नेपालको भौगोलिक बनावट जति मनमोहक छ, यो उत्तिकै प्राकृतिक जोखिम र संवेदनशील भू–तथ्यात्मक अवस्थितिको चपेटामा पनि परेको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लाहरूको नदी तटीय क्षेत्रमा यसपटकको विपद्ले अपार जनधनको क्षति पु¥याएको छ । त्रिशूली र भोटेकोशी नदीमा आएको यो आकस्मिक बाढीले कैयौँ बस्तीहरूलाई क्षणभरमै प्रभावित बनायो ।
प्रत्येकजसो प्राकृतिक दैवीप्रकोपमा नेपाली तथा अन्तर्राष्ट्रिय समाजले देखाउने ऐक्यबद्धता र सहयोग अत्यन्तै सराहनीय छ । तर, यसपटकको प्राकृतिक विपत्तिमा बालबालिकादेखि वृद्धवृद्धासम्मले देखाएको चासो र बढाएको सहयोगी हातलाई शब्दमा व्यक्त गर्न सकिँदैन । आफन्त गुमाउनेहरूप्रतिको श्रद्धा–सुमनदेखि बेपत्ता परिवारका सदस्यहरूप्रति नेपाली समाजले देखाएको सहानुभूति अतुलनीय छ । घरपरिवार गुमाएकाहरूको राहतका लागि उठेका सहयोगी हातहरू साँच्चिकै सम्मानयोग्य छन् । नेपाली समाजका प्रत्येक तह र तप्काका मानिसहरू जसरी जुरुक्क उठेर आफ्नो कर्तव्य र दायित्वप्रति जागरूक बनेका छन्, यो नै हाम्रो समाजको सबैभन्दा ठूलो संस्कार र सभ्यताको प्रतीक हो ।
विपद्को बेला सङ्कलित सहयोगमा पनि कुदृष्टि लगाउने केही गैरजिम्मेवार व्यक्तिका कारण विगतमा कहिलेकाहीँ प्रश्न उठ्ने र आम मानिसको मनमा शङ्का–उपशङ्का उब्जिने गरेको थियो । तर यसपटक आम नागरिकले दर्शाएको निःस्वार्थ सहयोग, सम्मान र विश्वासलाई जोगाइराख्न सरकारले आगामी दिनमा अझ प्रभावकारी र पारदर्शी ढङ्गले काम गर्नेछ भन्नेमा आशावादी हुन सकिन्छ । त्यसै गरी, यदाकदा सुरक्षाकर्मीहरूप्रति गरिने नकारात्मक व्यवहारको तुलनामा विपद्का बेला उनीहरूले पु¥याएको अतुलनीय योगदान र समर्पण देख्दा उनीहरूप्रति नतमस्तक भई आत्मग्लानि महसुस हुन्छ ।
बालमस्तिष्कमा समेत प्रभाव
जब देशमा विपद् आइपर्छ, तब नेपालीको मुटु कसरी पग्लन्छ भन्ने उदाहरण यसपटक फेरि देखिएको छ । ठूला–ठूला कर्पोरेट हाउस, सरकारी तथा गैरसरकारी संस्था, उद्योगी र व्यापारीहरूले करोडौँका दरले आर्थिक सहयोग घोषणा गरिरहँदा, अर्कोतिर स्कुल जाने कलिला नानीहरूले आफ्नो खाजा खर्चबाट दैनिक रूपमा जम्मा गरेको बीस–पच्चीस रुपैयाँ बाढीपीडितहरूको सहायतार्थ बाकसमा खन्याएका छन् ।
बालक मस्तिष्कमा उम्रिएको यो सहृदयता कुनै ठूलो धनवान्को दानभन्दा हजारौँ गुणा ठूलो र अमूल्य छ । ती कलिला नानीहरूले साबित गरेका छन्– मानवता देखाउन ठूलो बैङ्क खाता चाहिँदैन, केवल मायालु र फराकिलो मन भए पुग्छ । उनीहरूको त्यो सानो त्यागले पीडितहरूका लागि सहानुभूतिको पहाड खडा गरेको छ ।
व्यक्तिगत तहबाट हुने सहयोगको पनि सीमा छैन । कसैले आफ्नो एकछाकको खाना काटेर राहत पठाएका छन् भने कसैले लत्ताकपडा र सुक्खा खाना बोकेर स्वस्फूर्तरूपमा विपद् स्थलतर्फ दौडिएका छन् । सामाजिक सञ्जालदेखि चोकसम्म, गाउँदेखि शहरसम्म आज एउटै स्वर गुञ्जिरहेको छ– ‘हामी पीडितहरूको साथमा छौँ ।’
विपद्को गम्भीरता
यस विपद्ले राष्ट्रिय सीमा मात्र नभई क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमै गम्भीर ध्यानाकर्षण गराएको छ । मानवीय तथा भौतिक क्षति भएको छ । यस विपद्का कारण ठूलो संख्यामा नागरिकहरू प्रभावित भएका छन् भने हजारौँको संख्यामा मानिसहरू विस्थापित तथा बेपत्ता भएका छन् । यसै गरी पूर्वाधारको बर्बादी भएको छ । यहाँका दर्जनौँ पुल, सडक सञ्जाल र धेरै जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको छ । यो राज्यका लागि प्रमुख परीक्षाको घडी हो । सरकारका लागि यो विपद् प्रशासनिक, व्यवस्थापकीय र मानवीय दृष्टिकोकोणबाट एक ऐतिहासिक र कडा परीक्षाका रूपमा उभिएको छ ।
समाजको अभूतपूर्व ऐक्यबद्धता
सरकारी प्रयास मात्रैले यति ठूलो विपद्को सामना गर्न कठिन हुन्छ भन्ने बुझेर नेपाली समाजले अनुकरणीय भाइचारा र मानवीय भावना प्रस्तुत गरेको छ । स्वेच्छिक सहभागिता र श्रमदान भएको छ । नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र देशैभरका युवा स्वयंसेवकहरू रातदिन नभनी राहत सामग्री सङ्कलन र वितरणमा जुटेका छन् ।
यसै गरी स्थानीय समुदायको आत्मीयता बढेको छ । प्रभावित नभएका छिमेकी जिल्लाहरूबाट समेत युवाहरू आफ्नै खर्चमा खाद्यान्न, लत्ताकपडा र औषधि बोकेर प्रभावित बस्तीहरूमा पुगेका छन् । निजी क्षेत्रको हातेमालो भएको छ । बैङ्क, व्यावसायिक घराना तथा निजी अस्पतालहरूले घाइतेहरूको निःशुल्क ओसारपसार, ठूलो आर्थिक सहयोग र आश्रयस्थल उपलब्ध गराएर राज्यको अभियानमा बलियो ऐक्यबद्धता प्रकट गरेका छन् । अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटेको छ । भारत, चीन, संयुक्त राष्ट्रसंघलगायत विभिन्न मित्रराष्ट्र र दातृ निकायहरूबाट प्राप्त आर्थिक तथा नैतिक सहयोगले नेपालको सङ्कट मोचनमा बल पु¥याएको छ ।
आपत्कालीन प्रतिकार्य र राज्यको उपस्थिति
सङ्कटको यो घडीमा सरकारले देखाएको तत्परता, द्रुत कार्यशैली र व्यवस्थित राहत वितरणले सङ्कटग्रस्त क्षेत्रमा आशाको सञ्चार गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका हजारौँ सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा द्रुत गतिमा खटाइएको छ । सडक सञ्जाल अवरुद्ध भएका कठिन भूगोलहरूमा समेत हेलिकोप्टरमार्फत उद्धार कार्य तीव्र पारिएको छ ।
त्यस्तै उच्च तहका नेतृत्वबाट स्वयं स्थलमार्ग हुँदै बाढी प्रभावित क्षेत्रको निरीक्षण गरी घाइतेहरूको अवस्था बुझ्नुका साथै उद्धार कार्यको प्रत्यक्ष अनुगमन गरिएको छ । प्रभावित क्षेत्रमा तत्काल नगद निकासा, अस्थायी आवास र शिविर सञ्चालन गरी विस्थापित नागरिकहरूका लागि खानेपानी तथा गाँसको प्रबन्ध मिलाइएको छ ।
आगामी योजना र दिगो पुनरुत्थानको बाटो
सरकारको तात्कालिक कदम प्रशंसनीय रहे तापनि यस विपद्ले ल्याएका दीर्घकालीन चुनौतीहरू अझै ठूला छन् । सडक तथा पूर्वाधार पुनर्निर्माणमा सोच्नुपर्ने भएको छ । भत्किएका पुल, राजमार्ग र जलविद्युत् आयोजनाहरूलाई सुरक्षित मापदण्डसहित पुनर्जीवित गर्नुपर्नेछ ।
स्थायी पुनर्वासको व्यवस्था गर्नु उत्तिकै जरुरी छ । नदीकिनारका जोखिमयुक्त बस्तीहरूमा बस्ने बासिन्दाहरूका लागि दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थायी बसोबासको व्यवस्था मिलाउनु अपरिहार्य छ । प्रारम्भिक चेतावनी प्रणालीको आधुनिकीकरण उत्तिकै जरुरी छ । भविष्यमा यस्ता आकस्मिक बाढीहरूबाट बच्न उन्नत प्राविधिक प्रणाली जडान गर्नुपर्नेछ ।
भू–उपयोग नीति र बस्ती विकासका निश्चित मापदण्ड तयार गरी कडाइका साथ लागू गरिनुपर्ने पाठ यस घटनाबाट सिक्नै पर्छ । नदीकिनारका जोखिमपूर्ण क्षेत्रमा जथाभावी घर निर्माण र बस्ती बसाउने प्रवृत्तिलाई कानुनीरूपमै रोक्नुपर्छ । सामूहिक सहकार्यको संस्कृति अवलम्बन गरिनुपर्छ । विपद् व्यवस्थापन केवल सरकारको मात्र जिम्मेवारी नभई स्थानीय समुदाय, नागरिक समाज र निजी क्षेत्रको संयुक्त सहभागितामा आधारित हुनुपर्छ ।
जलवायु परिवर्तनको जोखिम सामना गर्नका लागि हिमाली क्षेत्रका जलवायु परिवर्तनजन्य जोखिमहरूलाई राष्ट्रिय सुरक्षा र विकास नीतिसँग जोडेर दीर्घकालीन योजना बनाउनुपर्छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ र गोरखाको यो बाढी विपद् एउटा ठूलो प्राकृतिक परीक्षा हो । यस कठिन घडीमा राज्यको सक्रियता, आम नेपालीको आपसी सद्भाव र अन्तर्राष्ट्रिय ऐक्यबद्धताले ‘सङ्कटमा हामी एकताबद्ध छौँ’ भन्ने बलियो सन्देश दिएको छ ।
(लेखक जोशी शिक्षाकर्मी एवं विकासका लागि पठन–संस्कृति अभियन्ता हुनुहुन्छ ।)












प्रतिक्रिया