एसीसी प्रिमियर कप फाइनल आज, युएईसँग भिड्दै नेपाल


काठमाडौँ।

तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच प्रतिस्पर्धा हुँदैछ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुने फाइनल खेल बिहान ७:१५ बजे सुरु हुनेछ।

दुवै टोली दोस्रोपटक एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रँदैछन्। सन् २०२३ मा काठमाडौँमा सम्पन्न पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो। यस्तै, सन् २०२४ मा भएको दोस्रो संस्करणमा युएईले आयोजक ओमानलाई पराजित गर्दै च्याम्पियन बनेको थियो।

यसपटक फाइनलको महत्त्व अझ बढेको छ। प्रतियोगिताको विजेताले आगामी एसिया कपमा स्थान बनाउने भएकाले नेपाल र युएई दुवैका लागि आजको खेल प्रतिष्ठासँगै अवसरको हिसाबले पनि महत्वपूर्ण छ।

प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमध्ये चारमा जित निकालेको छ भने एक खेलमा पराजित भएको छ। यता, युएई भने जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलसम्म पुगेको छ।

ओडीआई क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ। नेपालले ११ खेलमा जित हात पारेको छ भने युएईले ८ खेलमा सफलता हासिल गरेको छ। पछिल्ला पाँच भेटमध्ये नेपालले तीन खेल जितेको छ।

गत मे महिनामा आईसीसी विश्वकप लिग–२ अन्तर्गत भएका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो।