कैलाली ।
टीकापुर नगरपालिकाले चैत महिनादेखि घरमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। पालिकाका स्वास्थ्यकर्मीहरूले प्रत्येक वडामा दुई–दुई जनालाई परिचालन गरी ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग व्यक्तिको स्वास्थ्य परीक्षण, रोग पहिचान, उपचार, परामर्श र आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने कार्य थालेका छन्।
जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीका अनुसार, स्वास्थ्यकर्मीहरूले हरेक महिना चार दिन घरदैलो सेवा दिने तालिका अनुसार काम गर्नेछन्। दीर्घरोग, उच्च रक्तचाप, मधुमेह लगायतको नियमित जाँच, पोषण, सरसफाइ र जीवनशैलीसम्बन्धी परामर्शसमेत प्रदान गरिनेछ।
ज्येष्ठ नागरिक मासुलाल चौधरीले भने, “उच्च रक्तचापको औषधि नियमित लिन नसक्दा बीचमा छोड्थेँ, अब घरमै उपलब्ध भएपछि नियमित खान सक्छु। घरमै सेवा पाएर सहज र सुरक्षित महसुस भयो।” अर्का ज्येष्ठ नागरिक पुनसराम चौधरीले घरमै स्वास्थ्य परीक्षण र परामर्श पाएको अनुभव साझा गरे।
स्वास्थ्यकर्मी लक्ष्मी नारायण पोख्रेलले घरदैलो सेवा बिरामीको समय र खर्च बचत गर्ने, परिवारसँगको सहयोग बढाउने र सम्मानित महसुस गराउने बताउनुभयो। पालिकाले यसलाई नियमित सञ्चालन गर्न कार्यविधि बनाएर योजना बनाइरहेको छ।











प्रतिक्रिया