काठमाडौँ
राउड टेबल नेपाल ‘एजुकेट अ चाइल्ड (ईएसी)’ परियोजनाअन्तर्गत एक हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । परियोजनाको १०औँ वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै संस्थाले विद्यार्थीहरूलाई शैक्षिक सहयोग उपलब्ध गराएको हो ।
राउण्ड टेबल नेपालले जेठ ८ गते काठमाडौं, धरान, बुटवल, विराटनगर, भैरहवा, वीरगन्ज, धनगढी, नारायणघाट, हेटौंडा, जनकपुर तथा नेपालगन्जसहित ११ शहरमा एकसाथ कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रममा परोपकारी, समाजसेवी तथा उद्योगी राजेन्द्र खेतान प्रमुख अतिथिका रूपमा सहभागी थिए भने डा. बुद्धि मल्ल विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए ।
विपन्न तथा आवश्यकतामा रहेका बालबालिकालाई शिक्षामार्फत सहयोग गर्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा सदस्य तथा स्वयंसेवकहरूले एक हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका थिए । छात्रवृत्तिसँगै विद्यार्थीहरूलाई स्टेशनरी सामग्री, खाना, खाजा तथा आइसक्रिम वितरण गरिएको थियो । साथै आँखा परीक्षण शिविर, दन्त परीक्षण शिविर र मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको संस्थाले जनाएको छ ।
संस्थाका अनुसार ‘एजुकेट अ चाइल्ड’ परियोजना विगत एक दशकदेखि राउण्ड टेबल नेपालको प्रभावकारी सामाजिक अभियानमध्ये एकका रूपमा स्थापित भएको छ । यस परियोजनामार्फत बालबालिकालाई गुणस्तरीय शिक्षा र आवश्यक सिकाइ सामग्रीमा पहुँच विस्तार गर्न सहयोग पुगेको बताइएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका प्रतिनिधिहरूले परियोजनाको सफलतामा योगदान पु¥याउने स्वयंसेवक, दाता, समर्थक तथा साझेदार संस्थाप्रति आभार व्यक्त गरेका थिए । उनीहरूले आगामी दिनमा पनि देशभरका बालबालिकाका लागि शैक्षिक अवसर विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विद्यार्थीसँग अन्तरक्रिया, सामुदायिक सहभागिता तथा शैक्षिक सामग्री वितरणलगायत गतिविधिले वार्षिकोत्सव कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । संस्थाले विगत दशकदेखि सामाजिक उत्तरदायित्व र सेवामूलक कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।











प्रतिक्रिया