काठमाडौं ।
वर्तमान सरकारको आर्थिक नीतिप्रति लगानीकर्ताको विश्वास कमजोर हुँदै गएको संकेत पुँजीगत लाभकर संकलनको तथ्यांकले देखाएको छ।
अघिल्लो वर्ष साउनमा सरकारले २ अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो। तर चालु वर्षको साउनमा यस्तो कर संकलन घटेर ६२ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको तुलनामा यो करिब २४५ प्रतिशतले कमी हो।
पुँजीगत लाभकरमा आएको यो ठूलो गिरावटलाई अर्थतन्त्रमा लगानीकर्ताको गतिविधि र बजारप्रतिको विश्वाससँग जोडेर हेर्न सकिन्छ। लगानीकर्ताले नयाँ लगानी गर्न वा आफ्नो लगानी विस्तार गर्न उत्साह नदेखाउँदा कारोबार र नाफासँगै सरकारको राजस्वमा समेत प्रत्यक्ष प्रभाव पर्न सक्छ।
सरकारले आर्थिक गतिविधि चलायमान बनाउने, निजी क्षेत्रको मनोबल बढाउने र लगानीको वातावरण निर्माण गर्ने दाबी गर्दै आए पनि पछिल्लो तथ्यांकले व्यवहारमा चुनौती कायमै रहेको देखाएको छ।
विशेषगरी शेयर बजार, घरजग्गा तथा अन्य सम्पत्तिको कारोबारमा आएको सुस्तताले पुँजीगत लाभकर संकलन प्रभावित हुनसक्छ। तर यति ठूलो गिरावटलाई केवल बजारको उतारचढावका रूपमा मात्र हेरेर सरकार उम्कन मिल्दैन।
यसले गम्भीर प्रश्न खडा गरेको छ | लगानीकर्ताको विश्वास किन यति कमजोर भयो |
लगानीको वातावरणप्रति देखिएको अनिश्चितता, नीतिगत अस्थिरता, बजारमा मागको कमी, बैंकिङ क्षेत्रमा कर्जाको कमजोर माग तथा सरकारको आर्थिक नीतिप्रति निजी क्षेत्रको असन्तुष्टि लगायतका विषयमा सरकारले गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ।
राजस्व संकलन घट्नु सरकारका लागि केवल आम्दानीको समस्या होइन, अर्थतन्त्रको स्वास्थ्य र निजी क्षेत्रको मनोबल कमजोर भएको संकेत पनि हुन सक्छ। त्यसैले सरकारले तत्काल तथ्यांकको समीक्षा गर्दै लगानीकर्ताको विश्वास फर्काउने ठोस नीति र कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।
सरकारले अब राजस्वको अंक मात्र हेर्ने होइन, त्यो अंक पछाडि लुकेको लगानीकर्ताको मनोविज्ञान पनि बुझ्नुपर्ने देखिन्छ।











प्रतिक्रिया