मेरो साथी : नेपालबाट जापानले पनि सिक्ने सम्बन्धको कथा

376
Shares

सन् २०१५ अप्रिल २५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि जापानका विश्वविद्यालय विद्यार्थीहरूले नाडीमा लगाउने ब्यान्ड बनाएर वितरण गर्न थाले । त्यसमा नेपालीका दुई शब्द लेखिएका थिए– ‘मेरो साथी’ । उद्देश्य प्रभावित समुदायका लागि सहयोग जुटाउनु थियो । तर ती शब्दमा आर्थिक सहयोगको आह्वानभन्दा गहिरो अर्थ थियो ।

विद्यार्थीले सहयोग गर्न खोजेका मानिसहरू टाढाको देशका अपरिचित पीडित मात्रै थिएनन्, उनीहरूमध्ये कतिपयसँग विद्यार्थीले खाना खाएका थिए, एउटै घरमा बसेका थिए, यात्रा गरेका थिए र जीवनबारे सिकेका थिए ।

भूकम्पले त्यो मित्रता जन्माएको थिएन । यसले वर्षौंदेखि निर्माण भइरहेको सम्बन्धलाई नाम दिएको थियो । यही सम्बन्धको यात्रामा जापानको टोकियो केइजाई विश्वविद्यालयका प्राध्यापक अकिनोरी सेकीको र क्षितिज भट्टराईको शैक्षिक दृष्टिकोण जोडिएको छ । एसिया एसोसिएसन अफ एजुकेसन एन्ड एक्सचेन्ज (एएईई) का अध्यक्षसमेत रहेका प्राध्यापक सेकीका लागि नेपाल सहायता पु¥याउने गन्तव्य मात्र थिएन, यो जापानी युवाले अरूलाई बुझ्दै आफ्नै समाज र आफूलाई पनि नयाँ दृष्टिले हेर्न सिक्ने ठाउँ थियो, साथसाथै भट्टराईका लागि यो एउटा नेपाली विद्यार्थीका निम्ति सुनौलो प्लेटफर्मको स्वरूप बन्ने मनसाय थियो ।

नेपाललाई बुझ्ने, नेपालीसँग सिक्ने
सन् २००८ मा प्राध्यापक सेकीले आफ्नो विश्वविद्यालयको सेमिनार समूहका विद्यार्थीलाई शैक्षिक कार्यक्रमअन्तर्गत नेपाल ल्याउन थाले । पहिलो वर्ष उनीहरू पाल्पाका विभिन्न गाउँ पुगे । अर्को वर्ष जल्पा मैदानसँग सम्बन्ध जोडियो । गाउँका मानिससँगको भेटघाटले पाठ्यपुस्तक वा छोटो पर्यटकीय भ्रमणले देखाउन नसक्ने जीवनका पक्ष खोलिदियो । स्थानीय समुदाय विद्यार्थीका लागि अध्ययनको विषय मात्रै रहेन, उनीहरूको सिकाइमा योगदान गर्ने साझेदार बन्न थाल्यो ।

यस प्रयासको पछाडि जापानी समाजसँग सम्बन्धित प्रश्न पनि थियो । नेपालमा जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधता दैनिक जीवनको अङ्ग हो । जापानमा भने सांस्कृतिक एकरूपताको मान्यता लामो समयदेखि प्रभावशाली रहँदै आएको छ । फरक पृष्ठभूमिका मानिससँग कसरी सँगै बाँच्ने भन्ने चुनौती सामना गरिरहेको जापानले नेपालका अनुभवबाट पनि सिक्न सक्छ भन्ने प्रा. सेकीको विश्वास थियो । यो विश्वास भ्रमणको कार्यक्रम बनाउनमै सीमित रहेन । प्रा. सेकी परिवारसहित नेपालमा बसे र उनका छोराछोरी नेपाली विद्यालयमा पढे । यसले उनीहरूलाई नेपाली समाजका त्यस्ता पक्षसँग परिचित गरायो । त्यसबाट एउटा मान्यता बलियो भयो– जापानी विद्यार्थीले नेपालबारे मात्रै होइन, नेपालीसँग मिलेर सिक्नुपर्छ ।

समुदायसँग काम गर्दा बदलिएको दृष्टि
जल्पा मैदानमा पानीको सीमित उपलब्धता दैनिक जीवनको चुनौती थियो । प्रा. सेकी र विद्यार्थीले स्थानीय बासिन्दासँग मिलेर कङ्क्रिटको पानी ट्याङ्की निर्माणमा सहयोग गरे । यो संरचना निर्माणको अनुभव मात्र थिएन । बाहिरबाट आउनेले समस्या देख्नेबित्तिकै समाधान आफूले दिनुपर्छ भन्ने मान्यता राख्न सक्छ । तर समुदायसँग काम गर्दा पहिले स्थानीयका कुरा सुन्नु, उनीहरूको प्राथमिकता बुझ्नु र निर्णय गर्ने क्षमतालाई सम्मान गर्नु आवश्यक हुन्छ ।

यस अनुभवले अन्तर्राष्ट्रिय सहयोगको अर्थमाथि प्रश्न उठायो । सहयोगको मूल्य रकम वा सामग्रीबाट मात्रै मापन गर्न सकिँदैन । त्यसले स्थानीय मानिसको आत्मसम्मान र आफ्नै जीवनलाई दिशा दिने क्षमतालाई कसरी साथ दिन्छ भन्ने पनि महत्वपूर्ण हुन्छ । विद्यार्थीका लागि नेपाल सिकेका कुरा लागू गर्ने ठाउँ मात्रै नभई आफ्नै सोचको सीमा थाहा पाउने ठाउँ बन्यो ।

सन् २०१२ देखि एएईईले नेपाली र जापानी विश्वविद्यालयका विद्यार्थी सहभागी हुने अन्तर्राष्ट्रिय सहसिकाइ कार्यक्रम सञ्चालन गर्न थाल्यो । एउटा विश्वविद्यालयको सेमिनार समूहबाट शुरु भएको प्रयास फराकिलो हुँदै गयो । नेपाली युवा जापानी विद्यार्थीलाई समुदाय र संस्थासँग जोड्ने सक्रिय सहभागी बने । ‘मेरो साथी’ नाम जन्मिनुअघि नै पारस्परिक सिकाइको आधार तयार भइरहेको थियो ।

विपत्तिमा प्रकट भएको मित्रता
सन् २०१५ को भूकम्पले यस यात्रालाई निर्णायक मोडमा पु¥यायो । वर्षौंदेखि नेपाल आइरहेका प्रा. सेकी र विद्यार्थीका लागि त्यो विदेशको समाचार मात्रै थिएन । उनीहरूले चिनेका ठाउँ, बसेका समुदाय र भेटेका मानिस सङ्कटमा थिए । भूकम्पपछि टोकियो केइजाई विश्वविद्यालय र एएईईले नेपाली विद्यार्थी शरदकुमार शर्मा र क्षितिज भट्टराईसँग समन्वय गर्दै राहत तथा पुनःस्थापनाका गतिविधि अघि बढाए । जापानमा आर्थिक सहयोग सङ्कलन, सार्वजनिक कार्यक्रम र जनचेतना अभियान सञ्चालन भए । यी प्रयासमा जापानको परराष्ट्र मन्त्रालय, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र एनएचकेलगायत संस्थाको समर्थन तथा सहकार्य प्राप्त भयो । पहिल्यै बनेका सम्बन्धले सहयोग परिचालन गर्ने आधार दिए ।

अगस्ट २०१५ मा भूकम्पपछिको पहिलो ‘मेरो साथी’ आदानप्रदान कार्यक्रममा नेपाल र जापानका १०–१० गरी २० विद्यार्थी सहभागी भए । समुदायमा बस्ने, सहयोग गर्ने र सँगै अनुभव बाँड्ने गतिविधि जोडिए । तत्कालीन स्टुडेन्ट लिडर क्षितिज भट्टराई र अन्य नेपाली विद्यार्थीको सल्लाहमा बाख्रा वितरण र खोर निर्माण सहयोगमा पहल गरे, परिवारलाई निरन्तर आम्दानीको स्रोत विकास गर्न सघाउने उद्देश्य राखे । पछि एएईईले त्यस आम्दानीको केही हिस्सा समुदायको शिक्षामा लगाउन सकिने ढाँचा पनि प्रस्ताव ग¥यो । यी पहल साना थिए, तर तिनको सन्देश स्पष्ट थियो– पुनःस्थापनाले मानिसलाई सधैँ सहायता पाउने पहिचानमा राख्नुहुँदैन, सम्मानपूर्वक आफ्नो जीवन पुनर्निर्माण गर्न साथ दिनुपर्छ ।

सहभागी नै अर्को पुस्ताका सहयात्री
कार्यक्रमको निरन्तरतामा नेपाली पक्षको नेतृत्व महत्वपूर्ण छ । क्षितिज भट्टराईले सन् २०१६ देखि हरेक ‘मेरो साथी’ कार्यक्रमको नेपाली पक्षका संयोजकका रूपमा काम गर्दै आएका छन् । पछि उनले हिमवन नेपाल नामक प्राइभेट कम्पनी स्थापना गरे । पहिले सहभागी रहेका व्यक्तिले नयाँ विद्यार्थीका लागि अवसर निर्माण गर्ने संस्था खडा गर्नु यस यात्राको उल्लेखनीय उपलब्धि हो ।

अहिले प्रा. सेकीको सेमिनार समूह, एएईई र हिमवन नेपालले परिपूरक भूमिका निर्वाह गर्छन् । विश्वविद्यालयको समूहले शैक्षिक आधार दिन्छ, एएईईले फराकिलो अन्तर्राष्ट्रिय सहसिकाइको संरचना उपलब्ध गराउँछ र हिमवन नेपालले नेपाली विद्यार्थी, समुदाय तथा संस्थासँग समन्वय गर्छ । कोभिड–१९ ले यात्रा र प्रत्यक्ष आदानप्रदान रोके पनि बनिसकेका सम्बन्ध समाप्त भएनन् । कार्यक्रम व्यक्ति र संस्थाबीच मात्र होइन, सहभागीका पुस्ताबीच पनि जोडिँदै गयो ।

हामी एक–अर्काबाट के सिक्न सक्छौँ ?
शुरुमा जापानी विद्यार्थीले नेपालबारे के सिक्ने भन्ने प्रश्न थियो । विपत्तिले समुदायका लागि के गर्न सकिन्छ भन्ने प्रश्न थप्यो । अब मुख्य प्रश्न अझ पारस्परिक बन्यो– हामी एक–अर्काबाट के सिक्न सक्छौँ ? नेपाली विद्यार्थी आफ्नो संस्कृति बुझाइदिने व्यक्ति मात्र रहेनन्, उनीहरूका ज्ञान, अनुभव र प्रश्नले जापानी विद्यार्थीको सोचलाई चुनौती दिन सक्थे । जापानी विद्यार्थी पनि पर्यवेक्षक मात्र रहेनन्, उनीहरूले आफ्ना मान्यता स्पष्ट पार्न र तिनको सीमाबारे सोच्नुपथ्र्यो । दुवै पक्षले अरूको समाजसँगै आफ्नै समाजलाई पुनः हेर्ने अवसर पाए ।

यस्तो सिकाइ प्रायः कक्षाकोठाबाहिर हुन्छ । स्थानीय परिवारसँग बस्दा, सँगै खाना खाँदा, विद्यालय र संस्थाको भ्रमण गर्दा वा कुनै विषयमा असहमति हुँदा आफ्ना स्वाभाविक ठानिएका मान्यतामाथि प्रश्न उठ्छ । अर्को व्यक्तिको व्यवहार तुरुन्तै मूल्याङ्कन गर्नुभन्दा त्यसको पृष्ठभूमि बुझ्न सिकिन्छ । मित्रता यहाँ सुखद सम्झना मात्रै होइन, कठिन प्रश्न सोध्न र सुन्न सकिने सम्बन्धको आधार पनि हो ।
शिक्षामा ठोस सहयोग भने रोकिएन । सन् २०१७ मा भट्टराईके नेतृत्वमा पोखराको एउटा विद्यालयलाई प्रयोग भइसकेका तीन ल्यापटप, शैक्षिक सामग्री र अस्थायी इन्टरनेट सुविधा उपलब्ध गराइयो । सन् २०१९ मा जापानी विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीले स्यामरक स्कुलका एक विद्यार्थीको पाँच वर्षको शिक्षाका लागि करिब ७ लाख २० हजार रुपैयाँ योगदान गरे । पारस्परिक सिकाइ र सहयोग सँगसँगै अघि बढ्यो ।

नेपालबाट जापानतर्फ पनि बग्ने ज्ञान
नेपाललाई सम्पन्न देशका विद्यार्थीले विकास वा गरिबी अध्ययन गर्ने ठाउँका रूपमा मात्र हेर्दा यहाँको ज्ञान अदृश्य हुन सक्छ । नेपालको विविधता, सामुदायिक सम्बन्ध र भिन्नताबीच सहअस्तित्वका अनुभव जापानका लागि पनि सिकाइका स्रोत हुन् । यसको अर्थ नेपाललाई आदर्श समाज मान्नु भने होइन ।
नेपाल र जापान दुवैमा असमानता, सामाजिक समस्या र अन्तर्विरोध छन् । सहसिकाइको उद्देश्य एउटालाई श्रेष्ठ र अर्कोलाई कमजोर ठहर गर्नु होइन । अर्को समाजका सबल पक्ष र सीमा बुझ्दै त्यही आलोचनात्मक दृष्टि आफ्नै समाजतर्फ फर्काउनु हो । यसरी सांस्कृतिक सम्मानसँगै आलोचनात्मक बुझाइ पनि विकास गर्ने कार्यक्रमको उद्देश्य छ ।

झन्डै दुई दशकको यस यात्राले अन्तर्राष्ट्रिय शिक्षाबारे एउटा महत्वपूर्ण प्रश्न उठाउँछ– विद्यार्थीलाई अर्को देश देखाउनु मात्रै पर्याप्त छ, कि त्यहाँका मानिससँग आफ्ना धारणासमेत बदलिन सक्ने सम्बन्ध निर्माण गर्नुपर्छ ? प्रा. सेकीको अभ्यासले दोस्रो सम्भावनालाई अघि सारेको छ । त्यसका लागि समय, निरन्तरता र दुवै पक्षको सहभागिता आवश्यक हुन्छ । छोटो भेटलाई दीर्घकालीन सिकाइसँग जोड्ने आधार पनि यही हो । ‘मेरो साथी’को अर्थ अन्ततः यही हो– राष्ट्रिय परिचयभित्र सीमित नगरी अर्को व्यक्तिलाई चिन्नु । विपत्तिमा चिन्ता लाग्ने मानिस, असहमतिमा पनि सुन्नुपर्ने आवाज र आफ्नो बुझाइ बदल्न सक्ने सहयात्रीका रूपमा हेर्नु । जापानमा बाँडिएको सानो ब्यान्डका दुई शब्द आज पनि यही सम्भावना बोकेर उभिएका छन्, मानिसबीच बनेको सम्बन्ध अर्को पुस्ताको शिक्षाको आधार बन्न सक्छ ।
(लेखक श्रेष्ठ ‘मेरो साथी प्रोजेक्ट २०२६’ मा सहभागी हुनुहुन्छ ।)