काठमाडौं ।
डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि राहुल विश्वकर्माले जितेका छन् । राहुलले दोस्रो तथा अन्तिम राउन्डमा ४–अन्डर ६६ को उत्कृष्ट कार्डकासाथ समग्रमा २–अन्डर १ सय ३८ स्कोर गरे ।
उनले प्रकृत तामाङ र सुन्दर राईलाई ९ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधि आफ्नो नाममा लेखाएका हुन् । उपाधिसहित राहुलले नगद ५० हजार प्राप्त गरे । नेपाली एमेच्योर गल्फरले कुनैपनि प्रतियोगितामा नगद पुरस्कार प्राप्त गरेको यो पहिलो पटक हो । यसअनुसार राहुल नगद पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली गल्फरसमेत बने । यसअघि उनले केही प्रोफेसनल उपाधि जितेपनि एमेच्योर भएको हुँदा नगद पुरस्कार भने पाएका थिएनन् ।
प्रकृत र सुन्दर राईले समग्रमा ७–ओभर १ सय ४७ को नतिजा निकाले । काउन्ट ब्याकमा प्रकृत दोस्रो भएका हुन् । प्रकृतले ३–अन्डर ६७ को स्कोर बनाए । उनले ३० हजार प्राप्त गरे। तेस्रो भएका सुन्दरले ४–ओभर ७४ को प्रदर्शन गरे। उनले २४ हजार प्राप्त गरे।
राम तामाङले ३–ओभर ७३ खेलेर कुल ८–ओभर १४८ सहित चौथो स्थान हासिल गर्दै २० हजार रुपैयाँ प्राप्त गरे । राजेश राईले ४–ओभर ७४ खेलेर १४९ स्कोरसहित पाँचौँ भएर १६ हजार नगद पुरस्कार पाए ।
सुमन भुजेल (७३), गजेन्द्र लिम्बु (७७) र पदम हाङ लिम्बु (७५) ले समान १ सय ५१ स्कोर गरे। काउन्ट ब्याकमा सुमन छैटौं, गजेन्द्र सातौं र पदम आठौं भए । उनीहरूले क्रमश १४ हजार, १३ हजार र १२ हजार पाए ।
दीपेन्द्र राई (७४) र देउ कुमार राई (७६) ले समान १२–ओभर १ सय ५२ स्कोर गरेसँगै काउन्ट ब्याकमा नवौ र दशौं भए । उनीहरूले क्रमश ११ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
बेलायतमा रहेका धरानका गल्फर देउकुमार राई र दीपेन्द्र राईको प्रायोजनमा आयोजित ३६ होलको प्रतियोगितामा कुल ३८ खेलाडीले सहभागिता रहेको थियो । यो प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको थियो ।
सह–प्रायोजक राईले कम्तीमा पाँच वर्षसम्म प्रतियोगिता निरन्तर गर्ने बताए । उनले आगामी संस्करणमा पुरस्कार राशि बढाइने र विजेताले कम्तीमा ८० हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिए ।











प्रतिक्रिया