गुल्मी।
गुल्मीको इस्मा गाउँपालिका–२ सिदुङ्खाका अग्निपीडितले आगलागी भएको दुई वर्ष बितिसक्दा पनि सरकारले उपलब्ध गराउने भनिएको राहत रकम पाउन सकेका छैनन् । आगलागीमा घरगोठ र सम्पत्ति गुमाएका पीडितले ऋण खोजेर घर बनाए पनि सरकारी रकम निकासा नहुँदा ऋण तिर्न नसकेको गुनासो गरेका छन् ।
२०८१ वैशाख ८ गते सामुदायिक वनबाट बस्तीमा फैलिएको आगोले सिदुङ्खामा २६ घरगोठ जलेर नष्ट भएका थिए । आगलागीमा दर्जनौँ पशुचौपायासमेत मरेका थिए । घरबारविहीन भएका पीडितका लागि अहिले नयाँ आवास निर्माण भइसकेको छ । तर, आवास निर्माणबापत सरकारले उपलब्ध गराउने रकम नपाउँदा उनीहरूको समस्या भने अझै समाधान भएको छैन ।
अग्निपीडित मीना रायमाझीले ऋण लिएर ठेकेदारमार्फत घर निर्माण गरेको बताउनुभयो । घर निर्माण सम्पन्न भए पनि ठेकेदार र कामदारले रकम माग्दा आफू थप दबाबमा परेको उहाँको गुनासो छ । सरकारले आवास निर्माणका लागि किस्ताबन्दीमा रकम उपलब्ध गराउने व्यवस्था गरेको जानकारी पाए पनि अहिलेसम्म रकम नपाएको अर्की अग्निपीडित वसुन्धरा कुँवरले बताउनुभयो । आगलागीमा घर, गोठ र पसलसमेत गुमाएकाले समयमै राहत रकम उपलब्ध गराउन उहाँले सरकारसँग आग्रह गर्नुभयो ।
अग्निपीडितका लागि आवास निर्माण गर्न प्रतिपरिवार ५ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको थियो । त्यसमा इस्मा गाउँपालिकाले १ लाख र प्रदेश तथा संघीय सरकारले ४ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।
गाउँपालिकाले आफ्नोतर्फको १ लाख रुपैयाँ उपलब्ध गराइसकेको भए पनि प्रदेश र संघ सरकारबाट आउनुपर्ने ४ लाख रुपैयाँ भने अझै निकासा भएको छैन । इस्मा गाउँपालिका–२ का वडाध्यक्ष लोकनाथ आचार्यले पालिकाले तत्काल गर्न सक्ने सबै काम गरिसकेको तर मुख्य समस्या संघीय सरकारबाट निर्माणबापतको भुक्तानी नआउनु रहेको बताउनुभयो ।
स्थानीयस्तरमा समेत अग्निपीडितका लागि राहत सङ्कलन गरिएको थियो । सिदुङ्खामा गठन गरिएको स्थानीय राहत सङ्कलन समितिले १६ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन गरी क्षतिको मूल्याङ्कनका आधारमा पीडित परिवारलाई वितरण गरेको समितिका अध्यक्ष रमेश थापाले बताउनुभयो । तर, ऋण खोजेर घर निर्माण गरेका पीडितले सरकारी रकम नपाउँदा आर्थिक बोझ थपिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले अग्निपीडितलाई लाभग्राही कायम गरी आवास निर्माणका लागि आवश्यक रकम निकासा गर्न माग गरेको छ । हालसम्म भने रकम निकासा भएको छैन ।
गुल्मीमा २०८१ वैशाखमा सुख्खा मौसममा लागेको आगलागीबाट १६९ घरगोठ जलेर नष्ट भएका थिए । आगलागीमा एक सयभन्दा बढी पशुचौपाया मरेका थिए । जिल्लाका विभिन्न सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौँ रुपैयाँबराबरको क्षति भएको थियो । जिल्लाका १२ स्थानीय तहमध्ये इस्मासँगै मदाने, मुसिकोट, धुर्कोट र रुरुक्षेत्रमा समेत आगलागीबाट ठूलो क्षति भएको थियो ।











प्रतिक्रिया