एलिशा लेहमान विश्वमा सबैभन्दा चिनिएकी महिला फुटबलर हुन् । उनको इन्स्टाग्राममा फ्लोअर्स झण्डै १६ मिलियन रहेको छ भने टिकटकमा ११ मिलियनभन्दा बढी उनका फ्लोअर्स छन् । यसैले दर्शाउँछ कि उनी विश्वमा कति लोकप्रिय छिन् । उनलाई वेस्ट फरवार्ड खेलाडीको रूपमा पनि उनका समर्थकले चिन्दछन् ।
लेहमान फुटबलबाहेक फेशन शोमा पनि भाग लिने गर्छिन् । गत वर्ष मात्रै उनले इटालीमा खेलिरहँदा मिलानको एक कार्यक्रममा क्याटवाक गरेकी थिइन् । यसै वर्ष जनवरीमा पनि उनले इंग्ल्यान्डमा एक फेशन शोमा भाग लिएकी थिइन् ।
स्विट्जरल्यान्डमा जन्मेकी २६ वर्षीया लेहमानको फ्लओर्ससंख्याको तुलना गर्दा अरू चर्चित महिला खेलाडी निकै पछाडि परेका छन् । जसमा, इंग्ल्यान्डका क्लोए केली र एलेसिया रुसोसँग इन्स्टाग्राममा फ्लोअर्स क्रमशः १.५ मिलियन र १.१ मिलियन रहेको छ । यस्तै, अमेरिकाकी पूर्व स्टार फुटबलर एलेक्स मोर्गानको फ्लोअर्स ९ मिलियन रहेको छ ।
उनको ग्लेमर छवि देखेर कतिले त उनलाई फुटबलर हुन् भन्नेमा शंका गर्ने गरेको उनले बताइन् । उनले एक साक्षात्कारमा बताइन्–मान्छेहरूले मलाई फुटबलर नै होइनन् भन्ने गर्दछन् । म खालि टिकटकमा भिडियो अपलोड गरिरहने महिलाको रूपमा हेर्छन् । तर, म पुरै व्यवसायिक फुटबलर हुँ भन्ने उनीहरूले पत्याउँदैनन् ।

लेहमानले वोमेन्स सुपर लिग पहिलो पटक सन् २०१८ मा खेलेकी थिइन् । सो वर्षमा भएको युरोपियन यू १९ च्याम्पियनसिपमा उनले वेस्ट ह्यामको लागि २ गोल गरेकी थिइन् । यसपछि उनले इंग्ल्यान्डमा ६ वर्षमा १०८ खेल खेलिन् । यो समयमा उनले वेस्ट ह्याम, एभर्टन र एस्टन भिल्लाको लागि खेल्दै १९ गोल र १० असिस्ट गरेकी छन् ।
लेहमानले इटालीको क्लबहरू युभेन्टस, कोमोबाट पनि खेलेकी थिइन् । तर, उनले इटालीमा रहेको समयमा निकै कठिन भएको पनि बताइन् । कोमो क्लबसँग अनुबन्ध भएपछि उनलाई एक महिनापछि नै कठिन महसुस भएको उनले बताइन् । यसपछि उनी इंग्ल्यान्ड फर्केर लेस्टर सिटीमा आबद्ध भइन् । उनलाई एउटै चुनौती उनको टोलीलाई रेलिगेसनबाट बचाउनु रहेको छ ।











प्रतिक्रिया