काठमाडौं ।
आफू बहाल रहेको नगर र वडामा चुनाव प्रचारमा खटिने स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिँदै निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न सचेत गराएको छ ।
आ–आफ्नो दलका उम्मेदवारहरूको पक्षमा चुनावी माहोल बनाउन महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका पदाधिकारी तथा कार्यपालिका सदस्यहरू चुनाव प्रचारमा सक्रिय भइरहेकोप्रति लक्षित गरी आयोगले सो निर्देशन दिएको हो ।
स्थानीय तहका केही जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिताविपरीत हुने गरी राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो आएकोको भन्दै आयोगले सो विषयमा ध्यानाकर्षण गराएको आयोगले प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराउनुभयो ।
निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क) को प्रतिबन्धात्मक वाक्यांशको बुँदा नम्बर ४ मा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको छ । आयोगले निर्वाचन आचारसंहिता पालना गर्नु स्थानीय तहका जनप्रतिनिधिहरूको पनि दायित्व रहेको स्मरण गर्दै सो निर्देशन दिइएको आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो ।
ऐनको सोही दफाको खण्ड (ख) ले त्यसरी निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने भन्ने व्यवस्था गरेको हुँदा कुनै पनि स्थानीय कार्यपालिकाका पदाधिकारीले यस व्यवस्थाको अधीनमा रही मात्र निर्वाचन प्रचारप्रसारमा सहभागी हुन सक्ने भनिएको छ । अतः निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन सचेत गराएका छौं ।’ प्रवक्ता भट्टराईले भन्नुभयो ।
सबै स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पदको मर्यादा, तटस्थता तथा कानुनी दायित्वलाई मनन गर्दै आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार गतिविधिमा संलग्न नहुन आयोग निर्देशन दिएको पनि आयोगले जनाएको छ ।
कुनै स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता, २०८२ प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने ब्यहोरा अवगत गराइने पनि आयोगले जनाएको छ ।
जनप्रतिनिधिहरू आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसार खटिएको सम्बन्धमा अनुगमन गर्न जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालयबाट आवश्यक अनुगमन गर्न पनि आग्रह गरेको छ ।
यसैबीच आयोग शैक्षिक संस्थामा आबद्ध प्रधानाध्यापक शिक्षक तथा कर्मचारीलाई निर्वाचन र प्रचारमा सहभागी नहुन निर्देशन दिएको छ ।
काठमाडौंमा सुरक्षा व्यवस्था कडा, ५ हजार कर्मचारी फिल्डमा
आचारसंहिता उल्लंघन गर्नेमाथि कडा कारबाही गरिने
देशभरमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंमा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्त वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था सुदृढ र कडा परिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलले सोमवार जिल्लाका प्रमुख दलका प्रतिनिधिहरू तथा उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल गर्दै काठमाडांै जिल्लाभरमा सुरक्षा व्यवस्था सुदृढ र मजबुत पारिएकाले निर्धक्कका साथ बढीभन्दा बढी मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले अझै पनि निर्वाचन हुँदैन कि भनेर कसैले हल्ला फैलाउन खोजे त्यस्ता तत्वमाथि समेत कडा कारबाही गरिने चेतावनी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले प्रमुख दल र तिनका उम्मेदवारका प्रतिनिधिहरूलाई चुनाव प्रचार प्रसारका क्रममा आचारसंहिताको पूर्ण पालना गर्नसमेत आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले काठमाडौंमा निर्वाचन सम्पन्न गराउन ५ हजार कर्मचारीलाई फिल्डमा खटाइसकिएको जानकारी दिनुभयो ।
उहाँले शान्ति सुरक्षा भंग गर्न खोज्ने जोसुकैमाथि समेत काठमाडांै प्रशासन आक्रामक रूपमा प्रस्तुत हुने बताउनुभयो । कार्यक्रममा कांग्रेस, एमाले, नेकपा, रास्वपा, उज्यालो नेपाल पार्टी, राप्रपालगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सुरक्षा व्यवस्था अझै सुदृढ बनाउन, आचारसंहिता पालना भए नभएको बारेमा प्रभावकारी अनुगमन गर्न आग्रह गर्दै निर्वाचन सफल बनाउन आफूहरूको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।
सो कार्यक्रममा काठमाडौंका प्रमुख निर्वाचन अधिकृत तथा जिल्लाका १ नम्बर न्यायाधीश चुरामान खड्काले २१ फागुनको निर्वाचनका बारेमा फैलाइएका सबैखाले हल्लाहरू निराधार भएको र निर्वाचन तोकिएकै मितिमा हुने भएकाले सबै दललाई निर्धक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । सो छलफल कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।











प्रतिक्रिया