मानव जीवन केवल शरीरको संरचना मात्र होइन, यो मन, भावना, चेतना र शरीरबीचको गहिरो समन्वय हो । आधुनिक विज्ञानले पनि आज स्वीकार गर्न थालेको छ कि मानिसको मानसिक अवस्था र शारीरिक स्वास्थ्य एक–अर्कासँग अत्यन्त निकट सम्बन्धित छन् । जब मन शान्त, सन्तुलित र सकारात्मक हुन्छ, शरीर पनि स्वस्थ रहन्छ ।
तर डर, चिन्ता, क्रोध, दुःख, असफलता, अपमान, निराशा वा दीर्घ मानसिक तनावले शरीरमा रोग उत्पन्न गर्न सक्छ । यही कारणले मनोविज्ञान, चिकित्सा विज्ञान र होमियोप्याथीबीचको सम्बन्ध दिनप्रतिदिन महत्वपूर्ण बन्दै गएको छ । होमियोप्याथीले रोगलाई केवल शरीरको समस्या मानेर उपचार गर्दैन, यसले मानिसको सम्पूर्ण व्यक्तित्व– मानसिक, भावनात्मक र शारीरिक अवस्थालाई एकसाथ अध्ययन गर्छ । त्यसैले मानसिक लक्षणलाई होमियोप्याथीमा अत्यन्त महत्व दिइन्छ ।
मन र शरीरको सम्बन्ध
प्राचीन दर्शनदेखि आधुनिक न्यूरोसाइन्ससम्म सबैले मन र शरीरबीचको सम्बन्धलाई स्वीकार गरेका छन् । हाम्रो हरेक भावना शरीरमा कुनै न कुनै जैविक प्रतिक्रिया उत्पन्न गर्छ । जब मानिस डराउँछ, हृदयको धड्कन बढ्छ, रिस उठ्दा रक्तचाप बढ्छ, चिन्ता हुँदा निद्रा हराउँछ, दुःख हुँदा भोक कम हुन्छ । यसले स्पष्ट देखाउँछ कि मनले शरीरलाई प्रत्यक्ष प्रभाव पार्छ । मानिसको मस्तिष्क र स्नायु प्रणालीले सम्पूर्ण शरीरलाई नियन्त्रण गर्छ ।
कुनै पनि मानसिक तनावले हार्मोन प्रणालीमा परिवर्तन ल्याउँछ । विशेष गरी ‘स्ट्रेसहार्मोन’ जस्तै कोर्टिस र एन्ड्रेनालिनको अत्यधिक उत्पादनले शरीरको प्रतिरक्षा शक्ति कमजोर बनाउँछ । यसले दीर्घकालीन रूपमा उच्च रक्तचाप, मधुमेह, माइग्रेन, ग्यास्ट्रिक, छालाका रोग, थाइराइड समस्या र हृदय रोगसम्म निम्त्याउन सक्छ ।
कहिलेकाहीँ मानिस शारीरिक रूपमा सामान्य देखिए पनि भित्र गहिरो मानसिक पीडामा बाँचिरहेको हुन्छ । यस्तो अवस्थामा शरीरमा अस्पष्ट लक्षणहरू देखा पर्न थाल्छन्– शरीर दुख्ने, थकान, कमजोरी, पेटको समस्या, घाँटी अड्किने अनुभव, छाती भारी हुने आदि । परीक्षण गर्दा ठोस रोग नदेखिए पनि बिरामी वास्तवमै पीडित हुन्छ । यसलाई साइकोसोमेटिक डिसअर्डर भनिन्छ, अर्थात् मानसिक कारणले उत्पन्न शारीरिक रोग ।
होमियोप्याथीले यस्ता अवस्थालाई धेरै पहिलेदेखि नै महत्व दिएको छ । डा. हेनेमनले पनि रोगको जड जीवनी शक्ति अर्थात् ‘भाइटलफोर्स’ को असन्तुलनमा रहेको बताएका थिए, जुन मानसिक आघातबाट समेत प्रभावित हुन्छ ।
भावना रोगको कारण
मानिसको जीवनमा भावना अत्यन्त शक्तिशाली पक्ष हो । प्रेम, आशा, उत्साह र आत्मविश्वासले जीवनलाई ऊर्जा दिन्छ भने डर, क्रोध, घृणा, निराशा, ईष्र्या, अपमान वा दबिएका भावनाले शरीर र मन दुवैलाई विषाक्त बनाउँछ ।
डर र चिन्ता ः लगातार डर वा भविष्यप्रतिको चिन्ताले मानिसलाई मानसिक रूपमा थकित बनाउँछ । यस्तो व्यक्तिमा निद्रा नलाग्ने, हृदय धड्किने, पसिना आउने, पेट बिग्रने वा श्वासप्रश्वास समस्या देखिन सक्छ । धेरै मानिसमा प्यानिकअटेक र एन्जाइटी डिसअर्डर यस्तै मानसिक अवस्थाबाट शुरु हुन्छ ।
दबिएको दुःख ः कुनै प्रिय व्यक्तिको मृत्यु, प्रेममा असफलता, अपमान, सम्बन्ध विच्छेद वा भावनात्मक चोटले गहिरो दुःख उत्पन्न गर्छ । यदि व्यक्तिले त्यो भावना व्यक्त गर्न सकेन भने त्यो पीडा शरीरभित्र दबिन्छ । पछि यही दबिएको भावना डिप्रेसन, माइग्रेन, आस्थमा वा ग्यासट्रिक अल्सरको कारण बन्न सक्छ ।
क्रोध र आक्रोश ः रिसलाई निरन्तर दबाएर राख्दा शरीरभित्र तनाव बढ्छ । यस्ता मानिसमा उच्च रक्तचाप, टाउको दुखाइ, छालाको रोग वा पाचन समस्या बढी देखिन्छ । केही मानिस बाहिर शान्त देखिए पनि भित्र तीव्र आक्रोश बोकेर बाँचिरहेका हुन्छन् ।
आत्महीनता र निराशा ः ‘म केही गर्न सक्दिन’, ‘मेरो जीवन व्यर्थ छ’ भन्ने सोचले मानसिक शक्ति कमजोर बनाउँछ । यसले मानिसलाई अवसाद, सामाजिक डर, नशा वा आत्महत्यातर्फसम्म धकेल्न सक्छ । आजको व्यस्त जीवनशैली, सामाजिक दबाब, आर्थिक असुरक्षा, पारिवारिक तनाव र डिजिटल एक्लोपनले मानसिक समस्याहरू तीव्र रूपमा बढाइरहेका छन् । मानिसहरू बाहिर हाँसेजस्तो देखिए पनि भित्र गहिरो तनावमा बाँचिरहेका हुन्छन् ।
मानसिक रोगमा होमियोप्याथी
होमियोप्याथी एक समग्र चिकित्सा पद्धति हो । यसले रोगको नामभन्दा बिरामीको सम्पूर्ण मानसिक र शारीरिक अवस्थालाई महत्व दिन्छ । विशेष गरी मानसिक लक्षणलाई किनोटको रूपमा लिइन्छ । होमियोप्याथीमा प्रत्येक व्यक्तिको मानसिक प्रतिक्रिया फरक हुन्छ । एउटै रोग भए पनि दुई व्यक्तिको स्वभाव, डर, प्रतिक्रिया, संवेदनशीलता र भावनात्मक अवस्था फरक हुन सक्छ । त्यसैले औषधि पनि फरक हुन्छ ।
होमियोप्याथीको दृष्टिकोण ः होमियोप्याथीले मानसिक रोगलाई केवल मस्तिष्कको रासायनिक असन्तुलन मात्र मान्दैन, यसले व्यक्ति, परिस्थिति, भावनात्मक इतिहास, दमन, आघात र व्यक्तित्वलाई समेत अध्ययन गर्छ । केश हिस्ट्री लिँदा बिरामीको डर, सपना, एक्लोपनको भावना, रिस, संवेदनशीलता, सम्बन्धप्रतिको व्यवहार, अपमान वा असफलताप्रतिको प्रतिक्रिया, बाल्यकालको मानसिक आघातजस्ता पक्षहरू गहिरोरूपमा बुझिन्छ ।
महत्वपूर्ण होमियोप्याथिक औषधि ः इगनेसिया– गहिरो दुःख, प्रेममा चोट, भावनात्मक निराशा, दबिएको रोदन, बारम्बार सुस्केरा हाल्ने व्यक्तिमा उपयोगी मानिन्छ । नेट्रम म्युर– एक्लै बसेर दुःख सहने, पुरानो अपमान सम्झिरहने, बाहिर कठोर तर भित्र संवेदनशील व्यक्तिमा प्रयोग गरिन्छ । आरममेटालिकम– गहिरो निराशा, आत्मग्लानि, जीवनप्रति वितृष्णा वा आत्महत्याको सोच भएका अवस्थामा महत्वपूर्ण औषधि मानिन्छ । आर्सेनिकमएल्व– अत्यधिक चिन्ता, मृत्युको डर, असुरक्षा, सफाइप्रतिको अत्यधिक चासो र बेचैनी भएका व्यक्तिमा उपयोगी हुन्छ । लाइकोपोडियम– आत्मविश्वासको कमी, असफलताको डर, बाहिर कठोर तर भित्र डरपोक स्वभाव भएका व्यक्तिमा प्रयोग गरिन्छ ।
पल्साटिला– भावुक, सहानुभूति चाहने, सजिलै रोइहाल्ने र एक्लोपन सहन नसक्ने व्यक्तिमा उपयुक्त मानिन्छ । यी औषधिहरू केवल उदाहरण मात्र हुन् । सही औषधि बिरामीको सम्पूर्ण मानसिक र शारीरिक लक्षणको आधारमा मात्र सम्बन्धित डाक्टरबाट चयन गरिनुपर्छ ।
होमियोप्याथी र आधुनिक मनोविज्ञान ः आज (साइको न्युरोइमोनोलोजी) नामक आधुनिक अध्ययनले मन, स्नायु प्रणाली र प्रतिरक्षा प्रणालीबीचको सम्बन्ध प्रमाणित गरिरहेको छ ।
यसले देखाएको छ कि मानसिक तनावले शरीरको रोग प्रतिरोधात्मक शक्ति कमजोर बनाउँछ । होमियोप्याथीले धेरै पहिलेदेखि नै मानसिक कारणलाई रोगको मूल जड मानेर उपचार गर्दै आएको छ । यही कारणले धेरै दीर्घ रोगहरूमा मानसिक अवस्था सुधारिएपछि शारीरिक स्वास्थ्य पनि राम्रो हुँदै गएको अनुभव पाइन्छ । मानसिक रोगको उपचारमा केवल औषधि मात्र पर्याप्त हुँदैन । बिरामीलाई सहानुभूति, पारिवारिक समर्थन, सकारात्मक वातावरण, परामर्श, उचित निद्रा, योग, ध्यान र स्वस्थ जीवनशैली पनि आवश्यक हुन्छ । होमियोप्याथीले यिनै पक्षलाई समेटेर मानिसलाई सम्पूर्ण रूपमा हेर्ने प्रयास गर्छ ।
निष्कर्ष ः मन र शरीर अलग–अलग होइनन्, यी एउटै जीवनका दुई पक्ष हुन् । मानसिक तनाव, दबिएका भावना, डर, क्रोध र दुःखले शरीरमा गहिरो असर पार्छन् । धेरै शारीरिक रोगहरूको जडमा मानसिक असन्तुलन लुकेको हुन सक्छ । होमियोप्याथीले मानिसलाई केवल रोगको नामले होइन, सम्पूर्ण व्यक्तित्वका रूपमा हेर्छ । यसले मानसिक र भावनात्मक अवस्थालाई उच्च महत्व दिएर उपचार गर्ने प्रयास गर्छ । यही कारणले मानसिक रोग तथा भावनात्मक समस्यामा होमियोप्याथी एक संवेदनशील र समग्र चिकित्सा पद्धति मानिन्छ । आजको युगमा मानिसलाई केवल शारीरिक उपचार मात्र होइन, मानसिक शान्ति, भावनात्मक सन्तुलन र मानवीय सहानुभूतिको आवश्यकता छ । जब मन स्वस्थ हुन्छ, शरीर पनि स्वस्थ बन्न थाल्छ । त्यसैले स्वस्थ जीवनको आधार केवल औषधि होइन, स्वस्थ मन पनि हो ।
(लेकक डा. मिश्र वरिष्ठ होमियोप्याथिक कन्सलटेन्ट हुनुहुन्छ ।)











प्रतिक्रिया