मानार्थ : एक सैन्य कूटनीतिक परम्परा

1.41k
Shares

नेपाल र भारत दुवै देशका बासिन्दा तथा राजनीतिज्ञहरूले समय–समयमा भन्दै आएका छन् कि नेपाल–भारत सम्बन्ध विशिष्ट प्रकारको छ । नेपाल–भारत सम्बन्धलाई विशिष्ट बनाउने विभिन्न आयामहरूमध्ये सैन्य कूटनीतिक पनि एक हो । शायद विश्वमा नेपाल र भारत मात्र यस्ता दुई देश हुन्, जहाँ एक देशको सेनाप्रमुखलाई अर्को देशको राष्ट्रपतिले औपचारिक समारोहबीच आफ्नो देशको सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्छन् । यसै सिलसिलामा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने भ्रमणमा आउनुभएका भारतीय सेनाका नवनियुक्त ३१औं स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले विशेष समारोहबीच मिति २०८३÷०५÷०१ गते नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

नेपाल र भारतबीच एक–अर्काका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गर्ने परम्पराले सात दशकभन्दा लामो इतिहास बोकेको छ । यही परम्परालाई निरन्तरता दिँदै भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरिएको छ । नेपाल–भारतबीच विभिन्न आरोह–अवरोहका बीच यो विशिष्ट परम्परा निरन्तर चलिरहेको छ र आगामी दिनमा पनि निरन्तर चलिरहनेछ । नेपाल र भारतबीच एक–अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्पराको सात दशकभन्दा लामो इतिहासमा एकपटक क्रमभङ्गता भएको थियो ।
यो परम्पराले नेपाल र भारतबीचको साढे सात दशक पुरानो एउटा अनौठो कूटनीतिक र सैन्य प्रचलनको रूपमा उजागर गर्दछ । किनभने नेपाल र भारत दुवै देशको सेनाको परमाधिपतिको रूपमा रहेका राष्ट्रपतिहरूले एक–अर्काका सेनापति÷सेनाध्यक्षलाई औपचारिक समारोहबीच दुई सार्वभौम देशको तरबारको पारस्परिक आदानप्रदान गरी आ–आफ्नो देशको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने चलन रहेको छ । यस्तो सम्मान न त सैन्य एकीकरण हो, न रणनीतिक निर्णय प्रक्रिया हो, न सैन्य कमान्ड संरचना हो, न सैन्य सञ्चालन नै हो । यो एउटा सैनिक कूटनीतिक तथा राज्य–राज्यबीचको सैन्य सम्मान विकास गर्ने एउटा सेतु मात्र हो ।

यो परम्परा उत्तर–औपनिवेशिक सैन्य साझेदारीको निरन्तरता हो । यस्तो प्रचलन विशेष गरी राजतन्त्र भएका देशहरूमा वा नेपाल र भारतजस्ता देशहरूमा देखिन्छ, जहाँ राष्ट्रपति आ–आफ्नो देशको सेनाको परमाधिपतिको (सैन्यको सर्वोच्च कमान्डर वा सैन्य परम्परागत भूमिका) रूपमा रहेका छन् । यस्ता देशका राजपरिवारका सदस्य वा राष्ट्रप्रमुखले विदेश भ्रमण गर्दा आयोजक देशले सम्मानस्वरूप प्रतीकका रूपमा पाहुना राजपरिवारका सदस्य वा राष्ट्रप्रमुखलाई सम्मानार्थ यस्तो प्रकारको सैनिक दर्जा प्रदान गर्ने गरेको छ । तर, सामान्यतया भ्रमणका बेला पाहुना देशका राजपरिवारका सदस्य वा राष्ट्रप्रमुखले आयोजक देशका राष्ट्रपति वा राष्ट्रप्रमुखलाई यस्तो दर्जा प्रदान गर्ने चलन भने छैन । यदि प्रदान गर्नुपरेमा, जसले आफूलाई यस्तो प्रकारको सैनिक दर्जा प्रदान गरेको छ, त्यस देशका राजपरिवारका सदस्य वा राष्ट्रप्रमुखलाई आफ्नो देशको भ्रमणमा आएको बेला सम्मान गर्ने चलन रहेको छ ।

भारत स्वतन्त्र भएपछि बेलायती उपनिवेशी भारतीय सेनासँगै गोर्खा राइफलहरूको पनि व्यवस्थापन भयो । दशवटा गोर्खा राइफलमध्ये चारवटा गोर्खा राइफल (दोस्रो, छैटौं, सातौं र दशौं गोर्खा राइफल) बेलायतले आफ्नो साथ लग्यो भने ६ वटा गोर्खा राइफल (पहिलो, तेस्रो, चौथो, पाँचौं, आठौं र नवौं गोर्खा राइफल) भारतले आफ्नो साथ राख्यो । सन् १९४७ नोभेम्बर ९ मा भएको नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय गोर्खा भर्ती सन्धिपछि भारतले एउटा गोर्खा राइफल थपी आफ्नो साथ राख्यो । त्यसै गरी, ठूलो समूहको गोर्खा सैनिक र तिनीहरूको आवश्यकता पर्ने नेपाली नागरिक (गोर्खा) हरूको व्यापक भर्तीका कारण यस्तो प्रकारको सम्मानजनक दर्जाको आदानप्रदान र दुई देशका सेनाहरूबीचको गहिरो विश्वासको प्रतीकका रूपमा यस्तो पारस्परिक सम्मान आदानप्रदान गर्ने व्यवस्था भएको बुझ्न सकिन्छ ।

राणा शासनको बेला बेलायती उपनिवेशी भारत र नेपालका शासकहरूबीच यस्तो प्रचलन रहेको पाइन्छ । बेलायती उपनिवेशी भारतमा गोरखा भर्तीका लागि खुलारूपमा सहयोग गर्ने नेपालका शासकहरू राणा प्रधानमन्त्री र राजा दुवैलाई बेलायती उपनिवेशी भारतले भारतीय सेनाको मानार्थ जनरल दर्जा प्रदान गथ्र्यो । राजा पृथ्वी वीरविक्रम शाह र राजा त्रिभुवन वीर विक्रम शाहलाई बेलायती उपनिवेशी भारतको सेनाको मानार्थ जनरल दर्जा र बेलायती उपनिवेशी भारतको सेनाको रेजिमेन्टको मानार्थ कर्नेल दर्जा प्रदान गरिएको थियो ।

गोरखा भर्तीका लागि अत्यन्त अनुदार रहेका जङ्गबहादुर राणालाई गोरखा भर्तीका लागि हैन, भारतमा भएको सैनिक विद्रोह दबाउन नेपाल सरकारले गरेको सहयोगको कदरस्वरूप बेलायती उपनिवेशी भारतले भारतीय सेनाको मानार्थ जनरल दर्जा र बेलायती उपनिवेशी भारतको सेनाको एक रेजिमेन्टको मानार्थ कर्नेल दर्जा प्रदान गरेको थियो । बेलायती उपनिवेशी भारतमा गोरखा भर्तीका लागि खुलारूपमा सहयोग गर्ने वीरशमशेरदेखि मोहनशमशेरसम्मका राणा प्रधानमन्त्रीहरूले बेलायती उपनिवेशी भारतबाट भारतीय सेनाको मानार्थ जनरल दर्जा प्राप्त गरेका थिए । त्यस्तै, नेपाल सरकारले पनि नेपाललाई मानार्थ दर्जा प्रदान गर्ने बेलायती उपनिवेशी भारतको भारतीय सेनाका प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ जनरल दर्जा प्रदान गरेको इतिहास छ ।

भारत स्वतन्त्र भएपछि बेलायत फर्केको बेलायती सरकारले बेलायती सेनामा गोरखा भर्तीका कारण नेपालका राजाहरू राजा त्रिभुवन, राजा महेन्द्र र राजा वीरेन्द्रलाई बेलायती सेनाको मानार्थ जनरल दर्जा र बेलायती सेनाको गोर्खा रेजिमेन्टको मानार्थ कर्नेल दर्जा प्रदान गरेको थियो । त्यस्तै, भारत स्वतन्त्र भएपछि, भारत सरकारले नेपालका राजाहरू– राजा त्रिभुवन, राजा महेन्द्र र राजा वीरेन्द्रलाई भारतीय सेनाको मानार्थ जनरल दर्जा र भारतीय सेनाको गोर्खा रेजिमेन्टको मानार्थ कर्नेल दर्जा प्रदान गरेको थियो । राजा त्रिभुवनले बेलायती उपनिवेशी भारतबाट, बेलायती सरकारबाट र भारतीय सरकारबाट यसरी तीन ठाउँबाट मानार्थ जनरल दर्जा र रेजिमेन्टको मानार्थ कर्नेल दर्जा प्राप्त गरेका थिए ।