‘ब्रान्ड नेपाल’लाई नारामा सीमित नगर्न परराष्ट्र सचिव राईको आग्रह


काठमाडौं

नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने प्रयासलाई हिमाल, बुद्ध र पर्यटनमा मात्र सीमित नगरी शान्ति स्थापना, सामुदायिक वन, जलवायु ज्ञान, नवप्रवर्तन, सिर्जनशील उद्योग र नेपाली डायस्पोरासम्म विस्तार गर्नुपर्नेमा परराष्ट्र सचिव अमृत बहादुर राईले जोड दिएका छन्।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले आयोजना गरेको ‘ब्रान्ड नेपाल : प्रोटेक्टिङ आइडेन्टिटी, प्रोजेक्टिङ इन्फ्लुएन्स एन्ड क्रिएटिङ स्ट्राटेजिक अपर्चुनिटिज’ तीनदिने अन्तरक्रिया तथा कार्यशालाको समापन समारोहमा बुधबार सचिव राईले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई बहुआयामिक बनाउनुपर्ने बताएका हुन्।

नेपालको पहिचानसँग सगरमाथा, हिमालय, लुम्बिनी, सांस्कृतिक विविधता र आतिथ्य जोडिँदै आए पनि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानमा नेपालको योगदान, सामुदायिक वन व्यवस्थापन, परम्परागत तथा हिमाली ज्ञान, सिर्जनशील उद्योग र युवा पुस्ताको नवप्रवर्तनलगायतका पक्षलाई अन्तर्राष्ट्रिय रूपमा पर्याप्त रूपमा प्रस्तुत गर्न नसकिएको उनले बताए। ‘हाम्रो उद्देश्य एउटा साँघुरो कथालाई अर्को साँघुरो कथाले प्रतिस्थापन गर्नु होइन,’ रायले भने, ‘विभिन्न श्रोतावर्गका लागि विश्वसनीय, प्रामाणिक र बलियो राष्ट्रिय पहिचान निर्माण गर्नु हो।’

उनले ‘ब्रान्ड नेपाल’लाई पर्यटन प्रवर्द्धनको विषयमा मात्र सीमित गर्न नहुने बताए। आर्थिक कूटनीति, व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति, प्रविधि, जलवायु कूटनीति तथा विदेशमा रहेका नेपालीको हितसमेत नेपालको अन्तर्राष्ट्रिय पहिचानसँग जोडिने उल्लेख गर्दै उनले भने- ‘नेपालको सफ्ट पावर प्रवर्द्धनलाई विदेश नीतिको महत्वपूर्ण पक्षका रूपमा अघि बढाउनुपर्छ। संस्कृति, ज्ञान, शिक्षा, प्रविधि र सार्वजनिक कूटनीतिलाई प्रभावकारी रूपमा उपयोग गर्न सके नेपालले सीमित आर्थिक तथा सामरिक क्षमताबीच पनि आफ्नो अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्न सक्छ।’

परराष्ट्र मन्त्रालयमा गत वर्ष स्थापना गरिएको सार्वजनिक कूटनीति महाशाखाले नेपालको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा सभ्यतागत सम्पदालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष व्यवस्थित रूपमा प्रस्तुत गर्ने आधार तयार गरेको पनि परराष्ट्र सचिव राईले बताए। कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नयाँ प्रविधिको विस्तारसँगै सार्वजनिक कूटनीतिमा प्रभावकारी समन्वय, स्पष्ट उद्देश्य र पर्याप्त स्रोत आवश्यक रहेको जिकिर गर्दै उनले नेपाली दूतावास तथा नियोगलाई सम्बन्ध निर्माण, अवसर पहिचान र नेपालको पहिचान तथा प्राथमिकता प्रवर्द्धन गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिए। ब्रान्ड नेपाल परराष्ट्र मन्त्रालय एक्लैले बनाउन नसक्ने भन्दै उनले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, सञ्चारमाध्यम, सांस्कृतिक संस्था र नागरिक समाजको साझा प्रयास आवश्यक रहेकोमा जोड दिए।

असोज १२ देखि १४ गतेसम्म सञ्चालित कार्यक्रममा नेपालको अन्तर्राष्ट्रिय छवि, सार्वजनिक कूटनीति, सौम्य शक्ति, नेपाली डायस्पोरा, पर्यटन, लगानी तथा नेपालको पहिचान निर्माणका विभिन्न पक्षमा छलफल भएको थियो। आईएफएका कार्यकारी निर्देशक रोजिना ताम्राकारले नेपालको सबल पक्ष पहिचान गर्ने मात्र नभई त्यसलाई प्रमाणित गर्ने, प्रचार मात्र नभई परिणाम देखाउने र व्यक्तिगत प्रयासलाई दीर्घकालीन राष्ट्रिय अभियानमा रूपान्तरण गर्नुपर्ने आवश्यकतालाई मनन् गर्दै आईएफएले तीन दिने ‘ब्रान्ड नेपाल’ कार्यक्रम सञ्चालन गरेको बताइन्। उनले ‘ब्रान्ड नेपाल’सम्बन्धी बहसलाई एकपटकको प्रचार अभियानमा सीमित नगरी दीर्घकालीन राष्ट्रिय रणनीतिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्। 

कार्यक्रममा सांसद सुम्निमा उदास तथा नेपालस्थित फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफईएस) की रेसिडेन्ट रिप्रिजेन्टेटिभ सारा क्लाउस्नर लगायत विभिन्न क्षेत्रका विज्ञ, कूटनीतिज्ञ, सरकारी अधिकारी, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता थियो।