नयाँदिल्ली।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भारत–रुस विशेष रणनीतिक साझेदारीका विभिन्न विषयमा छलफल भएको छ।
दिल्लीमा भएको भेटवार्ताका क्रममा दुई नेताले द्विपक्षीय व्यापार तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका हुन्। प्रधानमन्त्री मोदीले २०३० का लागि तय गरिएको आर्थिक सहयोग कार्यक्रम कार्यान्वयनसहित पूर्वाधार, ऊर्जा, प्रविधि, रक्षा र संस्कृतिलगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा कुराकानी भएको जानकारी दिएका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पुटिनसँग भेट गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै भारत–रुस सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताएका हुन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भेटका क्रममा दुई नेताले व्यापार, ऊर्जा, रक्षा, अन्तरिक्ष तथा जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यको प्रगतिबारे समीक्षा गरेका थिए। यी क्षेत्रहरू भारत र रुसबीचको दीर्घकालीन साझेदारीका महत्वपूर्ण आधार रहेको उनले बताएका छन्।
भेटवार्तामा क्षेत्रीय तथा विश्वव्यापी विषयमा समेत विचार आदानप्रदान भएको थियो। विशेषगरी पश्चिम एसिया र कालो सागर क्षेत्रमा जारी द्वन्द्वलगायत पारस्परिक चासोका विषयमा दुई नेताबीच छलफल भएको विदेश मन्त्रालयले जनाएको छ।
सो क्रममा प्रधानमन्त्री मोदीले द्वन्द्व समाधानका लागि संवाद र कूटनीति नै प्रभावकारी माध्यम भएको भारतको धारणा दोहोर्याएका थिए। साथै, शान्ति स्थापनाका प्रयासमा भारत आवश्यक सहयोग गर्न तयार रहेको उनले बताएका छन्।
यसअघि बिश्केकमा भेट भएको दुई साताभन्दा कम समयमै मोदी र पुटिनबीच दिल्लीमा पुनः भेटवार्ता भएको हो। भारतले ब्रिक्सको अध्यक्षताका क्रममा विश्वव्यापी हित र सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता समेत जनाएको छ।












प्रतिक्रिया