हावालाई बसमा पारेर भोकमरी अन्त्य गर्ने विलियम कामक्वाम्बा

कबाडीको थुप्रोमा कोरिएको उज्यालो भविष्यको खाका

470
Shares

विलियम कामक्वाम्बाको जीवनमा घटेको यो घटना केवल एउटा बालकको संघर्ष मात्र होइन, मानव इच्छाशक्तिले नियतिलाई दिएको एउटा भीषण चुनौती र प्रकृतिमाथि प्राप्त गरेको अभूतपूर्व सफलताको एउटा दस्तावेज पनि हो । सन् १९८७ को अगस्ट महिनामा अफ्रिकी मुलुक मलावीको एउटा सानो र धुलाम्य गाउँ मसिटालामा जन्मिएका विलियमको बाल्यकाल मकैका सुक्खा घोगा र रातो माटोसँग खेल्दै बितेको थियो । त्यहाँको जीवन सुरुमा शान्त देखिए पनि त्यसको गहिराइमा एउटा भयावह अनिश्चितता लुकेको थियो । सन् २००१ मा जब मलावीको आकाशबाट बादलहरू हराए र सूर्यले आफ्नो प्रचण्ड रापले धर्तीको छाती चिरा–चिरा पारिदियो । त्यो अनिकाल यति क्रूर र निर्दयी थियो कि मानिसहरू एक मुठी मकैका लागि आफ्नो स्वाभिमान र सर्वस्व सुम्पिन बाध्य भए । भोकमरीको त्यो वीभत्स ताण्डवमा विलियमले आफ्ना बालसखा र छिमेकीहरूलाई कंकालमा परिणत हुँदै गरेको र अन्तिम सास फेरेको आफ्नै आँखाले देख्नुप¥यो । बिहान ओछ्यानबाट उठ्दा पेटमा अन्न नहुँदाको त्यो जलन र आन्द्रा बटारिने पीडाले उनलाई भित्रभित्रै गलाउँथ्यो । तर, त्यही पीडा नै पछि उनको शक्तिको स्रोत बन्न पुग्यो । अभावको त्यो घना कुहिरोभित्र उनको शिक्षाको दियो पनि निभ्न पुग्यो । बाबुले विद्यालयको सामान्य शुल्कसमेत तिर्न नसक्दा उनलाई अपमानजनक ढंगले कक्षाकोठाबाट निकालियो । तर, जसको निधारमा इतिहास रच्ने अक्षरहरू कोरिएका हुन्छन्, उसलाई विद्यालयको चार पर्खाल र गरिबीको जन्जिरले कहिल्यै रोक्न सक्दैन ।

विद्यालयको ढोका बन्द हुनु विलियमका लागि एउटा ठूलो मानसिक बज्रपात थियो, तर त्यही चोटले उनको भित्र सुतिरहेको जिज्ञासाको झिल्कोलाई एउटा ठूलो डढेलोमा रूपान्तरण गरिदियो । उनी औपचारिक शिक्षाबाट वञ्चित भए पनि ज्ञानको अनन्त प्यास मेटाउन गाउँको एउटा सानो, धुलाम्मे र उपेक्षित पुस्तकालयको शरणमा पुगे । त्यहाँका पुराना र च्यातिएका पुस्तकहरू पल्टाउँदा–पल्टाउँदै उनको हातमा ‘युजिङ इनर्जी’ नामक एउटा अङ्ग्रेजी पुस्तक प¥यो । अङ्ग्रेजीका जटिल शब्दहरू उनका लागि अपरिचित र बिरानो भाषा जस्तै थिए । तर, ती पानामा कोरिएका रेखाचित्रहरूले उनीसँग सिधै संवाद गर्न थाले । एउटा ठूलो पंखा तीव्र गतिमा घुमिरहेको र त्यसले रहस्यमय ढंगले बिजुली निकालिरहेको चित्र देख्दा १४ वर्षीय ती बालकलाई लाग्यो कि यो त कुनै ईश्वरीय जादु हो । उनले गहिरो सोचमग्न हुँदै आफैँलाई प्रश्न गरे—यदि यो अदृश्य हावाले मेरो शरीरको पसिना सुकाउन सक्छ भने, यसले मेरो घरको घोर अन्धकार किन हटाउन सक्दैन र ? यदि यसरी बिजुली निकालेर कलकारखाना चल्न सक्छन् भने, यसले जमिनमुनिको पानी तानेर मेरो बुबाको सुक्खाले डढेको खेतलाई फेरि हरियाली बनाउन किन सक्दैन ? यही एउटा क्रान्तिकारी “किन” ले विलियमलाई एउटा यस्तो सकारात्मक पागलपनमा धकेल्यो, जसका कारण उनले पुरै गाउँबाट ‘बौलाहा’ को उपमा पाए ।

विलियमको त्यो आविष्कारको यात्रा काँडैकाँडाले भरिएको एउटा कठिन बाटो थियो । उनीसँग न त इन्जिनियरिङको कुनै औपचारिक डिग्री थियो, न त बजारबाट नयाँ सामान किन्ने एक सुको पैसा नै । उनले आफ्नो सपनाको भव्य महल फोहोरको थुप्रो अर्थात् कबाडीबाट उठाउन सुरु गरे । गाउँलेहरू उनलाई फोहोरको थुप्रोमा फलामका टुक्राहरूसँग खेलिरहेको देखेर गिज्याउँथे, “यो केटाको दिमाग त खुस्किएछ” भन्दै बाटोमा हिँड्दा खिसी गर्थे । तर, विलियमको कानमा मानिसहरूको त्यो विषाक्त गाली होइन, बरु आफ्ना साना भाइबहिनीको भोकले रोएको करुण पुकार र आमाको निराशाले भरिएका धमिलो आँखाको सपना गुञ्जिरहेको थियो । उनले एउटा पुरानो र खिया लागेको साइकलको फ्रेम, ट्रयाक्टरको पुरानो पंखा, प्लास्टिकका ढल निकास गर्ने पाइप र टिनका टुक्राहरूलाई जोडेर एउटा अनौठो र भद्दा देखिने मेसिन बनाउन थाले । कति रात उनी भोकको आगोले पेट पोलिरहेको अवस्थामा काम गर्थे, कति पटक फलामका धारिला टुक्राहरूले उनका कलिला हातमा चोट लाग्थे र रगत बग्थ्यो । तर, उनी हार मान्न कत्ति पनि तयार थिएनन्, किनकि उनको हारको सोझो अर्थ उनको पुरै परिवारको भोकमरी र गरिबीसँगको आत्मसमर्पण हुन्थ्यो ।

अन्ततः जब विलियमले ५ मिटर अग्लो काठको कच्ची टावरमा आफ्नो कबाडीबाट निर्मित ‘विन्डमिल’ अर्थात् पवनचक्की ठड्याए । गाउँको एउटा ठूलो भीड उनलाई हाँसोको पात्र बनाउन र उनको असफलताको तमासा हेर्न त्यहाँ भेला भएको थियो । विलियम धेरैको शंकास्पद नजरबीच टावरमा चढे, उनले आफ्नो श्रम र सपनाप्रति एउटा अन्तिम विश्वास राखेर पंखालाई हावाको वेगमा सुम्पिदिए । बिस्तारै हावाको झोक्का चल्यो, पंखाका ब्लेडहरू कँकँ गर्दै बिस्तारै घुम्न थाले । जति–जति हावाको वेग बढ्दै गयो, पंखाको गति उति नै विद्युतीय गतिमा तीव्र भयो । अनि अचानक—सबैको सातो जाने गरी त्यहाँ जडान गरिएको एउटा सानो बिजुलीको चिममा मधुरो तर आशालाग्दो प्रकाश देखियो । त्यो केवल एउटा सानो बत्ती बलेको मात्र थिएन, मलावीको एउटा विपन्न बालकले प्रकृतिको विशाल शक्तिलाई आफ्नो बसमा पारेर गरिबीमाथि जितेको एउटा महान् घोषणा थियो । भीडमा जुन हाँसो र व्यंग्यको कोलाहल थियो, त्यो क्षणभरमै स्तब्धतामा बदलियो र त्यसपछि एउटा ठूलो तालीको गडगडाहटले पुरै गाउँ गुञ्जियो । त्यो सानो उज्यालाले केवल एउटा कोठा मात्र होइन, पुरै गाउँको भविष्य उज्यालो बनाउने मार्गप्रशस्त गरिदिएको थियो।

उनले पछि त्यही विन्डमिलबाट निस्कने बिजुलीको मद्दतले जमिनमुनिबाट पानी तान्ने पम्प बनाए । जसले सुक्खाले डढेर खरानी भएको गाउँमा पानीको मधुर फोहोरा ल्यायो । मकैका हरिया बालाहरू फेरि लहराउन थाले र भोकमरीको कालो बादल सधैँका लागि हट्यो । यो समाचार डढेलो जस्तै सात समुद्र पार पुग्यो । जुन बालकलाई एक समय शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिएको थियो, उनलाई विश्वका सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय र मञ्चहरूले रातो गलैंचा बिछ्याएर भव्य स्वागत गरे । उनले अमेरिकाको प्रतिष्ठित डार्टमाउथ कलेजबाट स्नातकको उपाधि हासिल गरे, तर उनले कहिल्यै आफ्नो माटो, आफ्नो गाउँ र आफ्नो संघर्षको जगलाई बिर्सिएनन् । उनले ‘मुभिङ विन्डमिल्स प्रोजेक्ट’ मार्फत आज अफ्रिकाका हजारौं गरिब बस्तीहरूको जीवनमा सुनौलो परिवर्तन ल्याइरहेका छन् । उनको यो अविश्वसनीय जीवनकथामा आधारित थुप्रै पुस्तक र फिल्मले अभाव कहिल्यै बहाना हुन सक्दैन र गरिबीले महान् सपनाहरूको बाटो छेक्न सक्दैन भनेर संसारलाई सन्देश दिएको छ । यदि तपाईंसँग एउटा पवित्र सपना छ र त्यो सपना साकार पार्ने अटुट पागलपन छ भने, तपाईं फोहोरको थुप्रोबाट पनि स्वर्गको सिँढी निर्माण गर्न सक्नुहुन्छ भन्ने ज्वलन्त र जीवित प्रमाण हुन् विलियम कामक्वाम्बा ।