आरोही किलि पेम्बाको दाह- संस्कार सम्पन्न 

752
Shares

दोलखा। 

आफ्नै विश्व किर्तिमान तोड्ने सपना सहित पाकिस्तानको ब्रोड पिक हिमाल (८,०५१ मिटर) आरोहणको क्रममा साउन १४ गते बिहीबार हिमपहिरोमा परी मृत्यु भएका दोलखा गौरीशङ्कर– ९, बेदिङका ४५ वर्षीय आरोही किलि पेम्बा शेर्पा (किलु) को दाह– संस्कार बौद्ध परम्परा अनुसार शुक्रवार काठमाडौँको टेकुमा गरिएको छ ।

मंगलवार साँझ पाकिस्तानबाट नेपाल ल्याईएको आरोही किलि पेम्बाको पार्थिकव शरीरलाई काठमाडौँ गौरीगाउँ स्थित उनको नीजि निवासमा राखिएको थियो । बौद्ध परम्परा अनुसार साईत निस्किएको दिन शुक्रवार टेकुमा दाह– संस्कार गरिएको किलि पेम्बाका काका दावाछिरी शेर्पाले बताए ।

किर्तिमानी आरोही किलि पेम्बाको दाह– संस्कार कार्यक्रममा पूर्व मन्त्री कुलमान घिसिङ, आनन्द प्रसाद पोखरेल, दोलखा गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, वडा नम्बर– ९ का वडा अध्यक्ष ङिमा गेली शेर्पा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सरकारी प्रतिनिधिको भने सहभागिता नरहेको काका दावाछिरीले बताए ।

बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खडक राज पौडेल (गनेस) लगायत विशिष्ट व्यक्तिहरु विश्वकिर्तिमानी आरोही स्वर्गिय किलि पेम्बाको घर पुगेर मृतक प्रति श्रद्धा– सुमन अर्पण गरेका छन् ।

अरोही किलि पेम्बाले सन् २०२१ जनवरी १६ मा १० सदसिय आरोहण टोलीमा सहभागि भएर विश्वको दोस्रो अग्लो हिमाल के– टु को पहिलो शीतकालीन सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका थिए । त्यसैगरी उनले गत असोजमा आठ हजार माथिका १४ वटा हिमालको सफल आरोहण गरेर अर्को विश्व किर्तिमान कायम गरेका थिए । 

निर्मल पुर्जाको टिममा रहेर दोस्रो पटक आठ हजार माथिका १४ वटा हिमाल आरोहण गरेर आफ्नै विश्व किर्तिमान तोड्ने चाहना सहित १४ जुन २०२६ मा पाकिस्तान गएको उनको टोली साउन १४ गते बिहीबार ब्रोड पिक आरोहणको क्रममा ६,६५९ मीटरको उँचाईमा पुग्दा हिमपहिरोमा परेका हुन् ।

मृतक आरोही किलि पेम्बा शेर्पा (किलु) को श्रीमती टसी लुमु शेर्पा, एक छोरा र एक छोरी रहेका छन् । परिवारमा कमाई गर्ने मूलीको मृत्यु भएको र आर्थिक अवस्था कम्जोर रहेकोले विश्व किर्तिमानी आरोही किलि पेम्बाको छोरा– छोरीको पढाईमा राज्यले सहयोग गर्नुपर्ने काका दावाछिरी बताउछन् । आरोही किलि पेम्बाको छोरीले स्नातक तहसम्मको पढाई सकेको र छोराले कक्षा– १२ सम्मको पढाई सकेको दावाछिरीले बताए ।

दोलखाली छोरा भएर हिमाल आरोहणको क्षेत्रमा  दुई पटक विश्व किर्तिमान कायम गरी सकेकोले सबै राजनीतिक दल र स्थानीय सरकारको पहलमा किलि पेम्बाको सालिक दोलखा सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा राखिनु पर्ने काका दावाछिरीको माग छ ।