काठमाडौं ।
विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाको संघीय सरकारी ऋण पहिलोपटक ४० ट्रिलियन डलर पुगेको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार मंगलबार सरकारी ऋण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।
अमेरिकी सरकारी ऋण पछिल्ला वर्षमा अपेक्षाभन्दा तीव्र गतिमा बढिरहेको छ। पछिल्ला पाँच महिनामै ऋण करिब १ ट्रिलियन डलरले बढेको बताइएको छ। सन् २०२३ मा कंग्रेसनल बजेट अफिस (सीबीओ) ले सन् २०२८ मा ४० ट्रिलियन डलर पुग्ने अनुमान गरेको भए पनि त्यो लक्ष्य अनुमानभन्दा निकै अघि नै पूरा भएको हो।
ऋण बढ्नुका प्रमुख कारण सामाजिक सुरक्षा, मेडिकेयरलगायतका कार्यक्रममा बढ्दो सरकारी खर्च, कर कटौती, सरकारी खर्च वृद्धि तथा कोरोना महामारीका समयमा ल्याइएका राहत कार्यक्रमलाई मानिएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामै अमेरिकी बजेट घाटा १.८ ट्रिलियन डलर पुगेको छ।
ऋणसँगै ब्याज भुक्तानीको भारसमेत बढेको छ। चालु आर्थिक वर्षमा अमेरिकाले सरकारी ऋणको ब्याज तिर्न मात्रै १ ट्रिलियन डलरभन्दा बढी खर्च गर्ने अनुमान छ। ब्याज खर्च बढ्दै जाँदा शिक्षा, स्वास्थ्य, पूर्वाधार र अन्य क्षेत्रमा सरकारी लगानीका लागि उपलब्ध स्रोतमा दबाब परेको अर्थशास्त्रीहरूको भनाइ छ।
सरकारी ऋण बढ्दै जाँदा अमेरिकी ट्रेजरी बन्डको प्रतिफलसमेत उच्च बनेको छ। मंगलबार ३० वर्षे ट्रेजरी बन्डको प्रतिफल सन् २००७ यताकै उच्च स्तरमा पुगेको थियो। ट्रेजरीको प्रतिफल बढ्दा घर, सवारीसाधन तथा व्यवसायिक कर्जाको ब्याजदरमा समेत असर पर्न सक्छ।
विशेषज्ञहरूले यही गतिमा ऋण बढ्दै गए आगामी केही वर्षमै अमेरिकी सरकारी ऋण ५० ट्रिलियन डलर पुग्न सक्ने चेतावनी दिएका छन्। बढ्दो ऋण र ब्याज खर्चले अमेरिकी अर्थतन्त्र तथा सरकारको दीर्घकालीन वित्तीय अवस्थामाथि थप दबाब सिर्जना गर्ने उनीहरूको भनाइ छ।











प्रतिक्रिया