तेहरान।
इरानले अमेरिकाले केही क्षेत्रीय देशको समर्थनमा आफ्नो देशविरुद्ध पुनः सैन्य कारबाही अघि बढाउने तयारी गरिरहेको दाबी गरेको छ। इरानी सेनाको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले यस्तो जानकारी प्राप्त भएको भन्दै सम्बन्धित देशहरूलाई चेतावनीसमेत दिएको छ।
बीबीसी फारसी सेवाका अनुसार खातम अल–अन्बिया मुख्यालयले जारी गरेको विज्ञप्तिमा अमेरिकाले युरोपेली मुलुकमा भएको एक संयुक्त बैठकमार्फत केही क्षेत्रीय देशको सहमतिमा इरानविरुद्ध कारबाही पुनः सुरु गर्ने निर्णय गरेको दाबी गरिएको छ।
यद्यपि, उक्त बैठकमा कुन–कुन देश सहभागी थिए वा बैठक आयोजना गर्ने युरोपेली देश कुन हो भन्नेबारे इरानी पक्षले थप विवरण सार्वजनिक गरेको छैन।
इरानी सैन्य मुख्यालयले अमेरिकी सम्भावित कारबाहीमा सहयोग गर्ने क्षेत्रीय मुलुकहरूलाई पनि चेतावनी दिएको छ। विज्ञप्तिमा त्यस्ता देशलाई अमेरिकी आक्रमणमा सहयोगीका रूपमा लिइने र उनीहरूले इरानी सशस्त्र सेनाबाट कुनै संयमको अपेक्षा गर्न नसक्ने उल्लेख गरिएको छ।
त्यस्तै, इरानले अमेरिकालाई पनि कडा चेतावनी दिँदै आक्रमण भएमा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्ने जनाएको छ। इरानी पक्षले आफ्ना सैन्य कारबाहीमा कुनै प्रतिबन्ध वा सीमाबारे विचार नगर्ने चेतावनी दिएको छ।
यसैबीच, अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प सप्ताहन्त बिताउन पुगेको क्याम्प डेभिडबाट निर्धारित समयभन्दा अगावै ह्वाइट हाउस फर्किएका छन्। ह्वाइट हाउसले भने उनको कार्यक्रम छोट्याउनुको कारण सार्वजनिक गरेको छैन।
समाचार एजेन्सीहरूका अनुसार ट्रम्पको आकस्मिक फिर्ती त्यस्तो समयमा भएको हो, जतिबेला उनको प्रशासनले इरानसँग जारी द्वन्द्वमा अमेरिकाले चाल्नुपर्ने आगामी कदमबारे छलफल गरिरहेको छ।











प्रतिक्रिया