काठमाडौँ।
बञ्चरेडाँडाको फोहोर व्यवस्थापनबारे छलफलका क्रममा स्थानीय तहका प्रमुखहरूसँग चर्काचर्की भएपछि रास्वपा सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन्।
छलफलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग समेत भनाभन भएपछि आफूले उठाएको विषय बञ्चरेडाँडाका स्थानीयको समस्या रहेको तामाङले बताएकी छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै आफूलाई एक जनाले फोन गरेर ‘सबै जनाले तपाईंलाई गाली गरिरहेका छन्’ भनेको उल्लेख गरेकी छन्। त्यस क्रममा आफूले ‘बञ्चरेडाँडाका पीडितले पनि गाली गरिरहेका छन् ?’ भनेर सोध्दा उनीहरू खुसी रहेको जवाफ पाएको तामाङको भनाइ छ।
‘मैले कुरा उठाएको बञ्चरेडाँडाका स्थानीयको लागि हो। अरूले थुकुन्, कराऊन्, कुपनमा परेको सांसद भनून्, के मतलब मलाई ?’ भन्दै उनले आफूलाई पीडित स्थानीयको मुद्दा कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने मात्रै चासो रहेको बताएकी छन्।
यसैबीच, केहीबेरपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै तामाङले मेयर चिरिबाबु महर्जनले आफूलाई ‘माफी’ दिएको भन्ने विषयमा समेत प्रतिक्रिया जनाएकी छन्।
‘मेयर चिरिबाबु ज्युले मलाई “माफ” दिए रे ! मैले तपाईंसँग माफी मागेकै छैन,’ उनले लेखेकी छन्।
तामाङले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडा क्षेत्रमा फोहोर थुपारिँदै आएको विषयप्रति असन्तुष्टि जनाउँदै स्थानीयको स्वच्छ वातावरणमा बाँच्ने अधिकारको प्रश्न उठाएकी छन्।
‘आफ्नो ठाउँ सफा चिटिक्क पार्ने, फोहोर जति धादिङमा लगेर खन्याउने ! अनि तपाईंसँग माफी मैले लिनुपर्ने ?’ भन्दै उनले प्रश्न गरेकी छन्।
उनले लामो समयदेखि बञ्चरेडाँडाका स्थानीयले भोग्दै आएको समस्याका लागि सम्बन्धित पक्षले नै माफी माग्नुपर्ने धारणा राखेकी छन्। ‘बरु तपाईंहरूले यत्रो वर्षसम्म त्यहाँका जनतामाथि गर्नुभएको स्वच्छ सास फेर्ने अधिकार हनन गरेकोमा “माफी” माग्नुस्,’ तामाङले लेखेकी छन्।











प्रतिक्रिया