मुस्ताङमा जलवायु सम्मेलन, विश्वको ध्यानाकर्षणको पहल

0
Shares

मुस्ताङ ।

मुस्ताङको सदरमुकाम जोमसोममा मंलवारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ । हिमालदेखि जनजीवनसम्म परेको असरलाई न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन जलवायु परिवर्तन सम्मेलनको आयोजना गरिएको हो ।
बुधवारसम्म दुई दिन चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असरले मुस्ताङसहित हिमाली क्षेत्रको वातावरण, कृषि, पर्यटन, खानेपानी, पशुपालन तथा स्थानीय जनजीवनमा परिरहेको प्रभावबारे छलफल सुरु भएको घरपझोङ गाउँपालिकाले जनाएको छ । जलवायु परिवर्तनका असरहरू न्यूनीकरण, अनुकूलन तथा स्थानीय तहबाट अपनाउन सकिने उपायका विषयमा समेत सम्मेलनमा सरोकारवालाबीच अन्तत्र्रिmया र छलफल भइरहेको छ ।

पछिल्लो समय माथिल्लो क्षेत्रको मौसममा आएको परिवर्तन, हिमपातको समय र परिमाण, अनियमित वर्षा, पानीका स्रोतमा देखिएको परिवर्तनले स्थानीय समुदायलाई असर पारिरहेको छ । जलवायु परिवर्तनको असर वातावरणमा मात्रै नभई समग्र कृषि प्रणाली, पशुपालन, पर्यटन र दैनिक जीवनयापनमा समेत देखिन थालेको भन्दै स्थानीयवासीले चिन्ता गरेका छन् । सम्मेलनमा मुस्ताङलगायत हिमाली जिल्लामा जलवायु परिवर्तनको असर उच्च देखिएकाले त्यसलाई न्यूनीकरण गर्न सकिने विषयमा स्थानीय तहबीच व्यापक छलफल गरिनेछ ।

जलवायु परिवर्तनले पारेको असरलाई कम गर्न स्थानीयस्तरमा अनुकूलनका कार्यक्रम सञ्चालनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट जलवायुसम्बन्धी न्याय र सहयोगको ध्यानाकर्षणसहित सबैलाई अवगत गराउन कार्यक्रम आयोजना गरिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले बताउनुभयो । सम्मेलनबाट मुस्ताङसहित हिमाली क्षेत्रमा देखिएका जलवायुजन्य समस्यालाई स्थानीय मुद्दाको रूपमा नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत उठाइने उहाँले जानकारी दिनुभयो । सम्मेलनले जलवायु परिवर्तनको जोमिख कम गर्ने सवालमा स्थानीय पालिकाहरूको बीचमा नीति निर्माणबारे विचार मन्थन हुने जनाइएको छ ।

सम्मेलनले जलवायु परिवर्तनको असर न्यूनीकरणमा पालिकामार्फत गर्न सकिने काम तथा नीति निर्माणमा आवश्यक पहल र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षणका लागि साझा धारणा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जोमसोममा आयोजित सम्मेलनमा देशैभरबाट ४ सय २१ वटा पालिकाहरू र ४१ वटा जिल्ला समन्वय समितिले सहभागिता जनाएका छन् ।

जोमसोममा जारी सम्मेलनमा देशभरबाट पुगेका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिहरु, जलवायु विज्ञ तथा अभियन्ता, अनुसन्धानकर्ता र सरोकारवालाबीच अन्तत्र्रिmया तथा छलफल भइरहेको छ । सम्मेलनमार्फत विश्व समुदायको ध्यानाकर्षण गर्नका लागि घरपझोङ घोषणापत्र समेत जारी गरिने गाउँपालिकाका उपाध्यक्ष जमुना थापा मगरले बताउनुभयो ।

यसैबीच कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हिमाली क्षेत्रमा जलवायु अनुकूलनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । जलवायु परिवर्तन सम्मेलनको उद्घाटन गर्दै मन्त्री चौधरीले जलवायु अनुकूलन प्रकृतिका कार्यक्रम सञ्चालनमा जोड दिनुभयो ।

मन्त्री चौधरीले पछिल्लो समय हिमाली भेगमा जलवायु परिवर्तनको प्रभाव बढ्दै गएकाले विशेष प्रकृतिका जलवायु अनुकूलन हुने तथा वातावरण संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले हिमाली क्षेत्रमा पानीका स्रोत संरक्षण, हिमताल तथा हिमनदीहरुको जोखिम व्यवस्थापन, रैथाने कृषि बालीको संरक्षण, जलवायु अनुकूल कृषि प्रविधि, चरन क्षेत्र तथा जैविक विविधताको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।