यो परम्परा अहिले केवल चलिरहेको मात्र छैन, नयाँ पुस्तासँगै आफ्नो दायरा पनि क्रमशः बढ्दै गएको छ । पहिले एउटै व्यक्तिले एकभन्दा बढी दिन भैरव बन्ने अवस्था थियो । यसपटक सात दिनका लागि सात जना फरक–फरक भैरव तयार गरिएको छ ।

कुनै समय हल्चोक आकाश भैरवको नाचका लागि देवता बन्ने मान्छे भेट्टाउनु नै गुठियारका लागि चुनौती थियो । घरघर पुग्दा पनि इच्छुक नपाइने अवस्था थियो । अहिले कोही देवता बन्न तयार छन्, कोही गुठीको जिम्मेवारी सम्हाल्न ।
स्वयम्भु पछाडिको डाँडा नजिकैको एउटा परम्परागत बस्तीका गुठीयारहरूमध्येबाट देवता बन्ने व्यक्ति नपाएर खोज्न घरघर पुग्नुपर्ने स्थिति अहिले फेरिएको छ । पहिला मुस्किलले २५ जना गुठीमा आबद्ध हुनेमा अहिले त्यो संख्या बढेर १ सय नाघेको छ ।
२०७० सालदेखि यो नाचको अवस्था फेर्दै गएको छ । यो परम्परा अहिले केवल चलिरहेको मात्र छैन, नयाँ पुस्तासँगै आप्mनो दायरा पनि क्रमशः बढ्दै गएको छ । पहिले एउटै व्यक्तिले एकभन्दा बढी दिन भैरव बन्ने अवस्था थियो । यसपटक सात दिनका लागि सात जना फरक–फरक भैरव तयार गरिएको छ । चण्डी कुमारी पनि हरेक दिन फरक–फरक रहने व्यवस्था गरियो । यसरी २१ जनाको टोली तयार भयो । गुठी नाइके शेरबहादुर पुतुवारका लागि यही परिवर्तन जात्राको भविष्यसँग जोडिएको विषय हो ।
इन्द्रजात्रा केवल इन्द्रको मात्र जात्रा होइन । यो विभिन्न देवीदेवताको नाच र जात्राको सामूहिक जात्रा हो । हल्चोक आकाश भैरव त्यसमध्ये एक जात्रा हो । आकाश भैरव, चण्डी र कुमारीको मकुण्डो निकालिने यस हल्चोक आकाश भैरव नाचलाई नेपालभाषामा सवःभग्गु भन्ने गर्छन् । नेवाः समुदाय भित्र हल्चोकमा बसोबास गर्ने पुतुवार थरी समुदायले आकाश भैरव अथवा सवः भग्गु निकाल्ने गर्छन् । नाचहरूमा मुकुण्डो लगाएर, परम्परागत बाजाहरू र पोशाक लगाएर तान्त्रिक पद्धतिबाट नाच्ने गरिन्छ । श्री हल्चोक आकाश भैरवको जात्राको इतिहासको सम्बन्धमा ठोस प्रमाण नभए तापनि नेपाल संवत् १०७ ताका राजा गुणकामदेवले सुरु गरेको जनश्रुति भने छ ।
युवाको आकर्षण बढ्नुमा अहिले व्यवस्थापकीय सहजता रहेको गुठीयारहरू बताउँछन् । पहिले १२ वर्षे जात्रामा एक महिनासम्म काम छाडेर सहभागी हुनुपर्ने भएकाले आर्थिक भार समेत पथ्र्यो । उक्त गुठीको आफ्नै द्यःछे रहे पनि आयस्ताको कुनै स्रोत भने छैन । नाचका देवगणहरूको मुकुण्डो र पोशाकका लागि तीन वर्षमा एकपटक अर्थ मन्त्रालयअन्तर्गत कौशी तोषाखानाले सहयोग गरे पनि जात्रा सञ्चालनका लागि आउने रकम भने सधैं अपुग रहेको थियो । दश देवीसँगै डेढदेखि दुई सय जनासम्म सहभागी हुनुपर्ने अवस्था थियो । अहिले भने गुठीले सहभागी गुठियार र स्थानीयको एक महिनाको खर्च व्यवस्थापनमा समेत ध्यान दिन थालेको छ ।
युवापुस्ताको सहभागिता बढ्नुमा अर्को कारण गुठीले अवसरसँगै जिम्मेवारी फराकिलो बनाउनु मुख्य कारण रहेको गुठीयारहरू बताउँछन् । गुठीको नेतृत्वमा युवा पुस्ताको प्रवेशले पनि परिवर्तनलाई गति दिएको छ । सागर पुतुवारदेखि अहिले अर्जुन पुतुवार र शेरबहादुर पुतुवारसम्म अहिले गुठीका नाइकेमा युवापंक्ति नै बढी छन् । गुठीमा युवापुस्ताको सहभागितासँगै अवस्था फेरिँदै गएको हल्चोक आकाश भैरव गुठीका नाइके शेरबहादुर पुतुवारले बताउनुभयो । त्यस्तो स्रोत जुटाउन पनि सहज बनाएको उनीहरूको कथन रहेको छ ।
‘यही क्रममा हल्चोक आकाश भैरवका गुठीयारको सम्बन्ध काठमाडौंको भित्री सहरका भक्तजन तथा संस्कृतिप्रेमीसँग जोडिन क्रमले निरन्तरता पायो ।’ गुठीयारहरूका अनुसार यस सम्बन्ध विस्तारमा भक्तजन तथा संस्कृतिप्रेमीका रूपमा जोडिएका नृपेन्द्रलाल श्रेष्ठ र सुरेन्द्रभक्त श्रेष्ठको भूमिका महत्वपूर्ण रह्यो ।
नृपेन्द्रलाल २०६४ सालदेखि भक्तजन तथा संस्कृतिप्रेमीका रूपमा हल्चोक आकाश भैरवको जात्रामा जोडिनुभएको थियो । काठमाडौं महानगरपालिका – १७ निवासी नृपेन्द्रलाल श्रेष्ठकै माध्यमबाट सुरेन्द्रभक्त श्रेष्ठ २०७० सालको १२ वर्षे जात्राबाट सक्रिय हुनुभएको थियो ।
सञ्चार क्षेत्रमा समेत सक्रिय नृपेन्द्रलाल र सुरेन्द्रभक्तले निजी क्षेत्रबाट आर्थिक सहयोग जुटाउने, सरकारी सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने, प्रचार–प्रसार तथा पूजा–आजाको व्यवस्थापनमा सहजीकरण गर्ने काम अघि बढाउनुभयो । २०७० सालको १२ वर्षे जात्रामा ब्यानरमार्फत करिब ३ लाख र अर्थ मन्त्रालयको कौशी तोषाखाना कार्यालयबाट करिब चार लाख रुपियाँ जुटाउन सहजीकरण गर्नु त्यसैका उदाहरण भएको गुठीयारहरू स्मरण गर्छन् । पछिल्ला वर्षमा यही सम्बन्ध संस्थागत हुँदै वि.सं २०८२ सालको जात्रामा काठमाडौं महानगरपालिकाबाट उल्लेख्य सहयोग जुट्ने अवस्थासम्म पुगेको छ ।
‘हाम्रो भूमिका गुठीको धार्मिक विधि, आन्तरिक निर्णय वा परम्परागत अधिकारमा हस्तक्षेप गर्ने खालको होइन । बाह्य स्रोत, पहुँच र समन्वय उपलब्ध गराउने र जात्रालाई सांस्कृतिक समुदायसंग जोड्ने हो ।’ सञ्चारकर्मीसमेत रहेका नृपेन्द्रलाल श्रेष्ठले भन्नुभयो ।
त्यसअघि जात्रा सञ्चालनका लागि आवश्यक सहयोग जुटाउन गुठी आफैंले सीमित सम्पर्कका आधारमा पहल गर्नुपर्ने अवस्था थियो । २०७० सालमा १२ वर्षे जात्रा सञ्चालनका क्रममा तत्कालीन गुठीका अध्यक्ष सागर पुतुवार आर्थिक समस्यामा थिए । जात्रा सम्पन्न गर्न करिब चार–पाँच लाख रुपियाँ आवश्यक थियो, तर गुठीसँग पर्याप्त स्रोत थिएन । यही अवस्थामा बाहिरका भक्तजन तथा संस्कृतिप्रेमीको सम्बन्ध र पहुँच उपयोग हुन थालेको गुठी नाइके शेरबहादुरले बताउनुभयो ।
नृपेन्द्रलाल र सुरेन्द्रभक्तको भूमिका आर्थिक सहयोग जुटाउने मात्र होइन, विभिन्न ठाउँमा पूजा–आजाको समन्वय गर्ने, जात्रासम्बन्धी जानकारी पु¥याउने पनि गर्दै आउनुभएको छ । सम्बन्धित संस्था र सरकारी निकायसँग सम्पर्क गर्ने तथा भक्तजनको सहभागिता बढाउन गुठीयारसँगै नृपेन्द्र र सुरेन्द्र इन्द्रजात्राको सातदिन सँगसँगै घुम्ने गर्दै आउनुभएको छ ।
२०७२ सालको भूकम्पपछि नार्गाजुन नगरपालिकामा अवस्थित हल्चोक आकाश भैरवको द्यछें (गुठीघर) क्षति पुगेपछि पुनर्निर्माणको अर्को चुनौती थपियो । पुरातत्व विभागसँगको समन्वयमा करिब दुई वर्ष लगाएर पुनर्निर्माण गरिएको थियो । २०८२ सालको १२ वर्षे जात्रा वैशाख १ देखि २५ गतेसम्म सञ्चालन भयो । यसपटक काठमाडौं महानगरपालिकाबाट २५ लाख ४० हजार र नागार्जुन नगरपालिकाबाट करिब १२ लाख रुपियाँ सहयोग प्राप्त भएको गुठीयारहरू बताउँछन् ।
एक दशकअघि विभिन्न संघसंस्थाको ब्यानर राखेर र सरकारी कार्यालय धाएर स्रोत जुटाउनुपर्ने अवस्थाबाट स्थानीय तहको सहयोगसम्म आइपुग्नु जात्रा व्यवस्थापनमा आएको परिवर्तनको अर्को उदाहरण हो । तर आर्थिक र व्यवस्थापकीय सहजतामात्र होइन । हल्चोक आकाश भैरव जात्राको देखिने परिर्वतन पुस्तान्तरण पनि हो ।’ सुरेन्द्रभक्त श्रेष्ठले भन्नुभयो ।
हल्चोक आकाश भैरवको इन्द्रजात्रासँग गहिरो सांस्कृतिक सम्बन्ध रहेको छ । वसन्तपुरमा इन्द्रजात्रा सुरु हुनुअघि हल्चोक आकाश भैरव, कुमारी र गणेशसँग सम्बन्धित परम्परागत प्रक्रिया पूरा गर्ने चलन छ । हल्चोक आकाश भैरव रथ अगाडि पुगेपछि जात्रा शुरु गर्ने परम्परा रहेको छ । एकातिर गुठीभित्र नयाँ पुस्ता प्रवेश गरिरहेको छ । अर्कोतिर भक्तजन तथा संस्कृतिप्रेमीले जात्रालाई फराकिलो सांस्कृतिक वृत्तसँग जोडिरहेका छन् ।’ गुठी नाइके शेरबहादुरले भन्नुभयो ।











प्रतिक्रिया