काठमाडौं ।
पश्चिम एसियामा चर्कँदो युद्धको प्रभाव अब नेपाली श्रमिकको जीवनमा प्रत्यक्ष देखिन थालेको छ । रोजगारी गुम्ने संकेतसँगै विभिन्न देशमा कार्यरत नेपाली कामदारलाई कम्पनीहरूले ‘अब काम छैन, घर फर्क’ भन्न थालेपछि अवस्था गम्भीर बन्दै गएको छ ।
नेपाल समाचारपत्रसँग कुरा गर्दै संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद ओडारीले पछिल्ला दिनहरूमा यस्तो प्रवृत्ति बढ्न थालेको पुष्टि गरे ।
उनले भने, “केही नेपाली कामदारहरू फर्किन थाल्नुभएको छ । विशेषगरी होटल, रेस्टुरेन्ट र साना कम्पनीमा काम गर्नेहरूलाई कम्पनीले अब काम दिन नसक्ने भन्दै घर फर्किन भनेका छन् ।”
परराष्ट्र मन्त्रालयका अनुसार हाल पश्चिम एसियाका विभिन्न देशमा करिब १७ लाख २९ हजारभन्दा बढी नेपाली कार्यरत छन् । युएई, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, इराक लगायतका देशमा रहेका नेपालीमध्ये ठूलो हिस्सा आतिथ्य, सेवा र निर्माण क्षेत्रमा संलग्न छन्, जुन क्षेत्र युद्धको असरबाट सबैभन्दा बढी प्रभावित बन्दै गएको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले केही क्षेत्र प्रभावित हुन थालेको स्वीकार गर्दै तत्काल ठूलो संकट नदेखिए पनि जोखिम बढ्दो रहेको बताए ।
“हस्पिटालिटी र निर्माण क्षेत्रमा असर पर्ने सम्भावना देखिएको छ । हामी निरन्तर समन्वय र पहलमा छौं,” उनले भने ।
नेपाल समाचारपत्रसँग कुरा गर्दै बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले पनि त्यहाँ समस्या देखिन थालेको जानकारी दिए ।
उनका अनुसार होटल, रेस्टुरेन्ट तथा संवेदनशील क्षेत्रमा कार्यरत नेपालीहरूलाई कम्पनीले ‘काम छैन’ भन्दै फर्कन सुझाव दिन थालेका छन् ।
“संख्या अहिले ठूलो छैन, तर समस्या लिएर आउनेहरू बढ्दै छन्,” उनले भने ।
युद्ध लम्बिँदै जाँदा अवस्था झनै जटिल बन्ने संकेत देखिएको छ । इरान र अमेरिका–इजरायलबीचको द्वन्द्वले क्षेत्रीय स्थायित्वमा असर पार्दा अमेरिकी लगानी भएका कम्पनीहरू र सैन्य बेस आसपासका क्षेत्रमा असुरक्षा बढेको छ । हालसम्मको आक्रमणमा परी २८ जना नेपाली घाइते भएका छन् भने एक जनाको ज्यान गइसकेको छ ।
सबैभन्दा ठूलो प्रभाव युएईमा देखिन थालेको छ, जहाँ करिब सात लाख नेपाली कार्यरत छन् ।
महावाणिज्यदूत ओडारीका अनुसार केही कम्पनीले तलब दिन नसक्ने अवस्था आएको भन्दै कामदारलाई बेतलबी बिदामा पठाउने वा टिकट दिएर घर फर्किन अनुरोध गर्ने गरेका छन् ।
“हामीले त्यस्ता कम्पनीसँग समन्वय गरिरहेका छौं, कामदारको समस्या समाधान गर्ने प्रयास भइरहेको छ,” उनले बताए ।
कतार र कुवेतमा पनि यस्तै समस्या देखिन थालेको छ । त्यहाँका दूतावासमा रोजगारी गुम्ने चिन्तासहित नेपालीहरू सम्पर्कमा आउन थालेका छन् ।
दूतावास स्रोतका अनुसार, “अहिले संख्या कम भए पनि युद्ध लम्बिए स्थिति नियन्त्रण बाहिर जान सक्छ ।”
बहराइनमा भने अवस्था झनै जटिल छ । त्यहाँको विमानस्थल बन्द भएकाले घर फर्किन चाहने नेपालीलाई सहज छैन । साउदी अरेबिया हुँदै फर्किनुपर्ने बाध्यता र महँगो टिकटका कारण धेरै कामदार दोधारमा छन् ।
“नेपाल फर्कौं भने खर्चिलो र झन्झटिलो, यतै बसौं भने काम छैन,” राजदूत वाग्लेले बताए ।
तर ओमानमा भने हालसम्म यस्तो समस्या देखिएको छैन । त्यहाँका लागि नेपाली राजदूत डोरनाथ अर्यालका अनुसार रोजगारी गुमेको गुनासो अहिलेसम्म आएको छैन ।
यसबीच, सरकारले संभावित संकटलाई ध्यानमा राख्दै उच्चस्तरीय अन्तर–मन्त्रालय कार्यदल गठन गरेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा गठित कार्यदलले सात दिनभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
कार्यदलले पश्चिम एसियाको अवस्थाबाट नेपालमा पर्ने प्रभाव—विशेषगरी रेमिट्यान्स, रोजगार, इन्धन आपूर्ति, पर्यटन, उद्योग र समग्र अर्थतन्त्रमा पर्ने असर—को मूल्यांकन गरी आवश्यक नीतिगत सुझाव दिनेछ ।
पश्चिम एसियामा बढ्दो द्वन्द्वसँगै नेपाली श्रमिकको भविष्य अन्योलमा परिरहेको छ । तत्कालीन असर सानो देखिए पनि युद्ध लम्बिँदै गए ठूलो संख्यामा नेपाली रोजगारी गुमाउने जोखिम बढ्दै जाने निश्चित देखिन्छ, जसले नेपालको अर्थतन्त्र र सामाजिक संरचनामा गम्भीर प्रभाव पार्न सक्छ ।











प्रतिक्रिया