एनआईसी एशिया क्यापिटलको दशौं वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित


काठमाडौँ।

एनआईसी एशिया क्यापिटल लिमिटेडको दशौं वार्षिक साधारण सभा शुक्रबार क्यापिटलको थापाथलीस्थित रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको छ। सभाले शेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ।

सभामा सञ्चालक समितिका अध्यक्ष रुपेश लुईटेलले क्यापिटलले समीक्षा अवधिमा गरेको वित्तीय तथा व्यावसायिक प्रगतिबारे जानकारी गराएका थिए। उनका अनुसार २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको क्यापिटलले समीक्षा अवधिमा २८ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ। सो अवधिमा क्यापिटलले १० करोड ५१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ।

व्यवसाय विस्तारतर्फ पनि क्यापिटलले उल्लेख्य प्रगति गरेको जनाएको छ। २०८३ असार मसान्तसम्म ८ लाख ६३ हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको क्यापिटलले जनाएको छ।

त्यस्तै, म्युचुअल फन्ड सेवाअन्तर्गत चारवटा बन्दमुखी र दुईवटा खुलामुखी गरी कुल ६ वटा योजना सञ्चालनमार्फत ७ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिरहेको जानकारी सभामा दिइएको थियो।

लगानी व्यवस्थापन सेवाअन्तर्गत ७१० जना ग्राहकबाट ३ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको क्यापिटलले जनाएको छ। शेयर रजिष्ट्रार सेवातर्फ भने २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराउँदै आएको छ।

यसैगरी, ‘आइपिओ’ निष्काशनसम्बन्धी सेवाअन्तर्गत २५ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको जानकारी सभामा गराइएको थियो।

क्यापिटलले दशौं वार्षिक साधारण सभाबाट पारित ५० प्रतिशत नगद लाभांशसहित हालसम्म आफ्ना शेयरधनीलाई कुल ३४० प्रतिशत रिटर्न वितरण गर्न सफल भएको जनाएको छ।

क्यापिटलले आगामी दिनमा समेत वित्तीय तथा लगानीसम्बन्धी सेवाको विस्तार गर्दै शेयरधनी तथा ग्राहकलाई थप प्रभावकारी सेवा प्रदान गर्ने जनाएको छ।