अध्यादेश विवादमा विपक्षी दलको बैठक आज


काठमाडौं ।

सरकारले संसद् स्थगित गरेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरूले आज संयुक्त बैठक बोलाएका छन्। प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित कार्यालयमा मध्याह्न १२ बजे बैठक आह्वान गरेका हुन्।

बैठकमा नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरू सहभागी हुनेछन्। बैठकमा सरकारको कदमको विरोध तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

सरकारले मन्त्रिपरिषद् बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेपछि र राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएपछि यो विषय सार्वजनिक भएको हो। विपक्षी दलहरूले यस कदमलाई अलोकतान्त्रिक र संसद्को अपमान भन्दै कडा विरोध जनाएका छन्।