५३ वर्षपछि पहिचान, पन्ज तामाङको घरमै नागरिकता

1.88k
Shares

काभ्रे। 

काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका –५ की पन्ज तामाङका लागि जीवनकै अविस्मरणीय क्षण बनेको छ । पाँच दशकभन्दा बढी समय पहिचानको कागजबिनै जीवन बिताएकी उनी अन्ततः ५३ वर्षको उमेरमा नेपाली नागरिकता पाउन सफल भइन् । त्यो पनि आफैँ कार्यालय धाउनुपरेन सरकारी टोली नै उनको घरसम्म पुग्यो ।

लामो समयदेखि शारीरिक रूपमा अशक्त रहेकी पन्जका लागि प्रशासनिक प्रक्रिया पूरा गर्न जिल्ला सदरमुकाम धुलिखेल पुग्नु सहज थिएन । नागरिकता नहुँदा उनले राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनु परेको थियो । तर अहिले भने अवस्था फेरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेको टोलीले घरमै पुगेर नागरिकता हस्तान्तरण गरे पछि पन्जको जीवनमा नयाँ आशा पलाएको छ ।

पाँच दशकको प्रतीक्षा

पन्ज तामाङले जीवनको धेरै हिस्सा एउटा आधारभूत पहिचान बिना बिताइन् । तर नागरिकता नहुँदा उनी राज्यका धेरै अधिकारबाट टाढा रहनुप¥यो । श्रीमान् माहिला तामाङका अनुसार पन्जको स्वास्थ्य अवस्था राम्रो छैन । हिँडडुल गर्न पनि निकै कठिन हुन्छ ।  ‘नागरिकता बनाउन धुलिखेल जानुपर्ने हुन्छ । त्यहाँ पुग्न हामीलाई धेरै गाह्रो थियो’–उनले भने–‘त्यही कारण यतिका वर्षसम्म नागरिकता बनाउन सकेनौँ ।’ धेरै पटक नागरिकता बनाउनुपर्ने कुरा उठे पनि दूरी, स्वास्थ्य अवस्था र आर्थिक कठिनाइका कारण त्यो काम सधैं टर्दै गयो । गाउँबाट सदरमुकाम पुग्न घण्टौँको यात्रा गर्नुपर्छ । अशक्त व्यक्तिका लागि त्यो झन् कठिन हुन्छ ।

घरमै पुगेको प्रशासन 

यस पटक भने अवस्था फरक भयो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले नागरिकलाई सहज सेवा दिन गाउँमै पुगेर सेवा दिने अभियान चलायो । यही अभियान अन्तर्गत प्रशासनिक टोली तेमाल गाउँपालिका पुगेको थियो । टोलीले अशक्त अवस्थाका कारण कार्यालय पुग्न नसकेकी पन्ज तामाङको घरमै पुगेर नागरिकता वितरण ग¥यो । नागरिकता हस्तान्तरणको यो क्षण पन्जका लागि केवल एउटा कागज प्राप्त गर्ने घटना मात्र थिएन, बरु जीवनभरको प्रतीक्षाको अन्त्य थियो । नागरिकता हातमा लिएपछि उनी भावुक देखिन्थिन् । लामो समयदेखि आफू राज्यको औपचारिक अभिलेखमा नपरेको अनुभूति बोकेकी पन्जका लागि यो दिन अत्यन्त विशेष बन्यो ।

नागरिकता वितरण कार्यक्रममा चन्द्र बहादुर तामाङसहित स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थिती थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ, वडा अध्यक्ष तथा अन्य स्थानीय प्रतिनिधिहरू पनि सहभागी थिए । उपस्थित सबैले पन्जलाई बधाई दिँदै अब उनले राज्यबाट पाइने सेवा–सुविधा सहज रूपमा लिन सक्ने बताएका थिए । स्थानीय जनप्रतिनिधिहरूका अनुसार गाउँका केही नागरिक विभिन्न कारणले अझै पनि नागरिकताबाट वञ्चित छन् । अशक्तता, आर्थिक अवस्था, दूरी वा कागजी प्रक्रिया नबुझ्दा धेरैले नागरिकता बनाउन सकेका छैनन् ।

‘घरदैलो सेवा’ को उद्देश्य

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोककी प्रशासकीय अधिकृत सुनिता थापाले कार्यालय आउन नसक्ने नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनका अनुसार प्रशासनले विशेष गरी अशक्त, वृद्ध तथा दुर्गम क्षेत्रमा बस्ने नागरिकलाई लक्षित गरेर सेवा विस्तार गरिरहेको छ । ‘कार्यालयसम्म आइपुग्न नसक्ने नागरिकलाई सेवा दिन हामी टोलीसहित गाउँमै पुगिरहेका छौँ’–उनले भनिन् । सरकारी सेवा नागरिकको घरदैलोमै पु¥याउने प्रयासले धेरैलाई राहत मिलेको स्थानीयवासीले बताएका छन् ।

नागरिकताः अधिकारको ढोका

नेपालमा नागरिकता केवल परिचयपत्र मात्र होइन । यो राज्यसँगको औपचारिक सम्बन्धको प्रमाण हो । नागरिकता भएपछि मात्र नागरिकले धेरै आधारभूत अधिकारहरू उपयोग गर्न सक्छन—जस्तै बैंक खाता खोल्ने, सामाजिक सुरक्षा भत्ता लिने, सरकारी सेवा प्राप्त गर्ने, जग्गा–जमिन सम्बन्धी काम गर्ने लगायत । पन्ज तामाङका लागि पनि अब यी सबै ढोकाहरू खुलेका छन् । नागरिकता नहुँदा उनले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र अन्य सरकारी कार्यक्रमबाट लाभ लिन सकेकी थिइनन् । अब भने त्यो बाधा हटेको छ ।

सानो कदम, ठूलो सन्देश

पन्ज तामाङलाई घरमै पुगेर नागरिकता दिनु एउटा व्यक्तिगत घटना मात्र होइन, यो प्रशासनिक संवेदनशीलताको उदाहरण पनि हो । ग्रामीण क्षेत्रमा अझै पनि धेरै मानिसहरू विभिन्न कारणले सरकारी सेवासम्म पुग्न सक्दैनन् । यस्ता पहलले राज्य र नागरिकबीचको दूरी घटाउने काम गर्छ । प्रशासन स्वयं नागरिकको घरदैलोमा पुग्दा सेवा प्राप्त गर्ने प्रक्रिया सरल हुन्छ । 

खुशीको क्षण

नागरिकता प्राप्त गरेपछि पन्ज तामाङको अनुहारमा सन्तोष झल्किन्थ्यो । लामो समयको प्रतीक्षा अन्ततः समाप्त भएको थियो । उनका परिवारका सदस्यहरू पनि निकै खुसी देखिन्थे । उनीहरूका अनुसार अब पन्जले राज्यबाट पाइने सेवा सुविधा सजिलै लिन सक्नेछिन् । ५३ वर्षपछि प्राप्त भएको त्यो सानो कागजले पन्जको जीवनमा ठूलो परिवर्तनको ढोका खोलिदिएको उनले बताइन् ।