काठमाडौं ।
राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे थप अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले पूर्व न्यायाधीश तथा उक्त घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिका संयोजक गौरीबहादुर कार्कीमाथि समेत अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको छ ।
आयोगका अनुसार आन्दोलनअघि, आन्दोलनका क्रममा तथा त्यसपछिका अभिव्यक्तिहरूका कारण प्रदर्शनकारीहरू उत्तेजित वा आक्रोशित भएका हुन् वा होइनन् भन्ने विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने देखिएको छ । आयोगले सामाजिक सञ्जालमा व्यक्त गरिएका धारणा, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको प्रतिवेदनका आधारमा केही व्यक्तिको भूमिकाबारे प्रश्न उठेको जनाएको छ ।
आयोगको प्रतिवेदनको सिफारिस खण्ड–१० मा विभिन्न अभियन्ता, समर्थक तथा सार्वजनिक व्यक्तिहरूको नाम उल्लेख गर्दै उनीहरूको संलग्नता रहे–नरहेको यकिन गर्न अनुसन्धान गर्न भनिएको छ । उक्त सूचीमा गौरीबहादुर कार्कीसहित गणेश कार्की, सुलभ खरेल, डा. तोषिमा कार्की, सिसन बानियाँ, निश्चल बस्नेत, सुशिला कार्की, दुर्गा प्रसाईं, हिमानी राज्यलक्ष्मी सिंहलगायतका नाम समावेश छन् ।
आयोगले सार्वजनिक शान्ति तथा सुव्यवस्थामा असर पुग्ने गतिविधिमा उनीहरूको कुनै भूमिका थियो वा थिएन भन्ने विषयमा निष्पक्ष अनुसन्धान गरी सम्बन्धित व्यक्तिको स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ । साथै, घटनामा मानवीय तथा भौतिक क्षतिमा कसको कस्तो संलग्नता थियो भन्नेबारे पनि स्पष्ट छानबिन गर्न सरकारलाई आग्रह गरिएको छ ।











प्रतिक्रिया