विलियम कामक्वाम्बाको जीवनमा घटेको यो घटना केवल एउटा बालकको संघर्ष मात्र होइन, मानव इच्छाशक्तिले नियतिलाई दिएको एउटा भीषण चुनौती र प्रकृतिमाथि प्राप्त गरेको अभूतपूर्व सफलताको एउटा दस्तावेज पनि हो । सन् १९८७ को अगस्ट महिनामा अफ्रिकी मुलुक मलावीको एउटा सानो र धुलाम्य गाउँ मसिटालामा जन्मिएका विलियमको बाल्यकाल मकैका सुक्खा घोगा र रातो माटोसँग खेल्दै बितेको थियो । त्यहाँको जीवन सुरुमा शान्त देखिए पनि त्यसको गहिराइमा एउटा भयावह अनिश्चितता लुकेको थियो । सन् २००१ मा जब मलावीको आकाशबाट बादलहरू हराए र सूर्यले आफ्नो प्रचण्ड रापले धर्तीको छाती चिरा–चिरा पारिदियो । त्यो अनिकाल यति क्रूर र निर्दयी थियो कि मानिसहरू एक मुठी मकैका लागि आफ्नो स्वाभिमान र सर्वस्व सुम्पिन बाध्य भए । भोकमरीको त्यो वीभत्स ताण्डवमा विलियमले आफ्ना बालसखा र छिमेकीहरूलाई कंकालमा परिणत हुँदै गरेको र अन्तिम सास फेरेको आफ्नै आँखाले देख्नुप¥यो । बिहान ओछ्यानबाट उठ्दा पेटमा अन्न नहुँदाको त्यो जलन र आन्द्रा बटारिने पीडाले उनलाई भित्रभित्रै गलाउँथ्यो । तर, त्यही पीडा नै पछि उनको शक्तिको स्रोत बन्न पुग्यो । अभावको त्यो घना कुहिरोभित्र उनको शिक्षाको दियो पनि निभ्न पुग्यो । बाबुले विद्यालयको सामान्य शुल्कसमेत तिर्न नसक्दा उनलाई अपमानजनक ढंगले कक्षाकोठाबाट निकालियो । तर, जसको निधारमा इतिहास रच्ने अक्षरहरू कोरिएका हुन्छन्, उसलाई विद्यालयको चार पर्खाल र गरिबीको जन्जिरले कहिल्यै रोक्न सक्दैन ।

विद्यालयको ढोका बन्द हुनु विलियमका लागि एउटा ठूलो मानसिक बज्रपात थियो, तर त्यही चोटले उनको भित्र सुतिरहेको जिज्ञासाको झिल्कोलाई एउटा ठूलो डढेलोमा रूपान्तरण गरिदियो । उनी औपचारिक शिक्षाबाट वञ्चित भए पनि ज्ञानको अनन्त प्यास मेटाउन गाउँको एउटा सानो, धुलाम्मे र उपेक्षित पुस्तकालयको शरणमा पुगे । त्यहाँका पुराना र च्यातिएका पुस्तकहरू पल्टाउँदा–पल्टाउँदै उनको हातमा ‘युजिङ इनर्जी’ नामक एउटा अङ्ग्रेजी पुस्तक प¥यो । अङ्ग्रेजीका जटिल शब्दहरू उनका लागि अपरिचित र बिरानो भाषा जस्तै थिए । तर, ती पानामा कोरिएका रेखाचित्रहरूले उनीसँग सिधै संवाद गर्न थाले । एउटा ठूलो पंखा तीव्र गतिमा घुमिरहेको र त्यसले रहस्यमय ढंगले बिजुली निकालिरहेको चित्र देख्दा १४ वर्षीय ती बालकलाई लाग्यो कि यो त कुनै ईश्वरीय जादु हो । उनले गहिरो सोचमग्न हुँदै आफैँलाई प्रश्न गरे—यदि यो अदृश्य हावाले मेरो शरीरको पसिना सुकाउन सक्छ भने, यसले मेरो घरको घोर अन्धकार किन हटाउन सक्दैन र ? यदि यसरी बिजुली निकालेर कलकारखाना चल्न सक्छन् भने, यसले जमिनमुनिको पानी तानेर मेरो बुबाको सुक्खाले डढेको खेतलाई फेरि हरियाली बनाउन किन सक्दैन ? यही एउटा क्रान्तिकारी “किन” ले विलियमलाई एउटा यस्तो सकारात्मक पागलपनमा धकेल्यो, जसका कारण उनले पुरै गाउँबाट ‘बौलाहा’ को उपमा पाए ।
विलियमको त्यो आविष्कारको यात्रा काँडैकाँडाले भरिएको एउटा कठिन बाटो थियो । उनीसँग न त इन्जिनियरिङको कुनै औपचारिक डिग्री थियो, न त बजारबाट नयाँ सामान किन्ने एक सुको पैसा नै । उनले आफ्नो सपनाको भव्य महल फोहोरको थुप्रो अर्थात् कबाडीबाट उठाउन सुरु गरे । गाउँलेहरू उनलाई फोहोरको थुप्रोमा फलामका टुक्राहरूसँग खेलिरहेको देखेर गिज्याउँथे, “यो केटाको दिमाग त खुस्किएछ” भन्दै बाटोमा हिँड्दा खिसी गर्थे । तर, विलियमको कानमा मानिसहरूको त्यो विषाक्त गाली होइन, बरु आफ्ना साना भाइबहिनीको भोकले रोएको करुण पुकार र आमाको निराशाले भरिएका धमिलो आँखाको सपना गुञ्जिरहेको थियो । उनले एउटा पुरानो र खिया लागेको साइकलको फ्रेम, ट्रयाक्टरको पुरानो पंखा, प्लास्टिकका ढल निकास गर्ने पाइप र टिनका टुक्राहरूलाई जोडेर एउटा अनौठो र भद्दा देखिने मेसिन बनाउन थाले । कति रात उनी भोकको आगोले पेट पोलिरहेको अवस्थामा काम गर्थे, कति पटक फलामका धारिला टुक्राहरूले उनका कलिला हातमा चोट लाग्थे र रगत बग्थ्यो । तर, उनी हार मान्न कत्ति पनि तयार थिएनन्, किनकि उनको हारको सोझो अर्थ उनको पुरै परिवारको भोकमरी र गरिबीसँगको आत्मसमर्पण हुन्थ्यो ।

अन्ततः जब विलियमले ५ मिटर अग्लो काठको कच्ची टावरमा आफ्नो कबाडीबाट निर्मित ‘विन्डमिल’ अर्थात् पवनचक्की ठड्याए । गाउँको एउटा ठूलो भीड उनलाई हाँसोको पात्र बनाउन र उनको असफलताको तमासा हेर्न त्यहाँ भेला भएको थियो । विलियम धेरैको शंकास्पद नजरबीच टावरमा चढे, उनले आफ्नो श्रम र सपनाप्रति एउटा अन्तिम विश्वास राखेर पंखालाई हावाको वेगमा सुम्पिदिए । बिस्तारै हावाको झोक्का चल्यो, पंखाका ब्लेडहरू कँकँ गर्दै बिस्तारै घुम्न थाले । जति–जति हावाको वेग बढ्दै गयो, पंखाको गति उति नै विद्युतीय गतिमा तीव्र भयो । अनि अचानक—सबैको सातो जाने गरी त्यहाँ जडान गरिएको एउटा सानो बिजुलीको चिममा मधुरो तर आशालाग्दो प्रकाश देखियो । त्यो केवल एउटा सानो बत्ती बलेको मात्र थिएन, मलावीको एउटा विपन्न बालकले प्रकृतिको विशाल शक्तिलाई आफ्नो बसमा पारेर गरिबीमाथि जितेको एउटा महान् घोषणा थियो । भीडमा जुन हाँसो र व्यंग्यको कोलाहल थियो, त्यो क्षणभरमै स्तब्धतामा बदलियो र त्यसपछि एउटा ठूलो तालीको गडगडाहटले पुरै गाउँ गुञ्जियो । त्यो सानो उज्यालाले केवल एउटा कोठा मात्र होइन, पुरै गाउँको भविष्य उज्यालो बनाउने मार्गप्रशस्त गरिदिएको थियो।
उनले पछि त्यही विन्डमिलबाट निस्कने बिजुलीको मद्दतले जमिनमुनिबाट पानी तान्ने पम्प बनाए । जसले सुक्खाले डढेर खरानी भएको गाउँमा पानीको मधुर फोहोरा ल्यायो । मकैका हरिया बालाहरू फेरि लहराउन थाले र भोकमरीको कालो बादल सधैँका लागि हट्यो । यो समाचार डढेलो जस्तै सात समुद्र पार पुग्यो । जुन बालकलाई एक समय शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिएको थियो, उनलाई विश्वका सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय र मञ्चहरूले रातो गलैंचा बिछ्याएर भव्य स्वागत गरे । उनले अमेरिकाको प्रतिष्ठित डार्टमाउथ कलेजबाट स्नातकको उपाधि हासिल गरे, तर उनले कहिल्यै आफ्नो माटो, आफ्नो गाउँ र आफ्नो संघर्षको जगलाई बिर्सिएनन् । उनले ‘मुभिङ विन्डमिल्स प्रोजेक्ट’ मार्फत आज अफ्रिकाका हजारौं गरिब बस्तीहरूको जीवनमा सुनौलो परिवर्तन ल्याइरहेका छन् । उनको यो अविश्वसनीय जीवनकथामा आधारित थुप्रै पुस्तक र फिल्मले अभाव कहिल्यै बहाना हुन सक्दैन र गरिबीले महान् सपनाहरूको बाटो छेक्न सक्दैन भनेर संसारलाई सन्देश दिएको छ । यदि तपाईंसँग एउटा पवित्र सपना छ र त्यो सपना साकार पार्ने अटुट पागलपन छ भने, तपाईं फोहोरको थुप्रोबाट पनि स्वर्गको सिँढी निर्माण गर्न सक्नुहुन्छ भन्ने ज्वलन्त र जीवित प्रमाण हुन् विलियम कामक्वाम्बा ।











प्रतिक्रिया