काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ। दुईपटक मृगौला प्रत्यारोपण गरिसकेका ओलीलाई ‘मल्टिपल हेल्थ इस्यु’ का कारण जोखिम हुन सक्ने देखिएपछि अस्पतालको ५०१ नम्बर बेडमा राखेर उपचार सुरु गरिएको अस्पताल स्रोतले जनाएको छ।
यसअघि पनि मृगौला प्रत्यारोपणपछि सोही बेडमा राखेर उपचार गरिएको थियो। अहिलेको प्रारम्भिक स्वास्थ्य परीक्षणमा ‘चेस्ट पेन’ र ‘पाल्पिटेशन’ (मुटुको धड्कन असामान्य हुने समस्या) देखिएको बताइएको छ। अस्पतालले ओलीलाई इसीजी (ECG) मनिटरमा राखेर मुटुको चालको निरन्तर निगरानी गरिरहेको छ भने मिर्गौला सम्बन्धी विशेषज्ञ चिकित्सकको टोलीले समेत स्वास्थ्य अवस्था नजिकबाट अनुगमन गरिरहेको छ।
उता प्रहरी स्रोतका अनुसार, ओलीलाई अदालतमा म्याद थपका लागि आज शनिवार लैजान सम्भव नभएकाले आइतवार मात्र पेश गर्ने तयारी गरिएको छ। त्यसअघि उनलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राख्ने तयारी भए पनि स्वास्थ्य अवस्था जटिल देखिएपछि अस्पतालमै राखेर उपचारलाई प्राथमिकता दिइएको छ। पछिल्लो अवस्थाअनुसार ओलीको स्वास्थ्य अवस्था स्थिर भए पनि चिकित्सकले ‘क्लोज मोनिटरिङ’ आवश्यक रहेको बताएका छन्।











प्रतिक्रिया