काठमाडौं ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप यस वर्षदेखि औपचारिक रूपमा नियमित खोप कार्यक्रमअन्तर्गत समावेश गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्ष सञ्चालन गरेको राष्ट्रिय खोप अभियानपछि एचपीभी खोपलाई दीर्घकालीन कार्यक्रमका रूपमा अघि बढाएको हो ।
गत वर्ष सरकारले अभियानकै रूपमा एचपीभी खोप सञ्चालन गरी देशभर करिब १७ लाख बालिकालाई खोप दिएको थियो । उक्त अभियानलाई नेपालकै सार्वजनिक स्वास्थ्य इतिहासमा किशोरी लक्षित सबैभन्दा ठूलो खोप कार्यक्रमका रूपमा लिइन्छ । अभियान सफल भएपछि मन्त्रालयले जारी गरेको निर्देशिकामार्फत एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्दै हरेक वर्षको फागुन महिनालाई ‘एचपीभी खोप महिना’ तोकेको थियो ।
तर यस वर्ष खोप कार्यक्रम फागुनमात्रै सीमित नहुने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल तथा खोप शाखाले स्थानीय तथा प्रदेश तहलाई माघ र फागुन दुवै महिनामा खोप सञ्चालन गर्न स्वतन्त्रता दिएको छ । खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार यस वर्ष फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तय भएकाले यस्तो व्यवस्था गरिएको हो ।
‘यसपटक धेरै मतदान केन्द्र विद्यालयमै छन् । एचपीभी खोप पनि विद्यालयमै गएर दिनुपर्ने भएकाले निर्वाचनसँग नजुध्ने गरी माघदेखि फागुन महिनाभर खोप सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको हो’ – उहाँले भन्नुभयो ।
यस वर्षको नियमित खोप कार्यक्रमअन्तर्गत विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर पूरा गरेका बालिका लक्षित छन् । विभागको अनुमानअनुसार यसपटक करिब साढे ३ लाख बालिकाले एचपीभी खोप लिनेछन् ।











प्रतिक्रिया