विराटनगर।
प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोरङ जिल्लामा क्लिन स्वीप गरेको छ । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै क्लिन स्वीप गरेका हो । मोरङका ६ वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरले जित हात पारेका हुन् । निर्वाचन परिणाम अनुसार मोरङ क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतका साथ विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टी उम्मेदवार शान्ती पाख्रिन लामाले १७ हजार ५२२ मत पाउनु भयो । क्षेत्र नम्बर २ मा कृष्णकुमार कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दै जित हासिल गर्नुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दिलिपकुमार अग्रवालले १५ हजार ६२४ मत प्राप्त गर्नुभयो । उहाँहरूबीचको मतान्तर २५ हजार ३०० छ । क्षेत्र नम्बर ३ मा गणेश कार्की ३६ हजार ९२४ मत ल्याएर निर्वाचित हुनु भएको छ । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार शर्मालाई १२ हजार बढी मतान्तरले पराजित गर्दै कार्की निर्वाचित हुनु भएको हो । कार्कीले ३६ हजार ९२४ मत ल्याउँदा शर्माले २४ हजार ३ सय ५४ मत पाउनुभयो, श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गर्नुभयो ।
क्षेत्र नम्बर ४ मा सन्तोष राजवंशी ४० हजार ८३३ मतका साथ विजयी हुनुभया् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्नुभयो । घिमिरेले १२८१८ मत प्राप्त गर्नुभएको थियो । मोरङ क्षेत्र नम्बर ५ मा आशा झा ३० हजार ४३४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९ हजार ४१५ मत मात्र प्राप्त गर्नुभयो । झा र लालबानीबीचको मतान्तर २१ हजार १९ छ । जिल्लाभरिमै सबैभन्दा धेरै मत क्षेत्र नम्बर ६ बाट रुविना आचार्यले प्राप्त गर्नुभयो । उहाँले ५५ हजार ५१३ मत ल्याएर सानदार जित हासिल गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस नेता डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गर्नुभयो । एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गर्नुभयो । २०७९ सालको निर्वाचनमा मोरङको क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बु, क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ३ बाट कांग्रेस उम्मेदवार सुनिल शर्मा, क्षेत्र नम्बर ४ बाट नेकपा उम्मेदवार अमनलाल मोदी, क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल र क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता डाक्टर शेखर कोइराला विजयी हुनु भएको थियो ।
अर्काेतर्फ आफ्नो पाँच वर्षे कार्यकाल बिचमै छाडेर संघीय सांसद बन्न तम्सिएका कोशी प्रदेशका १ जना प्रदेश सांसद र पालिका प्रमुखहरूमध्ये हर्कराज राईबाहेक अरू प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेका छन् । सुनसरी–१ मा भने हर्कराज राई विजयी बन्नु भएको छ । उहाँ धरान उपमहानगरपालिकाका प्रमुख रहनु भएको थियो । कोशी प्रदेश सांसद पद छोडेर झापा ४ बाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्ति प्रसाद सिटौलाले लज्जास्पद पराजय व्यहोरनु भएको छ । उहाँले जमानत जोगाउन सक्नु भएन । सिटौलाले २ हजार ८० मत ल्याएर पाँचौं बन्दा विजेता रास्वपाका शम्भुप्रसाद ढकालले ४३ हजार ६३१ मत ल्याउनुभयो ।
यस्तै पालिका छोडेर सांसद बन्न तम्सिएका मोरङ रंगेलीका प्रमुख दिलिपकुमार अग्रवाल, इलाम सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, सोलुखुम्बु थुलुङ दूधकोशीका अध्यक्ष असिम राई, उदयपुर लिम्चिङबुङका अध्यक्ष मेजर राई र ओखलढुङ्का लिखु पिके गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा पनि पराजित हुनु भएको छ । यस्तै धरान १७ नम्बरको वडाध्यक्ष पद छोडेर संघीय संसद बन्न तम्सिएका सूर्यबहादुर भट्टराई (मनोज) पनि पराजित बन्नुभयो ।











प्रतिक्रिया