प्रधानन्यायाधीश राउत भोलिदेखि अनिवार्य अवकाशमा जाँदै


काठमाडौँ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाशमा जाने भएका छन्। ६५ वर्षे उमेर हदका कारण उनले पदबाट विदा लिन लागेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार राउत आजसम्म अदालतमा उपस्थित भई भोलिदेखि औपचारिक रूपमा अवकाशमा जानेछन्।

राउतको अवकाशसँगै सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्।

कानुन व्यवसायी पृष्ठभूमिबाट आएका राउतले वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष सेवा दिएका छन्। २०७३ साउन १७ गते सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएका उनी रोलक्रमअनुसार प्रधानन्यायाधीश बनेका थिए।

न्यायपालिकाभित्रका विकृति र विसंगति सुधारका लागि गठित विभिन्न समितिमा सक्रिय भूमिका खेलेका राउतबाट सुधारको अपेक्षा गरिए पनि उनको कार्यकालमा ती प्रतिवेदनहरू पूर्ण रूपमा कार्यान्वयन हुन सकेनन्।