काठमाडौं, (नेस) ।
जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत बक्सिङमा पनि नेपाली खेलाडीको राम्रो प्रदर्शन हुन सकेन । मंगलबार भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर थापा पहिलो चरणमै पराजित भए ।
निशिओ जिम्नेसियममा भएको प्रतिस्पर्धामा चन्द्र भारतका जादुमानी सिंह मन्डेङ्गबामसँग ५–० अंकले हारेका हुन् । पँिच जना निर्णायकले नै भारतीय बक्सरको पक्षमा निर्णय दिएका थिए ।
चन्द्रमाथि नेपालले कमसेकम कांस्य पदकको आस गरेको थियो । यस्तै, महिलातर्फ ५१ केजी तौलमा रमिशा श्रेष्ठ पनि पराजित भइन् । उनी भियतनामकी एनगुएन थि टामसँग ५–० ले नै हारेकी थिइन् ।
अघिल्लो दिन सोमबार नेपालका दान बहादुर दर्लामी पराजित भएका थिए । पुरूष ७० केजी तौल समुहको प्रिलिमिनरिज राउन्डमा उनी इराकका अलि कासिम हामदानअल–सारेसँग ५–० ले पराजित भएका थिए । योसँगैं जारी एसियाडमा नेपालको पदक जित्ने संभावना न्युन बन्दै गएको छ ।
यसैगरी करातेतर्फ महिला टिम कातामा नेपाल चाईनिज ताईपेइसँंग ५–० अंकले पराजित भएको छ । यस्तै भियतनामसँंगको टिम कातामा पनि नेपाल ५–० अंकले नै पराजित भयो ।
यस्तै पौडी महिलातर्फ १ सय मिटर फ्रिस्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन् । टोक्यो एक्वाटिक सेन्टरमा भएको प्रतिस्पर्धामा आर्याले १ मिनेट ४.३५ सेकेन्डको समय निकालेर ३५ खेलाडी सहभागी स्पर्धामा ३०औं स्थान प्राप्त गरिन् ।
सोमबार आर्या ५० मिटर ब्याकस्ट्रोकमा ३३.४० सेकेन्डसहित ३१ खेलाडीमध्ये २७ औं स्थानमा रहेकी थिइन् । अन्य पौडीबाजमा डुवाना लामा, जादेन श्रेष्ठ र एर्भिन श्रेष्ठ पनि आ–आफ्ना स्पर्धाबाट बाहिरिइसके ।











प्रतिक्रिया