लमजुङ।
प्रतिनिधिसभा सदस्यका लागि लमजुङमा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी भएका छन्। लमजुङमा खसेको कुल ७५ हजार ४६० मत मध्ये केसी ३३ हजार ८९८ मत प्राप्त गरी विजयी भएका हुन्। उनले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १७ हजार २२ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचनको अन्तिम परिणाम अनुसार नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङले १६ हजार ८ सय ७६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे। नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हरिजंग तामाङले ३ हजार ३ सय ७१ मत प्राप्त गरेका छन्।
त्यसै गरी राप्रपाका केविन्द्रजङ गुरुङले १ हजार मत पाएका छन् । श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले ५ सय ६५, मंगोल नेश्नल अर्गनाइजेजनका विकास गुरुङले ३ सय ५१, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का रविन्द्र नखोलाले १ सय ४४ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले १ सय ३० मत प्राप्त गरेका छन् । यस्तै, जनादेश पार्टीका मिलन वास्कोटाले ५३, नेश्नल रिपब्लिक नेपालका भरत गुरुङले ४१ र नेपाल मजदुर किसान पार्टीकी गुजेश्वरी प्रजापति मगजुले १२ मत पाएकी छन् । २ हजार ४ सय ५० मत बदर भएको छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा करिब ९ हजार मत प्राप्त गरेका केसी त्यसबेला पराजित भएका थिए। सो निर्वाचनमा भने पृथ्वी सुब्बा गुरुङले करिब ३४ हजार मतसहित विजय हासिल गरेका थिए।
लमजुङमा प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको छ। यस क्षेत्रमा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी मैदानमा थिए। मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ, नेपाली कांग्रेसका गमप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हरिजंग तामाङ रहेका थिए।
जिल्लामा कुल १ लाख ३७ हजार १२४ मतदाता रहेका थिए। समानुपातिकतर्फको मतगणना भने आइतबारदेखि सुरु गरिने मुख्य निर्वाचन अधिकृत शिशिर देवकोटाले जानकारी दिएका छन्।











प्रतिक्रिया