लगातार दुई पटक एसिया ट्रेल रेस जितेकी कीर्तिमानी प्रिया राई

टेलिभिजनको एउटा दृश्यले बदलिएको जीवन

94
Shares

पूर्वी नेपालमा रहेको खोटाङको डाँडाकाँडा, हरियाली पहाड, कुहिरोले ढाकिएका बिहानहरू, घाम झुल्किँदा सुनौलो देखिने पाखाहरू र साँझ पर्दा चराहरूको गुँड फर्कने धुन । त्यही प्राकृतिक संसारको काखमा हुर्किएकी एक साधारण केटी हुन प्रिया राई । जसले आफ्नो जीवनलाई यति असाधारण यात्रामा रूपान्तरण गर्लिन् भनेर सायद कसैले कल्पना पनि गरेको थिएन । तर, इतिहास सधैँ त्यहीँबाट लेखिन्छ जहाँ कसैले असम्भव देखेका बाटोमा कसैले निडर भएर पाइला टेकेको हुन्छ । प्रियाको जीवन पनि त्यही साहसिक पाइला हो जुन असफलताबाट उठेर अन्तर्राष्ट्रिय ट्रेल रनिङको आकाशमा चम्किलो तारा बनेको छ ।

खोटाङ जिल्लाको ऐँसेलुखर्क क्षेत्र, जहाँ सडक अझै सबै गाउँमा पुगेको छैन, जहाँ धेरै बालबालिकाका लागि विद्यालय पुग्नु नै दैनिक साहसिक यात्रा जस्तै हुन्छ । त्यही माटामा सन् २००० मा जन्मिएकी प्रिया कुनै खेलकुद प्रशिक्षण केन्द्रको उत्पादन होइनन् । उनको जिमखाना पहाडको उकालो थियो, उनको ट्रेडमिल साँघुरा गोरेटो थियो । बिहान सबेरै उठेर घाँस काट्न जानु, भारी बोकेर उकालो चढ्नु, खोल्सामा पानी भर्नु, अनि त्यसपछि विद्यालय पुग्न घन्टौँ पैदल हिँड्नु, यही दिनचर्याले उनको शरीरलाई बलियो बनाइरहेको थियो । तर, त्यतिबेला उनलाई थाहा थिएन, यही कठोर जीवनशैलीले उनलाई एकदिन विश्वका सबैभन्दा कठिन ट्रेल रेसहरू जित्ने शक्ति दिनेछ छ भनेर ।

बाल्यकालको त्यो दैनिकी केवल संघर्षको कथा मात्र थिएन, त्यो एउटा मौन प्रशिक्षण पनि थियो । जब उकालो चढ्दा सास फुल्थ्यो, तर उनी रोकिन्नथिन् । ओरालो झर्दा खुट्टा लडखडाउँथ्यो, तर उनी फेरि उठ्थिन् । त्यो सानो उमेरमै उनले एउटा गहिरो कुरा सिकिसकेकी थिइन । जीवनमा जो लडेर उठ्न जान्छ, उसले नै अन्ततः जित्छ । सन् २०१२ तिर जब उनी उच्च शिक्षा हासिल गर्ने सपना बोकेर काठमाडौं आइन्, उनको जीवनले अर्को मोड लियो । गाउँको शान्त वातावरणबाट राजधानीको भीडभाडमा आएपछिको त्यो परिवर्तन सजिलो थिएन । ट्राफिकको आवाज, भीड, धुवाँ र अपरिचित मानिसहरूको समुद्रबीच उनी कहिलेकाहीँ एक्लो महसुस गर्थिन् । तर, भित्र कतै एउटा आवाज थियो,“तिमी यहाँ हार्नका लागि आएकी होइनौ ।” हाल उनी काठमाडौं बौद्धस्थित एक कलेजमा अंग्रेजी साहित्य र पत्रकारिता विषयमा स्नातक तहमा अध्ययनरत छिन् । कलेजमा उनी शब्दका माध्यमबाट संसारलाई बुझ्ने र पत्रकारितामार्फत सत्य उजागर गर्ने कोसिस गर्छिन् । अर्कोतर्फ खेलमैदानमा आफ्नो गति र साहसका माध्यमबाट विश्वलाई नेपालको सामथ्र्य बुझाउन प्रयासरत छिन् । पढाइ र खेलकुदलाई एकसाथ सन्तुलनमा राख्नु उनका लागि एउटा अर्को कठिन दौड जस्तै भए पनि उनी दुवैमा उत्तिकै अब्बल देखिँदै आएकी छन् ।

रोचक कुरा त के छ भने प्रियाको खेलकुद यात्रा दौडबाट सुरु भएको थिएन । उनले सुरुमा तेक्वान्दो खेलेकी थिइन् । उनले मार्सल आर्टको संसारमा चम्किने सपना देख्थिन् । ‘डोबोक’ लगाएर अभ्यास गर्दा उनको आँखामा एउटा योद्धाको चमक देखिन्थ्यो । तर, जीवन कहिले र कसरी अनपेक्षित मोडमा पुग्छ भनेर कसैलाई थाहा हँुदैन । प्रशिक्षणका क्रममा लागेको चोट र आर्थिक कठिनाइका कारण उनको तेक्वान्दो यात्रा अचानक रोकियो । त्यो क्षण उनको जीवनको सबैभन्दा निराशाजनक मध्येको एक थियो । सपना अचानक टुट्दा मनमा गहिरो चोट लाग्छ र त्यही आहटले धेरैलाई रोकिदिन्छ । तर, प्रिया तीमध्येकी थिइनन् ।
एक दिन टेलिभिजनमा उनले पहाडका कठिन बाटोमा दौडिरहेका धावकहरू देखिन् । त्यो दृश्य सामान्य थिएन । मानिसहरू उकालो, जंगल, चिप्लो माटो र चट्टानबीच दौडिरहेका थिए । त्यो देख्दा उनको मनमा एउटा प्रश्न उठ्यो । “म पनि त यस्तै पहाडमै हुर्किएकी हुँ, म किन नसक्ने ?” यही एउटा प्रश्नले उनको जीवनको दिशा परिवर्तन गरिदियो । त्यहीँबाट सुरु भयो उनको ट्रेल रनिङ यात्रा । तर, सुरुवात सजिलो थिएन । सन् २०१८ मा भोजपुरमा भएको ट्रेल रेसमा उनी पहिलो पटक सहभागी भइन् । उत्साह त धेरै थियो, तर अनुभव कम । दौड सुरु भयो, प्रतिस्पर्धीहरू तीव्र गतिमा अघि बढे । प्रिया भने बिस्तारै पछाडि पर्दै गइन् । अन्ततः जब उनी फिनिस लाइनमा पुगिन्, उनी अन्तिम स्थानमा थिइन् । त्यो क्षण अत्यन्त पीडादायी थियो । मैदान लगभग मान्छेविहिन भइसकेको थियो । दर्शकहरू गइसकेका थिए । त्यो लाज र निराशाले जो कोहीलाई पनि खेल छोड्न बाध्य पार्न सक्थ्यो ।

तर, त्यही हारले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो । उनले आफैसँग “एक दिन म यहीँबाट विजेता बनेर निस्किनेछु” भनेर वाचा गरिन् । त्यसपछि सुरु भयो कठोर अभ्यास । बिहान सबेरै उठेर दौडिनु, गोकर्णका उकालो चढ्नु र राति थाकेर लड्नु उनको दैनिकी नै बन्यो । केवल एक वर्षपछि, सन् २०१९ मा चमत्कार भयो । त्यही केटी जो पहिलो रेसमा अन्तिम भएकी थिइन्, उनैले अब नेपालका ट्रेल रेसहरू एकपछि अर्कोगरी जित्न थालिन् । भोजपुर ट्रेल, सिन्धुपाल्चोक ट्रेल, मनास्लु ट्रेल, जहाँ पनि उनी दौडिन्थिन्, त्यहाँ उनको नाम विजेताको सूचीमा देखिन्थ्यो । प्रिया राई अब नेपाली ट्रेल रनिङ समुदायमा एउटा नयाँ स्टारको रूपमा चम्किन थाल्यो ।

त्यसपछि उनको यात्रा अन्तर्राष्ट्रिय मञ्चतिर मोडियो । सन् २०२२ मा थाइल्याण्डमा भएको प्रतिष्ठित यूटीएमबी वल्र्ड सिरिजमा उनले रजत पदक जित्दा धेरै विदेशी खेलाडीहरू अचम्मित भए । साधारण साधन र सीमित स्रोत भएकी नेपाली धाविकाले यति ठूलो प्रतियोगितामा पदक जित्नु सानो उपलब्धि थिएन । त्यो जितले उनलाई विश्वको सबैभन्दा प्रतिष्ठित ट्रेल प्रतियोगितामध्ये एक फ्रान्सको श्यामोनीमा हुने यूटीएमबी फाइनलसम्म पु¥यायो । फ्रान्सको माउन्ट ब्लाङ्कको काखमा आयोजित त्यो दौड विश्वका उत्कृष्ट धावकहरूको अखडा थियो । झन्डै दुई हजार प्रतिस्पर्धीहरू, अत्याधुनिक उपकरण, प्रशिक्षकहरूको टोलीबीच सहभागी प्रिया भने नेपाली राष्ट्रिय झण्डा बोकेर उभिएकी थिइन् । जब दौड सुरु भयो, पहाडले कसलाई चिन्छ भन्ने कुरा देखियो । हजारौं मध्येबाट प्रियाले १५औँ स्थान हासिल गरिन् । त्यो उपलब्धिले अन्तर्राष्ट्रिय ट्रेल रनिङ समुदायलाई आश्चर्यचकित बनायो । तर, वास्तविक चमत्कार त त्यसपछि भयो । सन् २०२४ मा मलेसियामा भएको ८६ किलोमिटरको कठिन ट्रेल रेसमा उनले पहिलो स्थान हासिल गरिन् । त्यो दौड अत्यन्त जटिल थियो । घना जंगल, अत्यधिक गर्मी र चिप्लो बाटोबीच प्रतिस्पर्धा गरेर अब्बल हुनु वास्तवमै ठूलो उपलब्धि थियो । धेरै धावकहरूले बीचमै हार माने । तर, प्रिया अघि बढिरहिन् । जब उनी फिनिस लाइनमा पुगिन्, उनको हातमा नेपालको झन्डा थियो र आँखामा आँसु । त्यो क्षण केवल व्यक्तिगत जित मात्र थिएन, त्यो सम्पूर्ण नेपालकिो गौरव थियो ।

त्यसपछि २०२६ को फेब्रुअरीमा हङकङको ‘९ ड्रागन्स’ मा भएको एसिया ट्रेल मास्टरमा उनले पुनः स्वर्ण पदक जितेर उपाधि रक्षा गरिन् । प्रिया आज केवल एक धाविका मात्र होइनन, उनी त राष्ट्रिय गौरव हुन् । हङकङको ‘९ ड्रागन्स’ मा ९ घण्टा ५६ मिनेटसम्म लगातार कुदेर लगातार दुई पटक (सन् २०२४ र २०२५) ‘एसिया ट्रेल मास्टर’ (एटीएम) को उपाधि जितेर उनले जुन कीर्तिमान रचेकी छन् त्यसले एसियाकै ट्रेल इतिहासलाई पुनर्लेखन गरिदिएको छ । एसिया ट्रेल मास्टरको एक दशक लामो इतिहासमा लगातार दुई पटक च्याम्पियन हुने उनी पहिलो धाविका हुन् । यो उपलब्धिले उनलाई एसियाली ट्रेल रनिङकी रानीको रूपमा स्थापित गरिदियो । त्यति मात्र होइन नेपालमा भएका मुस्ताङको १७० किलोमिटर लामो ‘स्टेज रेस’ देखि इन्डोनेसियाको ‘ट्रेल अफ द किंग्स’ सम्म उनको पाइलाले विजयको पदचाप छोडेको छ । जुम्ला, रारा, सिन्धुपाल्चोक, मनास्लु, मुस्ताङ र एभरेष्ट म्याराथन, नेपालका कुनाकाप्चादेखि विश्वका चर्चित ट्रेलसम्म आज प्रिया राईको नाम एउटा अपराजित शक्तिको रूपमा गुञ्जिरहेको छ ।

आज पनि जब बिहानीको मिरमिरेमा काठमाडौंको आकाश हल्का निलो हुँदै जान्छ, गोकर्णको जंगलमा प्रिया राई दौडिरहेको देखिन्छ । उनी अझै पनि उही जोशका साथ अभ्यास गरिरहेकी छन् । तर, अहिले उनी एक्लै दौडिरहेकी छैनन् । उनको पछाडि हजारौँ नेपाली युवतीहरूको सपना दौडिरहेको छ । प्रिया राईको उपलब्धि केवल सफलताको कथा मात्र होइन । यो आफ्नो सपना र लक्ष्य प्रति गरिने इमानदारीताको उदाहरण पनि हो । यदि मेहनतमा पवित्रता छ भने संसारको कुनै पनि पहाड अग्लो हुँदैन । खोटाङको एउटा सानो गोरेटोबाट सुरु भएको दौडका धाविकाले आज विश्वका ठूला ट्रेलहरूमा लालमोहर लगाइरहेका छन । प्रियाको यात्रा अझै समाप्त भएको छैन । यो त केवल एउटा यात्राको सुरुवात मात्र हो । किनभने केही मानिसहरू केवल दौड जित्नका लागि मात्र जन्मेका हुँदैनन्, उनीहरू त इतिहास लेख्नका लागि जन्मेका हुन्छन् । प्रिया निःसन्देह त्यही इतिहास लेखिरहेकी एउटी नेपाली चेली हुन्, जसको पदचाप अब केवल ट्रेल रेसमा मात्र होइन, लाखौँको सपनामा पनि गुञ्जिरहेको छ ।