पोखरा–जोमसोम हवाई सेवा स्थगित, चार्टर उडान भने जारी


मुस्ताङ ।

पोखरा–जोमसोम रुटमा सञ्चालन हुँदै आएको नियमित हवाई सेवा स्थगित भएको छ। पर्यटकीय याम नसकिँदै तारा एयर र समिट एयरले नियमित उडान बन्द गरेका हुन्।

जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरले अघिल्लो सातादेखि र समिट एयरले सोमबारदेखि नियमित उडान रोकेका छन्।

जहाज मर्मतसम्भार र यात्रु अभावका कारण उडान स्थगित गर्नुपरेको जनाइएको छ। बाढीपहिरोका कारण सडकमार्ग अवरुद्ध हुने घटनापछि यात्रुहरूले हवाई टिकट बुकिङ रद्द गर्न थालेको समिट एयरका स्टेशन इञ्चार्ज सुमन थकालीले बताए।

नियमित उडान बन्द भए पनि चार्टर उडान भने सञ्चालनमा रहनेछ। दुवै कम्पनीले यस रुटमा वार्षिक एक हजार २०० भन्दा बढी नियमित उडान गर्दै आएका थिए।