बझाङमा अटो दुर्घटना: तीन जनाको मृत्यु, एक बेपत्ता


बझाङ ।

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट वडा नम्बर ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० निवासी ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महराको मृत्यु भएको छ । दुर्घटनामा एक बालक बेपत्ता भएका छन् ।

अटोमा चालकसहित ४ देखि ५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटनापछि अटोमा सवार अन्य व्यक्तिको अवस्थाबारे खोजी भइरहेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल प्रहरी पोस्टबाट करिब एक घण्टाको पैदल दूरीमा रहेको जनाइएको छ ।

त्यसैगरी, खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमान्डमा थप प्रहरी टोली परिचालन गरिएको छ ।

प्रहरीका अनुसार बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।