नेपालमा भोटेकोशीबाट आएको बाढीले पु¥याएको मानवीय र भौतिक क्षतिको विवरण अझै यकिन हुन बाँकी छ । यता लासको खात बढ्दै गएको छ भने बाढीमा परेर हराउनेको संख्या १० हजारभन्दा कम नभएको आँकलन गरिएको छ । सिंगो देशका लागि इतिहासमै सबैभन्दा दर्दनाक क्षणमा यतिखेर सम्पूर्ण नेपाली छन् ।
जलवायु परिवर्तनका कारण तिब्बतमाथिको हिउँको ठूलो पहाड नै खस्यो । त्यसपछि भोटेकोशी एक सय मिटर माथिसम्म उर्लेर आउँदा यसले रसुवाको टिमुरे, स्याफ्रुबेसीलाई समुद्रको ठूलो माछाले एकै गाँसमा मानवलाई खर्लप्पै निलेजसरी निल्यो । त्यो भेलले नुवाकोटको त्रिशूली बजारलाई पनि सत्यानाश बनायो । दुई दर्जन बढी सडक मार्गका पुल बगे । गाईवस्तु, भेडाबाख्रा, लत्ताकपडा, भाँडाकुँडा, गरगहनाबाहेक अन्य भौतिक क्षति नै १० खर्ब बढी भएको अनुमान गरिएको छ । करिब १० हजार नागरिक त्यो उर्लंदो बाढीमा परेर अहिले बेपत्ता छन् । झन्डै सात मेगावाटको हाइड्रोपावर ध्वंश भएका छन् ।
चीनको सिमानाको इमिग्रेसन भवनदेखि स्याफ्रुबेसी, टिमुरे, त्रिशूलीजस्ता बजार पूर्णरुपमा बगरमा परिणत मात्र भएनन्, बजारका नागरिकले बाढीको भेलमा परेर ऐया पनि भन्न पाएनन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी कार्यालयदेखि अन्य सरकारी कार्यालयसँगै हजारौँ नागरिक पहाडै उर्लेर आएजस्तो गरी आएको कालो तुवाँलोजस्तो भेलमा एकै गाँस हुन पुगे । २०८३ भदौ १० गते बुधबार बिहान ८ बजेर ३७ मिनेटतिर आएको भोटेकोशीको बाढीले गर्दा सिंगो नेपाल भावविह्वल भएको छ ।मुलुककै नागरिकहरुको आँखा एक हप्ता भइसक्दा पनि ओभाएका छैनन् । हराएका परिवारका आफन्त यति धेरै तनावमा छन् कि उनीहरुलाई सम्हाल्नै नसक्ने अवस्था भएको छ । न लास भेटिएको छ, न सास । तर पनि जीवित नै भेटिन्छन् कि भन्ने आशा अझै हराएको छैन । त्यस्तो मानसिक तनावमा रहेका परिवारको संख्या पनि यकिन छैन । घरवारसहित सिंगो परिवार नै गुमाउनेहरु कति संख्यामा छन् भन्ने कुरा अझै यकिन हुन सकेको छैन । किनकि सिंगो गाउँ र बजार नै खल्र्यापखुर्लुप पारेर बाढीले बगाएको छ । बाँकी रहेका घरहरु खण्डहर बनेका छन् ।
विकसित देशको तापक्रमको असरले नेपालका हिमालहरु खतरामा छन् भन्ने बहस केही वर्षयता चलिरहेकै बेला आज नेपालले त्यसको ठूलो महाप्रलयको धक्का बेहोर्न बाध्य भएको छ । आफूले नगरेको गल्तीको सिकार नेपाल हुन पुगेको छ । आज करिब १० हजार नागरिक हराएका छन् भने एक हजार बढीको लास क्षतविक्षत अवस्थामा भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीे ज्यानको बाजी थापेर पनि एक–एक पोका चाउचाउ र एक–एक बोतल पानीको भरमा नागरिकहरुको उद्धारमा खटिएका छन् । सिंगो सरकार बाँचेकाहरुलाई उद्धार गर्ने र घाइतेहरुको उपचारसँगै क्षतविक्षत शवहरुलाई व्यवस्थापन गर्न लागिपरेको छ ।
प्रधानमन्त्री, गृहमन्त्री स्वयंको खटाइ हेर्दा साँच्चिकै प्रशंसनीय छ । यस्तो अवस्थामा पनि कतिपय बुजु्रकहरु होस्टेमा हैँसे गरी हातमा हात मिलाउनुको साटो कोठामा बसेर आलोचना गर्नमै समय खर्च गर्न व्यस्त छन् । धिक्कार छ त्यस्ता अमानवीयहरु प्रति । स्थानीय सरकार रमिते बनेको जस्तो देखिएको छ । संघीय सरकारले वास्तै गरेन भन्ने हो कि आफ्नो ठाउँबाट भूमिका खेल्ने हो ? स्वाभाविक रुपमा यो प्रश्न उठेको छ । तर कतिपय स्थानीय जनप्रतिनिधिहरुले साँच्चै नै ऐतिहासिक भूमिका खेलेका छन् । तिनीहरुप्रति स्यालुट गर्नुपर्छ । कतिपय सांसदहरुले कसरी आयो त्यति ठूलो बाढी, नेपाल सरकार किन सचेत भएन भन्नेजस्ता पूर्णरुपमा असान्दर्भिक प्रश्न गर्न पनि लाज मानेनन् । कतिपय सांसदहरुको आलोचनाका स्वर अहिले पनि हास्यास्पद छन् र उनीहरु सांसदहरु हुन् भन्न पनि लाज लाग्ने खालका छन् ।
मुलुक यति ठूलो महाप्रलयकारी महाविपत्तिमा पर्दा सिंगो देश एक हुनुपर्ने र राष्ट्रिय एकताको भाव देखाउनुपर्नेमा कतिपय राजनीति गर्छु भन्नेहरुले उल्टो सोचाइ बनाएको देखिन्छ । नेपाल सरकारले पनि यस्तो समयमा फराकिलो सोच बनाएर सबैलाई राहत र उद्धारमा लाग्न एवं उद्धार गरिएकालाई गाँस, बासको व्यवस्थाका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न अपिलसहित आह्वान गर्नुपर्छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनसँगै अन्य जिल्लालाई प्रत्यक्ष असर पारेको यस बाढीमा हराएका करिब १० हजार नागरिकका आफन्तको आँसुको भेल सँगालेको भए धेरै पोखरी भरिन्थे होला, त्यति धेरै आँसु बगेको छ । धेरै परिवारको आँसु पनि सुकेर आँखा सुन्निएका छन् ।
लास पनि नभेटिने, सास पनि नभेटिने, अनि के छ के छ भन्ने अन्यौलले सबैभन्दा बढी पीडा दिएको छ । त्यो पीडाको कुनै मापन नै छैन । म आफैँले पनि बाढीले खण्डहर बनेका क्षेत्रको अवलोकन गर्दा र त्यहाँ बाँचेका केही नागरिकको अवस्था हेर्दा आफूलाई सम्हाल्न सकिन । साना बाबुनानी छन्, तिनका बाबुआमा, दाजुभाइ, दिदीबहिनी, काकाकाकी वा कोही नातेदारसमेत छैनन् । ती चार–पाँच वर्षका बाबुनानीले बाबा, मामू, दिदी भन्दै रोइरहेको आवाजले उद्धार गरेर ल्याउने सेना–प्रहरीका पनि आँसु थामिएका थिएनन् । यस्ता कहाली लाग्दा दर्दनाक दृश्य यति धेरै छन्, कसरी सम्हाल्ने र कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ । यो अवस्थामा वास्तवमै राष्ट्रिय एकताको खाँचो छ ।
भोटेकोशीबाट आएको बाढीले बगाएका लासहरु चितवन पुग्दासम्म क्षतविक्षत भएका छन् । कैयौँ लासहरु हिलोमा गाडिएको अवस्थामा भेटिएका छन् । कसैको टाउकै छैन त कसैको हात, खुट्टा मात्र भेटिएको छ । परिचय खुल्ने केही आधार छैन । र, लासको दाबी गर्न आउने परिवार, नातेदार पनि छैनन् । त्यस्ता लासहरु जसरी पनि व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । नत्र त्यसैबाट हैजा बढ्न सक्छ । विज्ञहरुको पनि सल्लाहअनुसार जति वर्ष पछि माग हुन आए पनि डीएनए गर्न मिल्ने गरी सुरक्षा निकायकोे घेराभित्र रहने गरी खाल्टो खनेर व्यवस्थापन गर्दा विरोध गर्नका लागि विरोध गर्ने पनि देखिए । हाम्रो देशमा राख्ने स्थान छैन । रसुवादेखि बगाएर क्षतविक्षत अवस्थामा भेटिएका लासहरु जे जसरी हुन्छ व्यवस्थापन गर्नुको विकल्प थिएन पनि । तर पनि कतिपय सामाजिक सञ्जालहरु नेगेटिभ मसीले रंगाएको देख्दा आश्चर्य लागेको छ । कि त सहयोग गर्नु, अन्यथा चुप लाग्नु नि ।
संकटको बेलामा सबै नेपाली नागरिकको एउटै आवाज हुनुपर्छ । अब यो महाविपद्लाई पार लगाउन नेपालको स्रोत–साधनले भ्याउँदैन । त्यसैले सिंगो राष्ट्रका नागरिकले एउटै आवाजमा नेपाल र नेपालीलाई जे चाहिने हो त्यो अन्तर्राष्ट्रिय जगत्समक्ष अपिल गर्नुपर्छ । मुलुकको एक वर्षको बजेट बराबरको भौतिक क्षति भएको छ भने मानवीय क्षतिको कुनै मूल्य नै छैन र हुने कुरा पनि भएन । विद्यालय बगेका छन्, बाबुआमा छैनन्, स–साना नानीबाबु छन्, तिनलाई बावुआमाको माया दिने गरी माया र शिक्षा दिनुपर्नेछ ।
बाँचेकाहरुको घरबास, खानेकुरा छैन भने खेतीयोग्य जमिन पनि बगर बनेको छ । व्यापार गरेकाहरुको सबै बगाएको छ । केवल शरीर छ, अरु केही छैन । तिनीहरुको सम्पूर्ण व्यवस्थापन राज्यले गर्नुपर्नेछ । राहत र उद्धारपछिको सबैभन्दा ठूलो चुनौती राज्यका लागि व्यवस्थापन हो । स्रोत–साधन नभएको मुलुकका त्योभन्दा ठूलो चुनौती अरु केही छैन । यस्तो समयमा सरकार नागरिकहरुको अभिभावक हो । त्यो अभिभावकत्व अनुभूति हुने खालको व्यवहार र भूमिका राज्यले निर्वाह गर्नुपर्छ ।
यस्तो बेला केही कालोबजारी गर्नेहरु सल्बलाउन थालेका छन् । संकटको फाइदा उठाउन खोज्ने आपराधिक मानसिकता बोकेकाहरुको पहिचान गरी समयमा कडा कारबाही गर्न सरकार पछि पर्नुहुँदैन । किनकि भूकम्पका बेला होस् वा कोभिडका बेला, कालोबजारी गर्ने र तिनलाई राजनीतिक संरक्षण गर्नेहरुको कुनै कमी थिएन । ठूला–ठूला महासंकटको फाइदा उठाएर स्वार्थ पूर्ति गर्न खोज्नु भनेको अर्को महाअपराध हो । अहिले त्यस्तो नहोस् भन्नेतर्फ सरकारको गम्भीर ध्यान जानुपर्छ । कसैले त्यस्तो गरेको देखेमा एकले अर्कालाई खबर गर्ने र हतोत्साही गर्ने भूमिका स्वयं नागरिकहरुको पनि हो, गर्नुपर्छ ।
देश संकटमा परेको बेला सबै नागरिकले हामी तालिम नलिएका प्रहरी हौँ भन्ने रुपमा आफूलाई सम्झिनुपर्छ । रोइरहेका मनहरु, चरचर्ती चर्किरहेको मुटु र क्षतविक्षत भएको दिमागलाई शान्त बनाउन धेरै मेहनत गनुपर्नेछ । त्यसका लागि काउन्सिलिङको पाटो पनि अर्को महत्वपूर्ण पक्ष रहेको छ । छिमेकमा रुवाबासी छ तर अर्को छिमेकीले यस्तो बेला नाचगान, रमाइलो गरेर पीडा थप्ने काम पनि नगरौँ । नेपाल र नेपालीले भोग्नुपरेको महाप्रलयकारी अकल्पनीय पीडालाई ध्यानमा राखी चाडपर्वको मुखमा गरिने खर्च बचत गरी मानवीय सहयोगमा लगानी गरौँ ।
सबैले एकले अर्कालाई सहयोग गरौँ । विपत्तिमा सहयोगी हातहरु बढाऔँ र चह¥याइरहेको घाउमा सबै मिलेर मलहमपट्टी लगाऔँ । अन्त्यमा यस भवितव्यमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धा–सुमन । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ होस् र हराइरहेका नागरिक पनि सकुशल उद्धार हुन सकुन् । यही कामना गरौँ !












प्रतिक्रिया