सरल शब्दमा गहिरो दर्शन छर्ने जनकवि दुर्गालाल श्रेष्ठको अवसान

0
Shares

काठमाडौँ।

नेपाली तथा नेपालभाषाका अग्रणी कवि, गीतकार तथा साहित्यकार जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा अवसान भएको छ । श्रेष्ठले आइतवार राति बूढानीलकण्ठस्थित आफ्नै निवासमा अन्तिम सास लिनुभएको हो । पछिल्लो पाँच वर्षदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका श्रेष्ठ करिब छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय हुनुहुन्थ्यो ।

कविता, गीत, गीति नाटक तथा बालसाहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका श्रेष्ठले नेपालभाषाका साथै नेपाली भाषामा समेत कलम चलाउनुभएको थियो । सरल शब्द, सहज अभिव्यक्ति र गहिरो जीवनदर्शन उहाँका सिर्जनाका प्रमुख विशेषता थिए । उहाँका रचनामा प्रेम, करुणा, सहअस्तित्व, शान्ति, आशा र सकारात्मक सोचसँगै सामाजिक असमानता, अन्याय, गरिबी तथा मानवीय पीडाप्रतिको संवेदना सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ ।

नेपालभाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई जनकविको उपाधिबाट सम्मान गरेको थियो । नेपालभाषामा उहाँका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् । सन् १९३५ मा काठमाडौँको न्हैकन्तलामा जन्मिएका श्रेष्ठले नेपालभाषाबाट आफ्नो साहित्यिक यात्रा सुरु गर्नुभएको थियो । उहाँको पहिलो रचना ‘सान्त्वना’ कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो ।

नेपालभाषा आन्दोलनदेखि सामाजिक जागरणसम्म श्रेष्ठका सिर्जनाले महत्वपूर्ण भूमिका खेले । ‘झी मसिनी’ अर्थात् ‘हामी अझै मरेका छैनौँ’ उहाँको चर्चित सिर्जना हो । नेपालभाषा आन्दोलनसँग जोडिएको उक्त गीतले भाषिक अधिकार र सांस्कृतिक पहिचानको आवाजलाई सशक्त बनाएको थियो । पञ्चायतविरुद्धको आन्दोलनमा समेत उहाँ सिर्जनाका माध्यमबाट जोडिनुभएको थियो ।

श्रेष्ठको अर्को कालजयी सिर्जना ‘फूलको आँखामा फूलै संसार’ हो । न्ह्यू वज्राचार्यको संगीत र आनी छोइङ डोल्माको स्वरमा लोकप्रिय बनेको उक्त गीत मोमेन्ट्स अफ ब्लिस एल्बममा समावेश छ । सरल शब्द, मिठास, आध्यात्मिक चेतना र गहिरो जीवनदर्शनका कारण गीत नेपाली संगीतको सीमाभन्दा बाहिरसम्म लोकप्रिय बन्यो ।

साहित्यलाई संगीत र जनजीवनसँग जोड्ने श्रेष्ठले लोकप्रिय टेलिसिरियल तथा सांगीतिक सिर्जनामा पनि योगदान दिनुभएको थियो । चर्चित हास्य टेलिसिरियल १५ गतेका लागि उहाँले ‘सय थरी बाजा एउटै चाल’ गीत लेख्नुभएको थियो । त्यस्तै टेलिसिरियल लक्ष्मीका लागि ‘प्यास, अहो पैसाको प्यास’ गीतसमेत उहाँले लेख्नुभएको थियो ।

साहित्य सिर्जनासँगै श्रेष्ठ लामो समय शिक्षण पेसामा समेत सक्रिय रहनुभयो । उहाँले क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा लामो समय अध्यापन गर्नुभएको थियो । २०६१ सालमा उहाँ तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद हुनुभएको थियो । नेपाली वाङ्मयमा पु¥याएको योगदानका लागि मदन पुरस्कार गुठीबाट जगदम्बा–श्री सम्मानसमेत प्राप्त गरेका श्रेष्ठ विभिन्न साहित्यिक तथा सांस्कृतिक सम्मानबाट सम्मानित हुनुभएको थियो । दुर्गालाल साहित्य प्रतिष्ठानले जनकवि श्रेष्ठको योगदानलाई आगामी पुस्तासम्म अभिलेखका रूपमा सुरक्षित गर्ने उद्देश्यले जनसम्मान तथा राष्ट्रिय अभिनन्दन गर्ने तयारी गरिरहेको थियो ।

श्रेष्ठको जीवन, व्यक्तित्व र साहित्यिक यात्रामाथि आर. मानन्धरद्वारा लिखित ‘कवि–कविताको छवि ः दुर्गालाल श्रेष्ठ’ नामक जीवनी प्रकाशित छ । उहाँको जीवन र सिर्जनालाई बुझ्न उक्त कृतिलाई महत्वपूर्ण सामग्रीका रूपमा लिइन्छ ।

साहित्यकार तथा संस्कृतिकर्मीका लागि दुर्गालाल एउटा व्यक्तिको नाम मात्र नभई एउटा साहित्यिक युगको प्रतिनिधि नाम बनेका छन् । उहाँका कविता र गीतले पुस्तौँदेखि पाठक तथा श्रोतालाई प्रभावित गर्दै आएका छन् । साहित्यकारहरूले उहाँलाई नेपालभाषाका मात्र नभई नेपालको सांस्कृतिक चेतना, भाषिक अधिकार र सामाजिक जागरणमा महत्वपूर्ण योगदान पु¥याउने स्रष्टाका रूपमा स्मरण गरेका छन् ।

श्रेष्ठको निधनले नेपाली तथा नेपालभाषा साहित्य, संगीत र सांस्कृतिक क्षेत्रमा ठूलो रिक्तता सिर्जना भएको छ । उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै साहित्यकार, भाषासेवी तथा संस्कृतिकर्मीहरूले जनकवि श्रेष्ठलाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ गर्नुपर्ने माग गरेका छन् ।

उहाँको निधनमा विभिन्न राजनीतिज्ञहरुले समेत श्रद्धाञ्जली दिएका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले श्रेष्ठको निधनले नेपालभाषा, नेपाली साहित्य र सांस्कृतिक क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठ नेपाली साहित्यका प्रखर सर्जक रहेको बताउँदै उहाँको निधनको खबरले आफू मर्माहत भएको बताउँदै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

श्रेष्ठको पार्थिव शरीर सोमवार श्रद्धाञ्जलीका लागि नेपालभाषा मंकाः खलःमा राखिएको थियो । उहाँको आज शोभाभगवतीमा परम्पराअनुसार अन्तिम संस्कार गरिनेछ । श्रेष्ठका श्रीमती, एक छोरी र दुई छोरा छन् ।