एसियाली खेलकुदको विशाल मञ्चमा जब–जब नेपाली झण्डा फहराउँछ, तब–तब करातेको म्याटबाट एउटा छुट्टै ऊर्जा, आत्मसम्मान र आशाको सञ्चार हुने गर्छ । सन् १९९४ को हिरोसिमा एसियाली खेलकुददेखि सुरु भएको नेपाली करातेको ३१ वर्षे यात्रा केवल खेलकुदको इतिहास मात्र होइन । पसिना, समर्पण र सीमित स्रोतसाधनका बाबजुद विश्व मानचित्रमा नेपालको अस्तित्व दर्शाउने संघर्षको यात्रा पनि हो । सीताकुमारी राईले दिलाएको पहिलो ऐतिहासिक कांस्य पदकबाट सुरु भएको यो गौरवशाली यात्रा १९९८ मा सम्बरबहादुर गोले, २०१४ मा विमला तामाङ हुँदै २०२३ को हान्चाउ एसियाली खेलकुदमा एरिका गुरुङले जितेको ऐतिहासिक रजत पदकसम्म आइपुग्दा अझ परिपक्व र महत्वाकांक्षी बनेको छ । इतिहासको यही बलियो जगमा उभिएर अब नेपाली कराते टोली जापानको आइची नागोयामा हुने २०औँ एसियाली खेलकुदमा केवल सहभागिता वा कांश्य र रजत पदकका लागि मात्र होइन, देशको खेलकुद इतिहासमै पहिलोपटक स्वर्ण पदक चुम्दै दोहोरो पदकको इतिहास रच्ने दृढ संकल्पका साथ मैदानमा उत्रिने तयारीमा छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ‘मिसन–२०२६’ को मेरुदण्डका रूपमा हेरिएको करातेबाट यसपटक सातवटा विभिन्न स्पर्धामा आठ जना होनहार नेपाली खेलाडीहरूले देशको प्रतिनिधित्व गर्दैछन् । कुमुते (फाइट) तर्फ पुरुष वर्गमा आफ्नो तौल समूहको तिखो चुनौती प्रस्तुत गर्न ५० केजीमुनि राकेश मानन्धर, ५५ केजीमुनि मिनबहादुर तामाङ र ८४ केजीमाथि तेन्जिङ शेर्पा अहोरात्र पसिना बगाइरहेका छन् । त्यस्तै, महिलातर्फ ६८ केजीमुनि निरुपा दोङ तामाङ र देशकै ढुकढुकी बनेकी ६८ केजीमाथि एरिका गुरुङको मुक्का र किकले एसियाली म्याटमा नेपालको स्तर अझै उचाईमा पु¥याउने अपेक्षा गरिएको छ । कातातर्फ भने सानुमाया थिङले व्यक्तिगत र टिम दुवै विधामा सम्भावनाको नयाँ क्षितिज उघार्दै छिन् भने एलिशा रासकोटी मगर र मेघा लिम्बुले टिम कातामा आफ्नो कौशल देखाउनेछिन् । विशेष कुरा त के छ भने, एसियाली खेलकुदको इतिहासमै नेपालले पहिलोपटक महिला टिम कातामा सहभागिता जनाउँदै नयाँ अध्यायको श्रीगणेश गर्दैछ ।

सातदोबाटोस्थित कराते हलको म्याटमा कुमुते टोलीलाई कुशल श्रेष्ठको प्रशिक्षणले दिइरहेको रणनीतिक निखार र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको हलमा काता टोलीलाई मण्डेकाजी श्रेष्ठले दिइरहेको सुक्ष्म प्राविधिक प्रशिक्षणले खेलाडीहरूमा नयाँ आत्मविश्वास र ऊर्जा भरेको छ । विगत १८ महिनादेखि मिसन–२०२६ को कडा खाकाभित्र रहेर र पछिल्लो समय साउन १८ देखि बन्द प्रशिक्षणमा पसिना बगाइरहेका यी खेलाडीहरूको आँखामा अहिले एउटै लक्ष्य छ, राष्ट्रिय धुन बजाउँदै वैदेशिक मञ्चमा स्वर्ण पदक पहिरिनु । काताका मुख्य प्रशिक्षक मण्डेकाजी श्रेष्ठका अनुसार लामो समयको निरन्तर अभ्यास, खेलाडीहरूको उच्च मनोबल र प्राविधिक निपुणताले गर्दा यसपटक टोलीमा जितको अभूतपूर्व विश्वास पलाएको छ । दक्षिण एसियाली खेलकुद वा अन्य विश्वस्तरको प्रतियोगिता, करातेले विगतमा जोगाएर राखेको गौरवशाली विरासतलाई अझ उचाइमा पु¥याउँदै इतिहासका पानाहरूमा नयाँ अध्याय थप्न सम्पूर्ण टोली मानसिक र शारीरिक रूपमा तयार भइसकेको छ ।
विशेष गरी हान्चाउमा रजत जितेर देशलाई ऐतिहासिक खुसी दिलाएकी एरिका गुरुङबाट यसपटक सिंगो देशले स्वर्ण पदकको ठूलो आशा गरेको छ । प्रशिक्षक कुशल श्रेष्ठको बुझाइमा एरिकाको प्राविधिक परिपक्वता र विपक्षीलाई परास्त पार्ने क्षमताले उनलाई स्वर्णको प्रबल दावेदार बनाएको छ । स्वयं एरिका गुरुङले पनि यसपटक स्वर्णकै लागि सम्पूर्ण शक्ति लगाएर मेहनत गरिरहेको अभिव्यक्ति दिएकी छन् । “केही समय अघि स्वास्थ्य अवस्था दुरुस्त नभए पनि अहिले त्यसमा पूर्ण सुधार आएको छ, एसियन गेम्समा स्वर्णका लागि आफ्नो तर्फबाट बलबुताले भ्याएसम्म प्रयास गर्नेछु” उनको यो भनाइले उनीभित्रको स्वर्ण पदकको भोकलाई स्पष्ट पार्छ । हान्चाउ एसियन गेम्समा देखिएकी एरिकाभन्दा आइची नागोयामा म्याटमा उत्रिने एरिकामा अनुभव, आत्मविश्वास र परिपक्वताको हिसाबले निकै ठूलो बदलाव आइसकेको छ, जुन यसपटकको नतिजामा प्रतिविम्बित हुने पक्का छ । कुमुतेका अन्य खेलाडीहरूको धारिलो प्रदर्शन र कातातर्फ टिम इभेन्टमा देखिएको बलियो पकडका कारण यसपटक इतिहासकै सबैभन्दा उत्कृष्ट नतिजा आउनेमा कुनै शंका गर्ने ठाउँ छैन । कातातर्फ व्यक्तिगत प्रतिस्पर्धामा विश्व वरीयताका शीर्ष खेलाडीहरूको चुनौती भए तापनि टोलीले कम्तीमा कांस्य र टिम कातामा रजत वा स्वर्णकै सम्भावना देखिरहेको छ ।
टिम काताले थोरै समयमा देखाएको गजबको सामञ्जस्यता र क्षमताले नेपालको पदक सम्भावनालाई अझ मजबुत बनाएको छ । सानुमाया थिङ जस्ता अनुभवी खेलाडीहरूको आत्मविश्वासी अभिव्यक्तिले टोलीको जितप्रतिको भोकलाई स्पष्ट पार्छ । नेपाली कराते टोलीको यो यात्रालाई अझ सशक्त र अन्तर्राष्ट्रिय स्तरको बनाउन वैदेशिक प्रशिक्षणको तयारी समेत अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल कराते महासंघको समन्वयमा कुमुते टोलीलाई इजिप्ट र काता टोलीलाई जापान पठाउने वा दुवै टोलीलाई प्रतियोगिता सुरु हुनुभन्दा १५ देखि २० दिन अगावै जापानमै लगेर स्थानीय वातावरणसँग अनुकूल गराउँदै उच्चस्तरीय प्रशिक्षण दिने योजना छ । वैदेशिक प्रशिक्षणले खेलाडीहरूको प्राविधिक त्रुटि सच्याउन र विश्वस्तरीय प्रतिस्पर्धीहरूसँग भिड्न आवश्यक पर्ने मानसिक दृढता प्रदान गर्नेछ । साना ट्रेनिंग हलहरूबाट सुरु भएको नेपाली करातेको यो यात्रा आज एसियाली खेलकुदको सबैभन्दा ठूलो मञ्चमा स्वर्णको दावेदार बनेर उभिनु आफैँमा एउटा सनसनीपूर्ण र प्रेरणादायी क्रान्ति हो । समर्पण, त्याग र अदम्य साहसको जगमा उभिएको यो टोलीले आइची नागोयाको म्याटमा केवल पदक मात्र जित्ने छैन, तीन करोड नेपालीको आशा र स्वाभिमानलाई अझ उँचो बनाउँदै इतिहासकै सबैभन्दा स्वर्णिम पाना लेख्ने अपेक्षा छ ।











प्रतिक्रिया