म्यानमारको राखाइनमा हवाई आक्रमणमा ज्यान गुमाउनेको संख्या ४९ पुग्यो, २२ जनाको अवस्था गम्भीर


काठमाडौं।

म्यानमारको राखाइन राज्यस्थित क्याउक्टाव शहरमा भएको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

सेप्टेम्बर २८ मा भएको उक्त आक्रमणमा करिब ६० जना घाइते भएको अरकान आर्मी (एए) ले जनाएको छ। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

बीबीसी न्यूज बर्मीजका अनुसार स्थानीय स्रोतहरूले भग्नावशेषबाट शव निकाल्ने काम अझै जारी रहेको बताएका छन्। स्थानीय स्रोतको दाबीअनुसार मृतकको संख्या ५८ सम्म पुग्न सक्ने जनाइएको छ।

आक्रमण क्याउक्टावको किस्सापानाडी पुल क्षेत्र तथा भारतीय बजार आसपास गरिएको बताइएको छ।

अरकान आर्मीले घटनाको निन्दा गर्दै आक्रमणका लागि म्यानमारको सेनालाई जिम्मेवार ठहराएको छ। साथै उसले घटनाको बदला लिने चेतावनीसमेत दिएको छ।

यता, सेना समर्थक टेलिग्राम च्यानलहरूले आक्रमणमा मारिएकाहरू अरकान आर्मीका सदस्य रहेको दाबी गरेका छन्। यद्यपि, ती दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

राखाइन राज्यमा पछिल्ला महिनाहरूमा सर्वसाधारणलाई लक्षित गरी भएका आक्रमणमध्ये यो सबैभन्दा घातक घटनामध्ये एक भएको बताइएको छ।