व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्छः अध्यक्ष बिजुक्छे


भक्तपुर।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनप्रतिनिधिहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई प्राथमिकतामा राखी काम गर्नुपर्ने बताउनुभएको छ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको ‘सञ्चारमाध्यममा भक्तपुर नपा’ र ‘सञ्चारमाध्यममा भक्तपुर नपा–२’ पुस्तक परिचर्चा तथा लेखक र सञ्चारकर्मीलाई धन्यवाद कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सत्तामा रहेका नेता तथा जनप्रतिनिधिहरू जनताको भावना र आवश्यकताप्रति जिम्मेवार हुनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “सत्तामा रहेका नेता तथा जनप्रतिनिधिले आफ्ना स्वार्थभन्दा माथि उठेर देश र जनताको स्वार्थका लागि लाग्नुपर्ने हो, तर परिवर्तनका लागि अझै केही पुस्ताले कुर्नुपर्ने देखिन्छ।”

जनताको भावना कुण्ठित पार्ने काम कसैबाट हुन नहुने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेले जनताको भावनालाई सम्मान नगरेसम्म देशको प्रगति सम्भव नहुने बताउनुभयो। नयाँ पुस्तालाई नयाँ सोच र ढङ्गबाट अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले जनप्रतिनिधिले सम्पूर्ण जनताको मन र भावना जितेर काम गर्नुपर्ने धारणा राख्नुभयो।

समाजलाई सफल र व्यवस्थित बनाउन सके देश पनि समृद्ध र व्यवस्थित बन्ने बताउँदै उहाँले नैतिक धरातल कमजोर हुँदै गएको अवस्थामा सञ्चारमाध्यम तथा सञ्चारकर्मीले समाजलाई सही दिशा देखाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा रासस भक्तपुरका समाचारदाता रमेश गिरी, सुन्दर शिल्पकार, मकर श्रेष्ठ, पुष्करराज बूढाथोकीलगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले नगरपालिकाले गरेका विकास निर्माण, मूर्त तथा अमूर्त सम्पदा, जात्रा–पर्वलगायतका विषयलाई सञ्चारमाध्यममार्फत विश्वमाझ चिनाउन सञ्चारकर्मीले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो।

राससलगायत विभिन्न सञ्चारमाध्यममा भक्तपुर नगरपालिकासम्बन्धी प्रकाशित समाचार, फिचर तथा लेखलाई सङ्कलन गरी नगरपालिकाले प्रकाशन गरेका दुई पुस्तक समाचारका दृष्टिले महत्वपूर्ण ऐतिहासिक दस्तावेज भएको उहाँले बताउनुभयो।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले सञ्चारकर्मी र सञ्चारमाध्यमले भक्तपुरका विभिन्न गतिविधि तथा उपलब्धिबारे प्रकाशित गरेका सामग्रीलाई मार्गदर्शन र दस्तावेजका रूपमा संरक्षण गर्ने कार्य गरिएको बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नगरपालिका अन्य स्थानीय तहका लागि समेत उदाहरण बन्दै गएको उल्लेख गर्दै नगरपालिकाका उदाहरणीय कामलाई देशभर प्रचार–प्रसार गर्न सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।