काठमाडौं ।
काठमाडौंको निर्वाचन क्षेत्र नं ५ मा चुनावी अभियान उत्कर्षमा पुगिरहेको देखिन्छ । यहाँका उम्मेदवारहरू चुनावी गणितलाई आफ्नो पक्षमा पार्न घरदैलो अभियान गर्दै जनताको मत जित्ने अन्तिम प्रयासमा छन् ।
यो क्षेत्र कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल र राप्रपा नेता कमल थापाका कारण पनि चर्चामा छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सस्मित पोखरेल, नेकपाबाट कल्पना शर्मा तथा स्वतन्त्र उम्मेदवार नायिका निशा अधिकारी पनि चुनावी दौडधुपमा हुनुहुन्छ । यहाँ प्रमुख प्रतिस्पर्धा भने कांग्रेसका पौडेल, एमालेका पोखरेल र रास्वपाका सस्मितबीचमा नै हुने स्थानीयको भनाइ छ । यस क्षेत्रमा कांग्रेसले पौडेललाई दोस्रो पटक दोहो¥याएर उम्मेदवार बनाएको छ ।
पौडेल २०७९ सालमा चुनाव जितेर गएपछि प्रतिबद्धताअनुसार काम नगरेको भन्दै स्थानीय मतदाताहरू केही बेखुसी देखिएका छन् । त्यसैले पनि यसपटक मतदाताहरूले आफूलाई भोट हालेर न्याय गर्ने एमालेका पोखरेलको आशा छ । यस क्षेत्रमा कांग्रेसका पौडेल र एमालेका पोखरेलबीच नै बढी टक्कर देखिएको छ ।
काठमाडौं क्षेत्र नं ५ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर २, ३, ४ र ५ रहेका छन् भने बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ७ रहेका छन् । त्यस्तै, टोखा नगरपालिकाको २, ३, ४, ५, ६ र ७ नम्बर वडा रहेका छन् । यस क्षेत्रमा जम्मा मतदाताको संख्या ७८ हजार ११४ रहेको छ । जसअनुसार महिला मतदाता ४० हजार ८ सय ३२ र पुरुष मतदाता ३७ हजार २ सय ७८ रहेका छन् ।
कांग्रेस महामन्त्री पौडेलले आफूले यो क्षेत्रबाट जितेर वाचा गरेअनुसार काम गरेकाले फेरि पनि जनताले आफ्नो जित हुने दाबी गर्नुभयो । पौडेललाई टक्कर दिनुभएका एमालेका वरिष्ठ नेता पोखरेलले क्षेत्र नं ५ को विकास र समृद्धिमा आफू निरन्तर खट्दै आएकाले यहाँका जनताले यसपटक आफूलाई न्याय गर्ने बताउनुभयो ।
२०७९ को आम निर्वाचनमा कांग्रेसका पौडेलले १५ हजार २ सय ६९ मत प्राप्त गर्दै जित हासिल गर्नुभएको थियो भने एमाले नेता पोखरेलले १० हजार १ सय ९० मत प्राप्त गरी दोस्रो स्थान प्राप्त गर्नुभएको थियो । त्यस्तै, यस क्षेत्रबाट गत निर्वाचनमा रास्वपाका डा. प्रणयशमशेर राणाले ५ हजार ४ सय ७७ मत प्राप्त गर्नुभएको थियो भने राप्रपाका रामप्रसाद उप्रेतीले ३ हजार १ सय ६२ मत प्राप्त गर्नुभएको थियो ।
सो निर्वाचनमा यस क्षेत्रबाट समानुपातिकतर्फ रास्वपाले ११ हजार ६ सय ४७ मत प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले १० हजार ४३ मत प्राप्त गरेको थियो । त्यस्तै, एमालेले ९ हजार ६ सय ५२ मत प्राप्त गरेको थियो भने राप्रपाले ७ हजार २ सय १ मत प्राप्त गरेको थियो ।
मतदाता कति ?
क्षेत्र नं ५ मा जम्मा मतदाता ः ७८ हजार ११४
महिला मतदाता ः ४० हजार ८ सय ३२
पुरुष मतदाता ः ३७ हजार २ सय ७८











प्रतिक्रिया