निर्वाचन प्रचारप्रसार उत्कर्षमा, आज मध्यरातदेखि मौन अवधि सुरु

564
Shares

काठमाडौं।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आज सोमबार मध्यरातबाट मौन अवधि सुरु हुने भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुन्छ । मौन अवधि मतदान केन्द्र बन्द नहुन्जेलसम्म जारी रहन्छ । बेलुकी ५ बजेसम्म मतदान गर्न लाइनमा बसेकाको मतदान नसकिएसम्म मौन अवधि जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरूको पक्षमा प्रचारप्रचार र अरू क्रियाकलाप गर्न पाइँदैन ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता २०८२ को बुँदा नं १७ मा मौन अवधिबारेमा उल्लेख गरेको छ । आचारसंहिताको बुँदा १७ को उम्मेदवार, राजनीतिक दलका पदाधिकारी र दलको भ्रातृ संगठनलाई लागू हुनेछ । आचारसंहिताको उपदफा ‘क’ अनुसार मौन अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरूलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठीलगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको छ ।

आचारसंहितामा मतदान हुनु ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरपर राखिएका उम्मेदवारको प्रचारप्रसार सामग्री हटाउनुपर्नेछ । मौन अवधिमा हुनसक्ने चलखेल र प्रचारप्रसारलाई सूक्ष्म अध्ययन गर्न आयोगले सबै जिल्लामा अनुगमन समितिलाई विशेष निर्देशन दिएको छ । मौन अवधिमा मत माग्न नपाएपछि उम्मेदवारले आर्थिक चलखेल गर्न सक्ने, भोजभतेर गर्न सक्ने र घरघर गएर मतदातालाई प्रभावित पार्न सक्ने भएकाले सुरक्षा निकायसमेत चनाखो भएको छ ।

आचारसंहितामा कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न वा प्रचारप्रसार गर्न नहुने, आर्टिफिसियल एन्टेलिजेन्स (एआई) प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष÷विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न गराउन वा प्रतिक्रिया दिन नहुने उल्लेख छ ।

मौन अवधि संवेदनशील रहने उल्लेख गर्दै मतदातालाई पनि सजगता अपनाउन आयोगले आग्रह गरेको छ । निर्वाचन आउनु तीन दिनअघि भोलि मंगलवारबाट सीमा नाका बन्द हुने भएको छ । आयोगले सीमा पार हुनसक्ने तनावलाई ध्यानमा राखेर फागुन १९ देखि २१ गतेसम्म सीमा नाका बन्द गर्न लागेको हो ।

मतदानको समयमा प्रतिस्पर्धीबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित हुन नदिने मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।
शान्त वातावरणमा निर्वाचन गर्न, उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गरेको हो । स्वतन्त्र र निष्पक्ष मतदान सुनिश्चित गर्न र कुनै दल वा उम्मेदवारको पक्षमा असमान प्रभाव नपरोस् भन्ने कुरा सुनिश्चित मौन अवधि लागू गर्न लागेको हो । निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ उपदफा २३ मा एक लाख रुपियाँ जरिवाना र उम्मेदवारी रद्ध गर्नसक्ने व्यवस्था उल्लेख छ ।

सोही ऐनको दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन भन्ने कानुनी व्यवस्था छ ।

अन्तर्राष्ट्रिय सिमानाका बन्द

काठमाडौं।

बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सिमाना जोडिएका जिल्लाहरूमा सिमानाका बन्द गरिएको छ । सरकारले आइतबार राति १२ बजेदेखि ती सिमानाकाहरु बन्द गरेको हो ।

निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सिमानाका बन्द गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार सिमानाका बन्द गर्न आयोगले सिफारिस गरेअनुसार नै नाकाबन्द गरिएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन अवधिभर सुरक्षालाई कडा बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न आयोगले विभिन्न सुरक्षा उपायहरू अवलम्वन गरिरहेको जनाइएको छ ।