वाम एकताको राग, आफ्नै घरमा नेतृत्वको दाग

एमालेमा ओली नेतृत्वमाथि प्रश्न, नेकपामा पुस्तान्तरणको दबाब: कम्युनिस्ट आन्दोलन पुनर्गठनको बहस तीव्र

0
Shares


एकताको कुरा गर्ने कम्युनिस्ट दलमै नेतृत्व, पुस्तान्तरण र संगठनको सङ्कट

काठमाडौँ।

नेपालको कम्युनिस्ट आन्दोलन कमजोर र रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्दै वाम एकताको बहस फेरि तीव्र बनेको छ । तर विडम्बना के छ भने एकताको आवश्यकता औँल्याइरहेका प्रमुख कम्युनिस्ट दलहरू आफैँ भने नेतृत्व, पुस्तान्तरण, संगठन र कार्यशैलीको विवादमा अल्झिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्दै सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठ्नुपर्ने बताउनुभएको छ ।

प्रचण्डका अनुसार सरकार निर्माण र परिवर्तनमा मात्र केन्द्रित हुँदा आन्दोलन कमजोर बनेको हो । अब उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको मुद्दामा आधारित आन्दोलनमार्फत कम्युनिस्ट शक्तिलाई पुनर्गठित गर्नुपर्ने उहाँको भनाइ छ ।

‘सहकार्यको उद्देश्य सरकारमा जानु मात्र होइन, आन्दोलनलाई बलियो बनाउनु पनि हो,’ प्रचण्डले भन्नुभएको छ । विगतमा एमालेसहित विभिन्न कम्युनिस्ट शक्तिबीच भएको सहकार्य र एकताबाट शिक्षा लिएर विगतका कमजोरी नदोहो¥याउने गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभएको छ ।

तर प्रचण्डले वाम एकताको आह्वान गरिरहँदा उहाँकै नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीभित्र पनि पुस्तान्तरण र संगठन पुनर्गठनको प्रश्न उठिरहेको छ । पार्टीले यसअघि नै सबै कमिटीमा ५० प्रतिशतसम्म युवा र नवयुवालाई नेतृत्वमा ल्याउने निर्णय गरिसकेको छ । पार्टी पुनर्गठनसँगै सिंगो कम्युनिस्ट आन्दोलनको पुनर्गठन र वाम ध्रुवीकरणलाई पनि प्राथमिकतामा राखिएको छ ।

उता नेकपा एमालेभित्र नेतृत्व पुनर्गठनको बहस झन् पेचिलो बनेको छ । गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टी कमजोर भएपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र पार्टीको कार्यशैलीमाथि प्रश्न उठाउँदै दोस्रो तथा तेस्रो पुस्ताका नेताहरूले पुनर्गठनको आवाज उठाइरहेका छन् ।

महासचिव शंकर पोखरेलले तयार पारेको निर्वाचन समीक्षा प्रतिवेदनमा पार्टीको नीति र नेतृत्व पुनर्गठनका लागि विधान महाधिवेशन वा प्रतिनिधि परिषद् अधिवेशनको विकल्प अघि सारिएको छ । त्यसमा नेतृत्वको कार्यकाल र उमेर हद पुनःस्थापना तथा ‘एक व्यक्ति, एक पद’को व्यवस्था गर्नुपर्ने सुझावसमेत रहेको छ ।

तर अध्यक्ष ओली भने तत्काल नेतृत्व पुनर्गठन आवश्यक नभएको भन्दै पार्टीमा विकल्प खोज्नेमाथि जाइलाग्ने क्रमलाई तीव्रता दिन थाल्नुभएको छ । उहाँले पार्टी पुनर्गठनको समय नभई ‘पुनर्जागरण’को समय भएको बताउँदै आउनुभएको छ । नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई सार्वजनिक रूपमा आलोचना गरेपछि एमालेभित्रको विवाद थप सतहमा आएको छ ।

एमालेका उपमहासचिव योगेश भट्टराईले भने पार्टी समयअनुकूल परिवर्तन हुनुपर्ने धारणा लामो समयदेखि राख्दै आउनुभएको छ । यसअघि उहाँले उपयुक्त समय आएपछि पार्टीको नेतृत्व परिवर्तन हुने सङ्केत गर्दै भन्नुभएको थियो– ‘हामी पार्टीलाई सर्भिसिङ गरिरहेका छौँ । कुनै बेला इन्जिन बदल्छौं, ड्राइभिङ सिट बदल्छौं ।’
त्यस्तै एमाले महासचिव पोखरेलले नेतृत्वमा कार्यकाल र उमेर हदको व्यवस्था गर्दा युवालाई पार्टीमा भविष्य देखिने र नयाँ पुस्ता आकर्षित हुने धारणा अघि सार्नुभएको छ । यसले एमालेभित्र पुस्तान्तरणको बहस अब व्यक्तिगत असन्तुष्टिभन्दा संस्थागत सुधारको मुद्दा बन्न थालेको छ ।

पुराना अनुहार, नयाँ सङ्कट

राजनीतिक विश्लेषकहरूको बुझाइमा नेपालको कम्युनिस्ट आन्दोलनको समस्या केवल पार्टी विभाजन वा एकताको अभावमा सीमित छैन । नेतृत्वको पुस्तान्तरण, आन्तरिक लोकतन्त्र, संगठनको पुनर्गठन र जनतासँगको सम्बन्ध कमजोर हुनु मूल समस्या हो ।

राजनीतिक विश्लेषक राजकुमार रुपाखेतीका अनुसार हिजो ओलीको पक्षमा रहेका कतिपय नेताहरू नै अहिले नेतृत्व पुनर्गठनको पक्षमा खुलेर आउनुले एमालेभित्र असन्तुष्टि छताछुल्ल भएको छ । उहाँका अनुसार नेतृत्व हस्तान्तरणको प्रश्नलाई लामो समय बेवास्ता गर्दा पार्टीभित्रको शक्ति संघर्ष अझ तीव्र बन्न सक्छ।

अर्का राजनीतिक विश्लेषक रेशम घर्तीका अनुसार पुरानो पुस्ताको नेतृत्व मोह र नयाँ पुस्ताको बढ्दो आकांक्षाबीचको द्वन्द्वले कम्युनिस्ट पार्टीहरूको सङ्कटलाई गहिरो बनाइरहेको छ । जनताको पक्षमा प्रभावकारी काम गर्न नसक्दा कम्युनिस्ट दलप्रतिको आकर्षण घटेको र विशेषगरी युवापुस्तामा निराशा बढेको उहाँको विश्लेषण छ ।

यो सङ्कटको सङ्केत एमालेभित्र गरिएको एक सर्वेक्षणले पनि देखाएको छ । एमाले नेतृत्व पुनर्गठनबारे गरिएको सर्वेक्षणमा ८७ दशमलव ६ प्रतिशत सहभागीले नयाँ नेतृत्व आवश्यक रहेको मत दिएका थिए भने ओलीकै नेतृत्व ठीक रहेको पक्षमा १० दशमलव ५ प्रतिशत मात्र मत आएको थियो ।

नेपालका कम्युनिस्ट शक्तिहरूबीच एकताको चर्चा नयाँ होइन । सत्ता बाहिर हुँदा एकताको आवश्यकता महसुस गर्ने, सत्तामा पुगेपछि शक्ति संघर्षमा फस्ने प्रवृत्ति कम्युनिस्ट राजनीतिमा पटक–पटक दोहोरिएको छ । गत वर्ष माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विभिन्न वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो । तर नयाँ संरचना बनेपछि पनि नेतृत्व, संगठन र कार्यशैलीको प्रश्न समाप्त भएको छैन ।

एमाले महासचिव पोखरेलले समेत अहिले प्राथमिकता कम्युनिस्ट पार्टीबीचको एकता नभई जनतासँगको सम्बन्ध सुधार र पार्टी पुनर्गठन भएको बताउनुभएको छ । उहाँका अनुसार विगतमा नेताहरूको तहमा गरिएको एकता सफल हुन नसकेको अवस्थामा अब कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउनु आवश्यक छ । यसले वाम एकताको बहसको अर्को महत्वपूर्ण पक्ष उजागर गर्छ, नेताहरू मिल्दैमा कम्युनिस्ट एकता टिक्दैन ।

कम्युनिस्ट पार्टीभित्र अहिले सबैभन्दा पेचिलो प्रश्न पुस्तान्तरणकै देखिन्छ । दशकौँदेखि पार्टी नेतृत्वमा रहेका नेताहरूले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण नगरेको गुनासो युवा नेताहरूमा बढ्दै गएको छ । नेकपाले सबै तहका कमिटीमा ५० प्रतिशतसम्म युवालाई नेतृत्वमा ल्याउने निर्णय गर्नु त्यसैको एउटा सङ्केत हो । एमालेमा पनि कार्यकाल र उमेर हदको बहस पुनः सुरु भएको छ ।

तर पुस्तान्तरण केवल उमेर घटाउने विषय होइन । नेतृत्वसँगै निर्णय प्रक्रियामा सहभागिता, विचार निर्माण, संगठन सञ्चालन र जिम्मेवारी हस्तान्तरणको संस्थागत प्रणाली आवश्यक हुन्छ । प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न सहकार्य र संघर्षमा जोड दिनुभएको छ । एमालेभित्र पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस चर्किएको छ । दुवै घटनाले एउटा समान प्रश्न जन्माएको छ, नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउने हो भने पहिले पार्टीभित्रको लोकतन्त्र र नेतृत्व संस्कार सुधार्नु पर्ने आवाज बलियो बन्दै गएको छ ।

जनताबाट टाढिँदै गएको राजनीतिक शक्ति केवल अर्को पार्टीसँग एकता गरेर पुनर्जीवित हुँदैन । जनतासँगको सम्बन्ध, सुशासन, आन्तरिक लोकतन्त्र, पुस्तान्तरण र स्पष्ट राजनीतिक दृष्टिकोण पुनस्र्थापित गर्न सक्नुपर्छ । अन्यथा वाम एकताको नारा फेरि पनि सत्ता समीकरणको अर्को अध्यायमै सीमित हुनेछ । अहिलेको कम्युनिस्ट आन्दोलनका लागि वास्तविक चुनौती कति पार्टी एक ठाउँमा आउँछन् भन्ने होइन, कति नयाँ राजनीतिक संस्कार निर्माण गर्न सक्छन् भन्ने हो ।