, यति धेरै माया दियौजस्ता लोकप्रिय गीतका लागि स्वर दिनुभएको थियो ।

आशाले १६ वर्षको कलिलो उमेरमै आफूभन्दा २० वर्ष जेठो गणपत रावतका साथ विवाह गर्नुभएको थियो । जो उहाँकी दिदी लता मंगेशकरको सेक्रेटरी हुनुहुन्थ्यो । उहाँको विवाह माइती र घर दुवैपट्टिका परिवारलाई मन परेको थिएन । विवाहकै कारण आफ्नी दिदी लताका साथ फाटो आएको थियो । विवाहको ११ वर्षपछि उहाँको श्रीमान्का साथ सम्बन्ध विच्छेद भएको थियो । जुन बेला उहाँको तीन सन्तान जन्मिसकेका थिए । त्यसपछि उहाँको संगीतकार आरडी बर्मनका साथ १९८० मा प्रेम विवाह भएको थियो ।

विवाहपछि उहाँहरू मिलेर कयौं यादगार गीतहरू दिनुभयो । उहाँले दादासाहेब फाल्के पुरस्कारसहित भारतका उच्च सम्मानहरू प्राप्त गर्नुभएको छ । उहाँको निधनसँगै भारतीय संगीत क्षेत्रमा एक युगको अन्त्य भएको छ ।