देशप्रति इमानदार रही समाजसेवाको भावले राजनीति गर्न चाहन्छु


जितेन्द्रकुमार श्रेष्ठ यही फागुन २१ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवार हुनुहुन्छ । समाजसेवामा आफ्नो पहिचान बनाएका श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा मात्र होइन, वरपरका छिमेकका बस्तीहरुमा पनि सेवा गर्दै आउनुभएको छ । विद्यार्थी कालदेखि आजसम्म नेपाली कांग्रेसको कार्यकर्ता भएर काम गरेका श्रेष्ठ ललितपुर निर्वाचन–३ का हरेक विशेषता र समस्यासँग परिचित हुनुहुन्छ ।
गत भदौको जेनजी विद्रोहप्रति अत्यन्त गम्भीर उहाँ युवाको जायज माग पूरा हुनैपर्ने धारणा राख्नुहुन्छ । आफ्नो सोच र चिन्तन नेकाका नवनिर्वाचित युवा सभापति गगन थापासँग ठ्याक्कै मिल्ने बताउने श्रेष्ठ पुराना दलहरुले भ्रष्टाचार निर्मुल गर्न नसकेकाले नै जेनजी विद्रोह भएको ठान्नुहुन्छ । सत्तामा बसेर पनि मुलुकको दुर्गतिप्रति जिम्मेवारी लिन नचाहने नेताहरुलाई उहाँ पाखण्डीको संज्ञा दिनुहुन्छ ।
पार्टी र समूहगत स्वार्थभन्दा माथि उठेर हरेकका राम्रा कामलाई सराहना गर्न र वस्तुवादी भएर प्रस्तुत हुन रुचाउने श्रेष्ठसँग आसन्न आम निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीको महत्वपूर्ण अंश ः

तपाईंलाई मतदाताले कसरी चिन्ने ?
इमानदारीता नै मेरो पहिचान हो । म जे काम गर्छु पूर्ण इमानदारीका साथ गर्छु । साथीहरुले नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति बनाउनुभयो, परिवर्तित कांग्रेसको एक खम्बा भनेर सम्मान दिनुभयो, म आभारी छु । पाएको जिम्मेवारी कुनै पनि इमानदारीताका साथ पूरा गर्छु । मेरो दृष्टिमा पैसा वा भौतिक सम्पत्ति नाजायज रूपमा लिनु मात्र भ्रष्टाचार होइन, परिवार–समाज–देशप्रतिको सानो कर्तव्य पूरा नगर्नु पनि भ्रष्टाचार हो ।

सानै उमेरमा काठको व्यापार व्यवसायमा लागें, व्यापारले साथ दियो । जस्तो कतिले भन्छन् नि, बाध्यताले घूस खाएँ भनेर, मैले भगवान्को कृपाले त्यस्तो बाध्यता भोग्नु पनि परेन । अरू कसैलाई पनि यस्तो बाध्यता नआओस्, स्वावलम्बन बन्दै, आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर भएर बाँच्ने वातावरण बनोस् भन्ने मेरो चाहना छ ।

समाजसेवामा मलाई रुचि छ । भूकम्पपीडित, बाढी प्रभावित वा अन्य कुनै कारणले दुःख पाएका व्यक्तिहरुलाई सेवा गर्दा मलाई खुसी प्राप्त हुन्छ । २०७२ सालको भूकम्प, कोभिड–१९ को प्रकोप तथा बाढीपछिको राहत वितरणका अगुवा समाजसेवीका रूपमा मलाई समाजले सम्मानित पनि ग¥यो ।

संस्कृति र सम्पदाको शहर ललितपुरको केन्द्रविन्दु पुल्चोकस्थित बौद्ध स्तुपको काखैमा जन्में, नेपालीको पहिचान संस्कृतिको संरक्षणमा छ भन्ने ठान्छु । मतदाताहरुले मलाई देशप्रति इमानदार समाजसेवीका रूपमा चिनिदिनुहोस्, मलाई यति भए पुग्छ ।
तपाईंले कांग्रेस ललितपुर जिल्ला सभापति भएको कुरा गर्नुभयो । समाजसेवाकै कारण पनि पार्टीले तपाईंलाई यो जिम्मेवारी दिएको हुनुपर्छ । आफ्नो राजनीतिक यात्राबारे बताइदिनुस् न !

मेरो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको राजनीतिबाट सुरू भएको हो । मैले २०४३ सालमा नेविसंको सदस्यता पाएँ भने २०५० सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरें । २०५० सालमै नेपाली कांग्रेस वडा नं ३ एकाई सभापति बनें । २०५२ सालमा क्षेत्रीय कार्य समितिको कोषाध्यक्ष, २०५७ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, सोही सालदेखि क्षेत्रीय समितिको सचिव, २०५८–२०५९ सालबाट नेपाली कांग्रेसको जिल्ला सदस्य, २०५९ सालमा नेपाल संस्कृति संघको केन्द्रीय कोषाध्यक्ष, २०६२÷६३ सालको जनआन्दोलन परिचालन समितिको सदस्य, २०६४ सालबाट नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्ष र २०७८ देखि हालसम्म ललितपुर जिल्ला सभापति छु ।

लोकतन्त्र र नेपाली कांग्रेसप्रति निरन्तर समर्पित रहँदै संविधान संशोधन, सुशासन, भ्रष्टाचार नियन्त्रण, उद्योग तथा व्यवसाय प्रवद्र्धन, प्रेस स्वतन्त्रता लगायतका विषयमा आफ्नो ठाउँबाट आवाज उठाउँदै आएको छु । आज पनि श्रद्धेय मतदाताहरुसँग आफ्नो अमूल्य मत रुख चिह्नमा दिएर मलाई जिताउनुभयो भने लोकतन्त्र, स्थिरता र मुलुकको समुन्नत भविष्यका लागि आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्नेछु भनेर प्रतिबद्धता दोहो¥याउन चाहन्छु ।

‘सुशासन र समुन्नति हाम्रो अभियान, सम्पदा र नवप्रवर्तनका लागि कांग्रेसलाई मतदान’ भन्ने नाराका साथ तपाईं उम्मेदवार हुनुभएको छ । यस नारालाई पूरा गर्न के–कस्तो प्रतिबद्धता जनाउनुहुन्छ ?

मेरा चुनावी प्रतिबद्धता भन्नुस् वा संकल्प मूलतः पाँचवटा छन् । राजनीतिक स्थिरता तथा लोकतन्त्रको रक्षा देश र जनताका लागि पहिलो आवश्यकताको विषय हो । राजनीतिक अस्थिरताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रजस्तो समृद्ध व्यवस्था पाएर पनि यसको सदुपयोग गर्न हामी असमर्थ छौं । लोकतन्त्रको रक्षा हुन सकेको छैन । मुखले लोकतन्त्र वा प्रजातन्त्र भनिए पनि आम जनताले लोकतन्त्रको आनन्द लिन सकेका छैनन् । मतदान गर्न पाउनु र विरोध गर्नसक्नु मात्र लोकतन्त्र होइन, सम्मानित र सुरक्षित जीवन जिउन पाउनु, भ्रष्टाचारमुक्त शासन व्यवस्थाको सेवा पाउनु पनि लोकतान्त्रिक अधिकार हो, यो प्राप्त भइरहेको छैन । त्यसैले जनतामा चरम निराशाले बास गरेको छ । त्यसैले मेरो पहिलो प्रतिबद्धता राजनीतिक स्थिरता र लोकतन्त्रको रक्षा रहेको छ ।

दोस्रो प्रतिबद्धता आर्थिक विकास हो । भोको पेटले लोकतन्त्रको आनन्द उठाउन सक्तैन । मुलुकमा आर्थिक गतिविधि नभएका कारण, रोजगारीको अवसर सिर्जना गर्न नसकेका कारण आज नेपाली युवाको लर्को विदेशतिर सोझिएको छ । मुलुकमै बसेका युवा सुशासनका लागि विद्रोह गर्न बाध्य छन् । जेनजी आन्दोलन त्यसको उदाहरण हो ।

तेस्रो प्रतिबद्धता शिक्षा र स्वास्थ्यमा सुधार रहेको छ । महामानव बीपी कोइरालाले विक्रम सम्वत् दुई हजारको दोस्रो दशकमै उठाएको लोकतान्त्रिक समाजवादको नारा आजसम्म साकार हुन सकेको छैन । २०७२ को संविधानले मुलुकलाई समाजवाद उन्मुख बनाउने प्रस्तावना त गरेको छ तर मुलुकमा शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पक्ष नै कमजोर छन्, आर्थिक विकास ऋणात्मकतिर छ, यस्तो मुलुक कसरी समाजवादतिर अघि बढ्नसक्छ ?

आम नागरिकका लागि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ, सबै नागरिकले रुचि अनुसार पढ्न र आवश्यकता अनुसार स्वाथ्योपचार गर्न पाउनुपर्छ । सरकारले अन्य क्षेत्रका आर्थिक गतिविधिबाट कर उठाएर यी दुई क्षेत्रलाई निःशुल्क गर्नुपर्छ । अनि मात्र मुलुक स्वस्थ र शान्त हुन्छ । घर–परिवारदेखि समाजसम्म व्याप्त अशान्तिको मूल कारण स्वास्थ्य र शिक्षा नै हो । स्वास्थ्य र शिक्षामा व्यापार मुलुकको दुर्भाग्य हो । बाँकी दुई प्रतिबद्धता भ्रष्टाचाररहित समाजको सिर्जना र सामाजिक न्याय र समानतासँग सम्बन्धित छन् ।

नीतिगत तहमा नेतृत्व तथा सुशासनका पक्षमा तपाईंले विभिन्न मञ्चमा बोलेको पनि सुनियो । यस विषयलाई तपार्इंले किन यति महत्व दिनुभएको हो ?

सुशासन, सेवाप्रवाह र भ्रष्टाचार नियन्त्रणलाई नागरिक स्तरमै अभियानका रूपमा लैजान स्थानीय नागरिक समन्वय तथा संवाद कार्यक्रम विशेष रूपमा सञ्चालन गर्न समूह बनाएर काम गर्नुपर्छ । त्यो काम म गर्नेछु । ललितपुर जिल्लाको हाम्रो ३ नम्बर क्षेत्रमा साक्षरता दर ९५ प्रतिशत छ । स्थानीय कर्मचारी, पेशा व्यवसायी, शिक्षक, प्राध्यापक आदिको बौद्धिक क्षमता र पुँजीलाई मानवीय स्रोतका रूपमा सम्मान र उपयोग गर्दै स्थानीय आवश्यकताको पहिचान र समाधानमा जोड दिनेछु । सांसदको रूपमा नीतिगत निर्णयका लागि सल्लाह लिन स्थानीय युवा विज्ञहरूको एक ‘स्याडो काउन्सिल’ को रूपमा ललितपुर युथ काउन्सिल गठन गर्ने सोच बनाएको छु ।

स्थानीय विकासमा वाधकका रूपमा रहेको सार्वजनिक खरिद ऐन २०६३ लाई परिमार्जन गरी न्यूनतम बोलपत्रको सट्टा गुणस्तर र संवेदनशीलता प्रधान हुने गरी ऐन संशोधन गर्न पहल गर्नेछु । डिजिटल सुशासन अर्थात् सरकारी सेवामा ढिलासुस्ती र भ्रष्टाचार रोक्न पेपरलेस एड्मिनिस्ट्रेसन र ओपेन डाटा पोलिसीका लागि नीतिगत पैरवी गर्नेछु । एकीकृत उपत्यका विकास प्राधिकरणमार्फत काठमाडौं उपत्यकाको खानेपानी, ढल, र यातायातलाई एकै संयन्त्रबाट सञ्चालन गर्न एकीकृत उपत्यका व्यवस्थापन ऐनका लागि आवश्यक पहल गर्नेछु ।

तपाईंले आफ्नो घोषणापत्रमा आधुनिक सूचना प्रविधिलाई जोड दिनुभएको छ । खासमा कस्तो परिकल्पनाका साथ अघि बढ्न खोज्नुभएको हो ?

लोकतान्त्रिक अभ्यासको सूचक पारदर्शिता हो । यसका लागि डिजिटल प्रशासनिक व्यवस्था आवश्यक हुन्छ । आम जनतासँग दिनदिनै सम्पर्कमा आउने कार्यालयमा सेवाग्राहीले सशरीर उपस्थित हुन नपरेपछि कर्मचारीले कसरी घूस माग्छ ? डिजिटल माध्यमबाट घूस दिँदा प्रमाण रहन्छ । उसले घूस माग्न सक्तैन, सुशासन बढ्छ ।

मैले आफ्नो घोषणापत्रमा नवप्रवर्तन र प्रविधि अर्थात् इनोभेसन, एआई र आईटी हबको कुरा उठाएको छु । ललितपुरमा ‘इनोभेसन हब’ स्थापना गरिने छ । सार्वजनिक भवनहरुलाई ‘को–वर्किङ स्पेस’मा रूपान्तरण गरी साना व्यवसायबाट आफ्नो सिर्जना देखाउन चाहने अर्थात् ‘स्टार्ट अप’हरुलाई उच्च गतिको इन्टरनेट र निर्बाध बिजुली उपलव्ध गराउन पहल गर्नेछु । यसै गरी, सामुदायिक विद्यालय र केन्द्रहरुमा एआई ल्याब स्थापना गरी युवाहरुलाई कोडिङ र डाटा साइन्समा दक्ष बनाउने कार्यक्रम सञ्चालन गर्नेछु । विदेशी लगानी आकर्षित गर्न सूचना प्रविधिमैत्री कर नीति निर्माण गर्ने र ललितपुरलाई ‘आउटसोर्सिङ क्यापिटल’ बनाउन पहल गर्नेछु । यसै गरी, विपद् जोखिम न्यूनीकरणका लागि ‘अर्ली वार्निङ सिस्टम’ र खुला क्षेत्रहरुको डिजिटल म्यापिङ गर्नेछु ।

ललितपुर पर्यटन केन्द्रका रूपमा पनि चिनिन्छ । जबकि भौतिक पूर्वाधारको अभाव पनि यही जिल्लाले सहनुपरेको छ । यस दिशामा तपाईंका योजना के छन् ?

पर्यटन, सम्पदा र विश्वव्यापी पहिचानको सन्दर्भ मेरो दिमागमा प्राथमिकतामा रहने विषय हो । त्यस्तै, पूर्वाधार र वातावरण सुधारलाई पनि मैलै आफ्नो प्रतिबद्धता पत्रमा समेटेको छु । ललितपुरको मूत–अमूर्त सम्पदा र प्राकृतिक स्रोत हाम्रा अमूल्य सम्पत्ति हुन् । यी सम्पदाको संरक्षण, विश्वव्यापीकरण र पुनर्निर्माण आवश्यक छ । वल्र्ड क्राफ्ट काउन्सिल र युनेस्कोबाट मैले अपेक्षा राखेको छु । ललितपुरको हस्तकलालाई अन्तर्राष्ट्रिय बजारमा सीधै जोड्नु आवश्यक छ । यसका लागि ‘डिजिटल मार्केट प्लेस’ निर्माण गर्न÷गराउन मेरो सक्रियता रहने छ ।

मुख्य बस्तीका घरहरुको बाहिरी संरचना परम्परागत शैलीमा राख्न विशेष अनुदान र आर्किटेक्चर नीति ल्याउन मेरो पहल हुनेछ । पर्यटकहरुलाई स्थानीय कला र संस्कृति अनुभव गराउन बुटिक होमको प्रवद्र्धन आवश्यक छ । ढुंगेधारा र जलाशयका लागि प्राचीन राजकुलो प्रणालीलाई पुनर्जीवित गर्ने कार्यमा अध्ययन गरिनुपर्छ भन्ने मलाई लागेको छ । ललितपुर उद्योग वाणिज्य संघ र अरू व्यावसायिक संगठनहरुसँग मिलेर युवाहरुलाई एआई, सामाजिक सञ्जालमार्फत व्यापार, आफ्नो व्यवसायको ब्रान्डिङ गर्न तालिम दिनेछौं, यसले उनीहरुलाई आफ्नो व्यापार व्यवसायलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्नेछ । हामी युवालाई वस्तु र सेवाभन्दा अनुभव बेच्ने सोच, सीप र आत्मविश्वास विकास गर्न प्रशिक्षण र प्रेरणा दिन्छौं ।

पर्यटकलाई प्राचीन कलाले मात्र तान्दैन, त्यहाँ जाने, बस्ने, खाने आदि सुविधा पनि आवश्यक हुन्छ । उचित पूर्वाधार र वातावरणबिना पर्यटकको आगमन हुन्न । स्थानीय जनताको सुविधाका लागि पनि पूर्वाधार र वातावरणमा ध्यान दिनैपर्छ । बाँडेगाउँ, ठेचो र बुङमतीजस्ता क्षेत्रलाई विद्युतीय बससेवामार्फत जोड्नु आवश्यक देखेको छु । नांगा तार र अव्यवस्थित पोलहरुलाई अन्डरग्राउन्ड केबलिङमार्फत व्यवस्थित गर्न पहल गर्नेछु । नख्खु, कर्मनाशा, वागमतीलाई बचाउन र ढल व्यवस्थापनका लागि बाइपास टनेल प्रविधिको अध्ययन गरी नदी सभ्यतालाई स्वच्छ बनाउन पहल गर्नेछु । पानी मात्र होइन, स्वच्छ तथा नियमित खानेपानी मेरो संकल्प हुनेछ ।

ललितपुरलाई व्यवस्थित गर्न मेयर चिरिबाबु महर्जनले उदाहरणीय काम गर्नुभएको छ । स्थानीय सेवा प्रदायक निकायहरुलाई व्यवस्थित गर्न र सेवाग्राहीलाई प्रभाकारी सेवा दिलाउन उहाँको भिजन अनुकरणीय छ । यी निकायका सेवालाई अझ प्रभावकारी बनाउन मेरो पनि भूमिका रहने छ । गुणस्तरीय पर्यटक भित्र्याउन होमस्टेको व्यवस्था आवश्यक छ । यसका लागि स्थानीय नागरिकलाई तालिम दिलाउने छु, पूर्वाधारका लागि सहजीकरण गर्नेछु । पाटनका जात्रा र संस्कृतिको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरको मेला वार्षिक रूपमा आयोजना गर्नुपर्छ ।

स्थानीय जनताका लागि पाटन अस्पताल लगायत सरकारी, अर्धसरकारी अस्पतालको सेवालाई थप गुणस्तारीय र छुट तथा सहुलियत सेवाका रूपमा लैजान आवश्यक पहल गर्नेछु । पाटन औद्योगिक क्षेत्र, उद्योग वाणिज्य संघ आदिको सहकार्यमा सेवा क्षेत्र विस्तार तथा रोजगारीका लागि पहल गर्नेछु । स्थानीय क्लब तथा खेलाडीहरूको क्षमता विस्तार र विकास गरी ललितपुरलाई खेलकुद हबका रूपमा अगाडि बढाउने छु ।

स्थानीय क्षेत्रका सार्वजनिक जमिन, जंगल र जल क्षेत्रको संरक्षण एवं सम्वद्र्धनका लागि क्रियाशील रहने छु । सम्पदा र सार्वजनिक स्थलहरूको संरक्षणको नेतृत्व र जिम्मेवारी स्थानीय गुठी तथा समुदायहरूलाई प्रदान गर्नका लागि पहल गर्ने छु । बुङ्गमती र खोकनालाई कला, संस्कृति र सम्पदाको शहर बनाउन दृढ संकल्पित छु । स्थानीय क्षेत्र भैंसेपाटी, चुनदेवी क्षेत्रमा कान्ति लोकपथको विस्तारले पारेको समस्यालाई समाधान गर्न स्थानीय जनताको पक्षमा दृढताका साथ उभिने र सो राजमार्ग छिटो सम्पन्न गराउन भूमिका खेल्ने छु । रातो मच्छिन्द्रनाथका नामले पसिद्ध बुंगद्योको जात्रा र रथयात्रालाई व्यवस्थित बनाउन प्रतिबद्ध छु ।

कार्यविनायक गणेश, रुद्रायणी, शिकारी परिसर, भृंगारेश्वर महादेव, नवदुर्गा भवानी, हरिसिद्धी भवानी, श्वेतवाराही, बटुक भैरव, पुल्चोक स्तुपा, उमा महेश्वर, पञ्चेश्वर, महालक्ष्मी परिसर, पूर्णचण्डी, मच्छिन्द्रबहाल लगायत क्षेत्रका संस्कृति र सम्पदाको विकास र प्रवद्र्धन तथा नेपाल भाषा र नेपाल लिपि संरक्षणमा विशेष पहल गर्ने छु ।

तपाईंले ललितपुरमा जात्रा र संस्कृतिको विकासका लागि अन्तर्राष्ट्रिय उत्सवको सोच बनाउनुभएको रहेछ । यो कस्तो हुन्छ, कसरी आयोजना गर्ने प्रकाश पारिदिनुस् न ।

यलः महोत्सव ‘ललितपुर महोत्सव’ यस क्षेत्रको विकासका लागि मात्र होइन, नेपालकै पहिचानका लागि पनि आवश्यक छ । २०६९ सालको फागुन २२ मा एकचोटी ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य संघ, ज्यापु समाज तथा अरू विभिन्न संघ–संस्थाहरु मिलेर ललितपुर महोत्सव आयोजना गरिएको थियो । तर, बजेटको अभावमा यसलाई निरन्तरता दिन सकिएन ।

पाटन हस्तकला, मूर्तिकला आदिका लागि संसारभर प्रसिद्ध हुनुमा हिजो यस्ता मेलाहरुको आयोजनाले ठूलो भूमिका खेलेको थियो । पर्यटकहरु आउँथे, कलाका पारखी विदेशी पाहुनाहरुले घर फर्केर आ–आफ्नो मुलुकमा प्रचार गर्थे, आ–आफ्नो अनुभव सुनाउँथे । नेपालको ख्याति बढ्थ्यो । हस्तकला, मूर्तिकला उद्योगको विकासमा सघाउ पुग्थ्यो, स्थानीय नागरिक व्यापारीहरु पनि लाभान्वित हुन्थे । स्थानीय व्यवसायी र कलाकर्मीहरु ललितपुर महोत्सव होस् भनिरहेका छन् । उनीहरुकै सल्लाह र अवधारणामा रहेर ललितपुर महोत्सवलाई पुनः निरन्तरता दिने मेरो विचार छ ।

अन्त्यमा केही भन्नु छ कि ?
संघीय लोकतान्त्रिक व्यवस्था संसारकै परिस्कृत शासन प्रणाली हो । मुलुकको उन्नतिका लागि यस व्यवस्थालाई बलियो बनाउनु आवश्यक छ । जति नै क्षमतावान भए पनि एक जना सांसद एक्लै संसद्मा गएर केही गर्न सक्दैन । त्यसैले मतदाताहरुले पुरानो र जन–जनमा भिजेको लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई नै जिताउनुपर्छ । सभापति गगन थापाको नेतृत्व पछिल्लो जेनजी आन्दोलनको भावना अनुकूल पनि छ ।

हामी कसैले भावनामा बग्नु हुन्न, यथार्थवादी बन्नुपर्छ । देश बनाउने जस्तो महत्वपूर्ण र गम्भीर जिम्मेवारी स्वच्छ छवि र दुरदृष्टि भएको अनुभवी नेतृत्व र दललाई नै दिनुपर्छ । राजनीतिक दल चाहिन्छ तर दलीय स्वार्थका कारण मुलुकलाई प्रतिकूल प्रभाव पर्नुहुन्न । परेका बेला दलीय स्वार्थभन्दा माथि उठ्ने हिम्मत हामी पुराना दलका उम्मेदवारहरुमा हुनुपर्छ । त्यसैले आदरणीय मतदाताहरु, यहाँहरु भावनामा नबहकिनुहोला । यस मुलुकलाई पञ्चायती एकदलीयता र केन्द्रीयता अनि राजतन्त्रको सामन्ती चंगुलबाट तपाईंलाई मुक्त गर्ने नेपाली कांग्रेसजस्ता पुराना दलका उम्मेदवार जो समयसापेक्ष परिवर्तित भएर आएका छन्, उनीहरुलाई नै भोट दिनुहोला । यही नै समयको माग पनि हो ।

– युवालाई वस्तु र सेवाभन्दा अनुभव बेच्ने सोच, सीप र आत्मविश्वास विकास गर्न प्रशिक्षण र प्रेरणा दिन्छु ।
– स्थानीय कर्मचारी, पेशा व्यवसायी, शिक्षक, प्राध्यापक आदिको बौद्धिक क्षमता र पुँजीलाई मानवीय स्रोतका रूपमा सम्मान र उपयोग गर्दै स्थानीय आवश्यकताको पहिचान र समाधानमा जोड दिनेछु ।
– सांसदका रूपमा नीतिगत निर्णयका लागि सल्लाह लिन स्थानीय युवा विज्ञहरूको एक ‘स्याडो काउन्सिल’का रूपमा ललितपुर युथ काउन्सिल गठन गर्नेछु ।
-सरकारी सेवामा ढिलासुस्ती र भ्रष्टाचार रोक्न पेपरलेस एड्मिनिस्ट्रेसन र ओपेन डाटा पोलिसीका लागि नीतिगत पैरवी गर्नेछु ।
– एकीकृत उपत्यका विकास प्राधिकरणमार्फत काठमाडौं उपत्यकाको खानेपानी, ढल, र यातायातलाई एकै संयन्त्रबाट सञ्चालन गर्न एकीकृत उपत्यका व्यवस्थापन ऐनका लागि आवश्यक पहल गर्नेछु ।
– सार्वजनिक भवनहरुलाई ‘को–वर्किङ स्पेस’मा रूपान्तरण गरी साना व्यवसायबाट आफ्नो सिर्जना देखाउन चाहने अर्थात् ‘स्टार्ट अप’हरुलाई उच्च गतिको इन्टरनेट र निर्बाध बिजुली उपलव्ध गराउन पहल गर्नेछु ।
– सामुदायिक विद्यालय र केन्द्रहरूमा एआई ल्याब स्थापना गरी युवाहरुलाई कोडिङ र डाटा साइन्समा दक्ष बनाउने कार्यक्रम सञ्चालन गर्नेछु ।
– भैंसेपाटी, चुनदेवी क्षेत्रमा कान्ति लोकपथको विस्तारले पारेको समस्यालाई समाधान गर्न स्थानीय जनताको पक्षमा दृढताका साथ उभिने र सो राजमार्ग छिटो सम्पन्न गराउन भूमिका खेल्ने छु ।
– आम नागरिकका लागि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ, सबै नागरिकले रुचि अनुसार पढ्न र आवश्यकता अनुसार स्वाथ्योपचार गर्न पाउनुपर्छ ।