पित्तथैलीमा कस्ता समस्या देखिन्छन् ?

1.22k
Shares

पित्त (बाइल) कलेजोबाट उत्पादित एकखालको तरल पदार्थ हो, जसले हाम्रोे शरीरमा चिल्लो या बोसोयुक्त खानेकुरा पचाउन सहयोग गर्छ । कलेजोबाट आउने पित्त जम्मा हुने अंग नै पित्तथैली (गलब्लाडर) हो । सामान्यतः आकारमा ४–५ सेन्टिमिटरदेखि १२–१५ सेन्टिमिटरसम्म हुने यो अंग कलेजोको मुुनि हुन्छ । पित्तथैलीमा सानो नली सानो आन्द्रामा जोडिएको हुन्छ ।
जब हामीले खाएको खानेकुरा आमाशयबाट सानो आन्द्रामा पुग्छ, पित्तथैलीमा जम्मा भएको पित्त (बाइल) पित्तनलीमार्फत सानो आन्द्रामा पुगेर चिल्लो पदार्थ पचाउन सहयोग गर्छ ।

पित्त मुख्यतः दुई कुराले बन्छ– बायल साल्ट र कोलेस्टेरोल ।पित्तथैलीमा देखिने मुख्य समस्या भनेकै पित्तथैलीको पत्थरी (गलस्टोन) हो । यसै गरी, मासु पलाउने समस्या पनि देखिन्छ, जसलाई पोलिप भनिन्छ । पोलिप दुई खालको हुन्छ, एउटा कोलेस्टेरोल पोलिप र अर्को एडिनोमायोसिस पोलिप । एडिनोमायोसिस आकारमा १ सेन्टिमिटरभन्दा ठूलो भयो भने क्यान्सर हो कि भनेर उपचार गरिन्छ । यस्तै, कोलेस्टेरोल पोलिप छ भने त्यत्तिकै छाडिन्छ, यसका लागि केही गर्नुपर्दैन ।

कस्ता लक्षण देखिन्छन् ?
सामान्यतः पित्तथैलीमा मासु पलाउँदा अर्थात् पोलिप हुँदा केही लक्षण देखिँदैन । अरु कारणले जाँच गर्दा मात्र मासु पलाएको देखिन्छ, । यसरी पलाएको मासु १ सेमिभन्दा सानो छ भने बिरामीलाई हरेक ३ या ६ महिनामा फलोअपमा बोलाउँछौँ र आकार परिवर्तन भएको छैन भने पुनः अर्को फलोअपमा राख्छौँ ।

पत्थरी पनि २ खालको हुन्छ– लक्षण देखाउने र नदेखाउने (साइलेन्ट) । लक्षण नदेखिने भएकाले कतिपय बिरामीलाई पत्थरी भएको छ भन्ने कुरा वर्षौंसम्म पनि थाहा हुँदैन ।

पित्तथैलीमा समस्या हुँदा ग्यास्ट्रिकजस्तो लक्षण देखिन्छ । कहिले पेटको बीचमा त कहिले दाहिनेतिर दुख्ने हुन्छ । खाना पचाउने बेलामा पित्तथैलीबाट पित्त निस्कँदा स्टोन पनि निस्कन खोज्छ र पित्तथैलीको मुखमा गएर अड्किन्छ । यस्तो बेला दुख्छ । तर नअड्केको बेलामा भने दुख्दैन, जसलाई ‘कोलिक पेन’ भनिन्छ । यो सामान्य अवस्थामा हो ।

तर स्टोन पित्तथैलीमा निरन्तर अड्केर बस्यो भने दुखाइ पनि निरन्तर हुने, पाक्ने, बिरामीलाई ज्वरो आउने र बान्ता हुने हुन्छ । यस्तो स्टोन भिडियो एक्स–रे गर्दा बल्ल देखिन्छ । यसै गरी कहिलेकाहीँ कलेजोबाट पित्तथैलीमा जोडिने पित्तनलीमा पनि स्टोन बन्न सक्छ तर यो दुर्लभ हो ।
कसरी पत्ता लगाउने ?
पित्त थैलीमा पत्थरी भएको छ कि छैन भनेर पत्ता लगाउने महत्वपूर्ण विधि भिडियो एक्स–रे नै हो । कहिलेकाहीँ एमआरआई जाँच गरेर पनि पत्ता लगाउन सकिछ ।

कतिपय बिरामीमा सानो स्टोनले फरक पर्दैन, ठूलो रहेछ भने मात्र अपरेसन गराउनुपर्छ भन्ने धारणा पाइन्छ । तर ठूलोभन्दा सानो स्टोन झन् खतरापूर्ण हुन्छ । किनभने पित्तथैलीबाट सानो आन्द्रामा जोडिने पित्तनलीको आकार ४ देखि ५ मिलिमिटर हुन्छ, त्योभन्दा सानो अर्थात् ३–४ मिलिमिटरका स्टोन छन् भने सजिलै झर्न सक्छन् ।

यदि यस्ता स्टोन पित्तनलीमार्फत झरे भने सानो आन्द्राको मुखमा हुने प्यान्क्रियाजको मुखमा चोट लाग्न सक्छ र सुन्निन्छ । अनि पेट फुल्ने र वरिपरिको अंगलाई संक्रमण गराएर प्यान्क्रियाटाइटिससम्म गराउँछ । प्यान्क्रियाटाइटिस ८० प्रतिशत बिरामीमा सामान्य र २० प्रतिशत बिरामीमा सिभियर हुन्छ ।

यस्तो हुँदा बिरामीलाई आईसीयुमै भर्ना गर्नुपर्ने, फोक्सोमा पानी जम्ने तथा भेन्टिलेटरमा राख्नुपर्नेसम्म हुन सक्छ । त्यसैले सानो स्टोन झनै जोखिमपूर्ण हुन्छ । पित्तथैलीको समस्या हुनै नदिने के गर्ने भन्ने खासै उपाय छैन । किनभने पित्त बनाउने शरीरको आफ्नै तरिका हुन्छ र पित्तथैलीले राम्ररी काम गरेन भने पत्थरीको रुप लिन्छ । त्यसैले यसको कारण अज्ञात छ ।

पित्तथैलीको समस्या खानपिनसँग सम्बन्धित हो ?
पित्तथैलीको समस्या खानपिनसँग सम्बन्धित हो भन्ने धारणा बिरामीमा रहे पनि अहिलेसम्म कुनै पनि अनुसन्धानले त्यस्तो पुष्टि गरेको छैन । पित्तथैलीले जुस बगाउने प्रक्रिया राम्रोसँग भएन भने जमेर स्टोन बन्छ ।
पित्तथैलीका बिरामी धेरै देखिन्छन्, त्यसमा पनि महिलामा बढी देखिन्छ । ४० वर्षपछि अलि बढी देखिने रोग भए पनि आजभोलि सबै उमेर समूहमा देखिने गरेको छ ।
उपचार के ?
पित्तथैलीमा हुने पत्थरी लक्षण नदेखाउने र देखाउने खालको हुने भएकाले केही समस्या देखिएको छैन भने केही समय कुर्न पनि सकिन्छ । समस्या देखियो भने शल्यक्रिया गर्नुपर्छ ।

कतिपय बिरामी टाढाबाट आउने भएकाले लक्षण नदेखाए पनि उनीहरुलाई शल्यक्रिया गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिइन्छ । किनभने पित्तथैलीको पत्थरी औषधि खाएर या फुटाएर जाँदैन, शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।
आजभोलि मिनिमल इन्भेजिभ सर्जरी गरिन्छ । अर्थात् प्वाल पारेर शल्यक्रिया गरिन्छ । पित्तथैलीको बनावट अलग्गै छ, पाकेको छ, रगत धेरै बग्यो भने कहिलेकाहीँ चिर्नुपर्ने अवस्था पनि हुन सक्छ ।

(डा. चौधरी नर्भिक अस्पतालका कन्सल्टेन्ट जीआई तथा जनरल सर्जन हुनुहुन्छ ।)