काठमाडौँ।
भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
संस्थाले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ५ लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो। उक्त रकम भदौ २६ गते शुक्रबार कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार सहयोग रकममध्ये कर्मचारीहरूको तर्फबाट ३ लाख ५ हजार ३७५ र संस्थाको सामाजिक उत्तरदायित्व कोष तथा चन्दा शीर्षकबाट १ लाख ९४ हजार ९६३ योगदान गरिएको छ।
भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै संस्थाले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को समयमा उद्धार, राहत तथा पुनःस्थापनाका काममा खटिएका स्थानीय प्रशासन, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा स्वयंसेवकप्रति पनि संस्थाले आभार व्यक्त गरेको छ।
समुदायको सुख–दुःखमा साथ दिँदै आएको संस्थाले बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकको दैनिक जीवनयापन र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ।
संस्थाका कामु कार्यकारी प्रमुख हिरा बहादुर आलेले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको जीवन सामान्य बनाउन सहयोग गर्नु संस्थाको सामाजिक दायित्व भएको बताए। आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यका लागि संस्था प्रतिबद्ध रहने उनको भनाइ छ।












प्रतिक्रिया