४ करोड लगानीमा बन्दैछ भिडियोटेप


एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा हरर फिल्म भिडियोटेप निर्माण हुने भएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो ।

ओविद उद्दीनको निर्देशनमा बन्ने फिल्ममा नव–नायक कुन्दनमान शाक्यका साथमा उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहनेछन्। फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायतका कलाकारले पनि अभिनय गर्नेछन्।
भदौ ५ गतेदेखि उपल्लो मुस्ताङबाट छाया“कन सुरु हुने फिल्मको सुटिङ सेड्युल ३० दिनको रहेको छ। हरर जनरामा निर्माण हुने फिल्म करिब ४ करोड रुपैया“को बजेटमा निर्माण हुने कार्यक्रममा जानकारी गराइएको छ।

डेब्यू फिल्ममै हरर जनरा रोजेका निर्देशक ओविदले आफू सानैदेखि हरर फिल्म हेरेर हुर्किएको बताए। उनका अनुसार भिडियोटेप काल्पनिक कथामा आधारित फिल्म हो।

अभिनेत्री उपासना सिंह ठकुरीले एक वर्षअघिदेखि नै यसबारे कुराकानी भइरहेको बताइन्। नव–नायक कुन्दनले पनि फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए। फिल्ममा वशिष्ट प्रधानको डीओपी, ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजर र महेश बरालको मुख्य सहायक निर्देशन रहनेछ। कार्यक्रममा एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दीनले नया“ टिमलाई साथ र सहयोग पाउने विश्वास व्यक्त गरे।