दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभएर अर्कै महिलाको नाम भेटिएपछि सुरु हुने पारिवारिक खोज र त्यसले निम्त्याउने भावनात्मक उतारचढावलाई केन्द्रमा राख्दै नेपाली फिल्म पेन्सनपट्टाको टिजर सार्वजनिक गरिएको छ।

माओत्से गुरुङको कथा तथा निर्देशनमा बनेको फिल्मको टिजरले लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय भावनाको कथा प्रस्तुत गरेको छ। टिजरमा आप्mना दिवंगत बाबुको पेन्सनपट्टा हेर्दा आमाको सट्टा कहिल्यै नसुनेको र नचिनेको बाबुको पहिलो पत्नीको नाम भेटिएपछि पात्रले भोग्नुपरेको अन्योल र त्यसको खोजीलाई कथाको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ। बाबुको जीवनसँग जोडिएको एउटा अपरिचित नामले परिवारभित्रै जन्माउने प्रश्न र त्यसको उत्तर खोज्ने क्रममा खुल्दै जाने सम्बन्धको पाटोलाई टिजरले संकेत गरेको छ। यससँगै फिल्मले लाहुरे जीवनबाट अवकाश लिएपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेका पात्रहरूको भावना, सम्बन्ध र विगतलाई कथाको केन्द्रमा राखेको छ।
दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, स्व. सुनील थापा, लुनिभा तुलाधर, सुरज तमु, राज कौछा मगर, यासिली योख्खा, डीबी गुरुङ, प्रतीक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुषा राई तथा कुबिना गुरुङको अभिनय रहेको फिल्म माओत्से गुरुङ स्वयंको कथा तथा निर्देशनमा बनेको माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको हो। फिल्मले ग्रामीण नेपाली समाज, लाहुरे संस्कार र पारिवारिक तथा मानवीय सम्बन्धलाई पर्दामा उतार्ने प्रयास गरेको निर्माणपक्षले जनाएको छ।
हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गते नेपालभर प्रदर्शनमा आउने फिल्मको विदेश प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको छ। प्रचार सामग्री सार्वजनिक हुनुअघि नै बेलायत र हङकङको प्रदर्शन अधिकार बिक्री भएको निर्माणपक्षले जनाएको थियो।
टिजर सार्वजनिक भएस“गै बाबुको पेन्सनपट्टामा भेटिएको अपरिचित महिलाको नामको रहस्यले दर्शकमाझ फिल्मप्रतिको चासो थप बढाउने देखिएको छ।











प्रतिक्रिया